१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

धान रोपाइँ २७ प्रतिशत

समयमै बर्खा सुरु भए पनि बेर्ना तयार नहुँदा यो वर्ष धान रोपाइँ कम भएको छ। असार १५ सम्म खेतीयोग्य जमिनको २७ प्रतिशत मात्र रोपाइँ भएको हो।  

पोहोरको तुलनामा सोही अवधिमा करिब साढे आठ प्रतिशत कम धान रोपाइँ भएको कृषि विभागले जनाएको छ। गत वर्षको असार १५ सम्म ३५.४८ प्रतिशत रोपाइँ भएको थियो ।  

धानको बीउ राख्ने बेला वर्षात कम भएकाले बीउ राख्न ढिला भएकाले रोपाइँ कम भएको कृषि विभागका वरिष्ठ कृषि अर्थविज्ञ महादेवप्रसाद पौडेलले बताए। ‘पोहोरभन्दा आठ प्रतिशत कम भए पनि चिन्ता गर्नुपर्ने अवस्था छैन,’ पौडेलले भने, ‘धान रोप्ने  समय अझै धेरै बाँकी रहेकाले लक्ष्यअनुसारै रोपाइँ हुन्छ।’

पोहोर यो अवधिमा चार लाख ८६ हजार ६ सय ६२ हेक्टर क्षेत्रफलमा धान रोपाइँ भएकोमा यो वर्ष तीन लाख ७१ हजार नौ सय ५८ हेकटरमा रोपाइँ भएको छ। कृषि विभागका अनुसार उच्च पहाडमा ३३.४८ प्रतिशत, मध्य पहाडमा ३०.९५ प्रतिशत, तराईमा २५.४५ प्रतिशत रोपाइँ भएको छ। धानको भण्डारण मानिने तराईमा पोहोरभन्दा करिब नौ प्रतिशत कम रोपाइँ भएको छ।

सबैभन्दा धेरै कर्णाली प्रदेशमा ६२.१४ प्रतिशत रोपाइँ भएको छ भने सबैभन्दा कम प्रदेश नम्बर २ मा १०.५५ प्रतिशत रोपाइँ भएको छ । मुलुकमा खेतीयोग्य जमिन ३० लाख ९१ हजार हेक्टर छ। १४ लाख ५८ हजार हेक्टरमा धान खेती भएको छ।  

मंगलबार ‘धान उत्पादनमा वृद्धि खाद्यसुरक्षा, आत्मनिर्भरता र समृद्धि’ नाराका साथ धान दिवस मनाएको छ। ‘अठारौं राष्ट्रिय धान दिवस एवं रोपाइँ महोत्सव’ कृषि अनुसन्धान परिषद्को प्रांगणमा मनाइएको हो। कृषिमन्त्री बसन्तकुमार नेम्वाङले धान रोप्ने मेसिनबाट धान रोपेर कार्यक्रमको शुभारम्भ गरेका थिए। कृषिमन्त्री नेम्वाङले धान उत्पादन वृद्धि गर्नुपर्ने बताए।

यो वर्ष समयमा वर्षात, मलको अभाव नभएकाले धान उत्पादन वृद्धि हुने अपेक्षा गरिएको सरकारी अधिकारीले बताएका छन्। ‘धान रोप्न किसानले मागे जति रासायनिक मल पाएका छन्,’ कृषि तथा पशुपक्षी विकास मन्त्रालयका सचिव योगेन्द्रकुमार कार्कीले भने, ‘उत्पादन वृद्धि हुने अपेक्षा गरिएको छ।’ चालु आर्थिक वर्ष ०७७/७८ मा ५६ लाख २१ हजार मेट्रिक टन धान उत्पादन भएको थियो। आगामी वर्ष ६० लाख  मेट्रिक टन धान उत्पादन हुने सचिव कार्कीले दाबी गरे।  

चामल आयात प्रतिस्थापन गर्न मन्त्रालयले योजना बनाइरहेको बताए। चालु आर्थिक वर्षको ११ महिनाको अवधिमा ४८ अर्ब १६ करोड रुपैयाँको चामल आयात भएको छ। चीन, भारत, फिलिपिन्स, जापान, थाइल्यान्ड, अमेरिका लगायत दुई दर्जनभन्दा बढी मुलुकबाट चामल आयात भएको हो। पोहोरभन्दा यो वर्ष करिब १७ रुपैयाँ बढीको चामल आयात भएको छ। गत वर्ष ११ महिनाको अवधिमा ३१ अर्ब रुपैयाँको चामल आयात भएको थियो।

चामल लगायत कृषिजन्य वस्तुको आयात बढेकाले उत्पादन वृद्धि गर्नुपर्ने धानविज्ञ भोलामानसिंह बस्नेत बताउँछन्। उत्पादन वृद्धि गर्न उन्नत जातको धानको बीउ, वैज्ञानिक ढंगले खेत रोपाइँ, प्रयाप्त सिँचाइ, मल, औजारको व्यवस्था गर्नुपर्ने विज्ञको सुझाव छ। सरकारले उत्पादन वृद्धि गर्न आधुनिकीकरण, यान्त्रिकीकरण, व्यावसायिकीकरणमा ध्यान दिनुपर्ने किसानको माग छ।  

गुणस्तरीय बीउ प्रतिस्थापन दर न्यून, माटोमा प्रांगारिक पदार्थ न्यून भई उर्बराशक्ति कमजोर हुनु र सन्तुलित मलखादको अभावले उत्पादकत्व वृद्धि हुन सकेको छैन। अहिले पनि किसानले ४७ वर्ष पुरानो धानको  बीउ प्रयोग गरेका छन्। उन्नत जातको धानको बीउ प्रयोगमा ल्याएर १५/२० प्रतिशत उत्पादन वृद्धि हुन्छ। उत्पादन बढाउन सरकारले धान उत्पादन बढाउन केही वर्षदेखि मसिना तथा बासनादार धान उत्पादन प्रवद्र्धन कार्यक्रम, बृहत्तर धान उत्पादन कार्यक्रम सञ्चालन गर्दै आएको छ। प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामार्फत विभिन्न जिल्लामा धानका पकेट, जोन, सुपरजोन बनाइएको छ।

चामल आयातको उच्च तथ्यांक रहे पनि करिब १० लाख मेट्रिक टन धान उत्पादन वृद्धि गर्न सके चामलको आवश्यकता परिपूर्ति हुने कृषि मन्त्रालयको दाबी छ। आर्थिक वर्ष ०७६/७७ को तथ्यांक अनुसार ५६ लाख मेट्रिक टन धान उत्पादन भएको थियो। मिठो मसिनो चामल विदेशबाट आयात भएकाले पनि यहाँ उत्पादन भएको धान अन्य प्रयोजनमा प्रयोग भएको कृषि सचिव कार्कीको तर्क छ। नेपालीलाई एक करोड १२ लाख मेट्रिक टन खाद्यान्न चाहिन्छ। मुलुकमा खेती गरिने कुल क्षेत्रफलको ४७ प्रतिशत जमिनमा धान खेती गरिन्छ।

प्रकाशित: १६ असार २०७८ ०१:३२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App