२५ वैशाख २०८१ मंगलबार
image/svg+xml
अर्थ

माथिल्लो तामाकोसीको ७६ मेगावाट साताभित्रै राष्ट्रिय प्रसारणमा

४५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको पहिलो युनिटबाट उत्पादन हुने ७६ मेगावाट बिजुली एक साताभित्रै राष्ट्रिय प्रसारण लाइनमा जडान गरिने भएको छ। बहुप्रतीक्षित माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको सुरुङ तथा अन्य परीक्षण सफल भएसँगै आयोजनाबाट उत्पादित बिजुली राष्ट्रिय प्रसारण लाइनमा जडान गर्न लागिएको हो।  

अपर तामाकोसी हाइड्रोपावर कम्पनीका प्रवक्ता गणेशप्रसाद न्यौपानेले आयोजनास्थलदेखि तामाकोसीको वारिपारि करिब चार सय मिटर तार जडान गरेसँगै आयोजनाको उत्पादन भएको बिजुली राष्ट्रिय प्रसारण लाइनमा सिंक्रोनाइज गर्न सकिने बताए। ‘अहिले तामाकोसी नदीको वारपार रहेको टावरमा बिजुलीको तार तान्ने काम भइरहेको छ,’ उनले भने, ‘एउटा टावरबाट अर्काे टावरसम्म ३८ वटा तार तान्नुपर्ने हुन्छ। सो कार्यको लागि कम्तीमा ३–४ दिनको समय लाग्ने अनुमान गरेका छौं। तार तान्ने काम भएसँगै आयोजनाको पहिलो युनिटबाट उत्पादन भएको बिजुली राष्ट्रिय प्रसारण लाइनमा जडान गर्न सकिनेछ।’  

आयोजनाको पहिलो युनिटको मेकानिकल र इलेक्ट्रिकल परीक्षण सफल भइसकेको छ। दोस्रो युनिटको मेकानिकल परीक्षण सफल भएको छ। इलेक्ट्रिकल परीक्षण बाँकी छ। कम्पनीका प्रमुख कार्यकारी अधिकृत विज्ञानराज श्रेष्ठले आयोजनाको पहिलो युनिटबाट उत्पादित बिजुली राष्ट्रिय प्रसारण लाइनमा जोडेर परीक्षण गर्न लागिएको बताए। ‘विगत दुई महिनादेखि आयोजनाको विभिन्न परीक्षण गर्दै आइरहेका थियौं,’ उनले भने, ‘पहिलो युनिटबाट उत्पादन हुने ७६ मेगावाट बिजुली एक साताभित्रै प्रसारण लाइनमा जोडेर परीक्षण गर्न लागेका हौं। यो परीक्षण गर्न कम्तीमा पनि एक साता लाग्नेछ।’  

प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले गत वैशाख १६ गतेदेखि आयोजनाको सुरुङमा पानी खसालेर विभिन्न चरणको परीक्षण गर्दै आइरहेको बताए। ‘असार मसान्तसम्म दुई युनिटको बिजुली राष्ट्रिय प्रसारणमा जोड्ने लक्ष्य राखेका छौं,’ उनले भने, ‘कुनै प्राविधिक समस्या नआएको खण्डमा तीन महिनाभित्रै आयोजनाको ६ वटै युनिटको बिजुली राष्ट्रिय प्रसारण लाइनमा जडान गरिनेछ।’  

नेपाल विद्युत् प्राधिकरणले शनिबार सार्वजनिक सूचना जारी गरेर असार १३ देखि १९ गतेसम्म राष्ट्रिय गौरवको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनालाई राष्ट्रिय विद्युत् प्रणालीमा जोडिने कार्यक्रम रहेकाले खिम्ती–लामोसाँघु १३२ केभी प्रसारण लाइन बन्द गर्ने जनाएको छ।  

यस अवस्थामा प्रणालीमा विद्युत् अपुग हुने भएको ढल्केबरदेखि कोहलपुरसम्मका सबस्टेसनबाट विद्युत् आपूर्ति हुने क्षेत्रमा औद्योगिक ग्राहकले छोटो समयका लागि विद्युत् कटौती झेल्नु पर्न सक्ने जनाएको छ। प्राधिकरणले यस्तो परिस्थितिमा कुलेखानी जलाशयको पानी प्रयोग गरी यथासम्भव विद्युत् कटौतीको समय कम गर्ने प्रयास गर्ने सार्वजनिक सूचनामा उल्लेख छ।  

कम्पनीका प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले लामो प्रतीक्षापछि माथिल्लो तामाकोसी निर्माणको अन्तिम संघारमा पुगेको बताए। ‘स्वदेशी लगानीमा निर्माणाधीन यो आयोजनाबाट अबको तीन महिनाभित्र ६ वटै युनिटबाट बिजुली उत्पादन गर्ने लक्ष्यसहित जडानको काम तीव्र पारिनेछ,’ उनले भने, ‘ढिलै भए पनि आयोजना मूर्तरूप लिने अवस्थामा आइपुगेको छ।’ तामाकोसीबाट उत्पादित बिजुली खिम्तीमा निर्माण गरिएको नयाँ सबस्टेसनमार्फत जडान गर्न लागिएको हो।  

गत वैशाख १६ गते आयोजनाको सुरुङ परीक्षणको लागि सेटलिङ बेसिन (बालुवा थ्रिगाउने पोखरीमा) पानी छोडिएको थियो। निवर्तमान सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङ र भौतिक पूर्वाधार तथा यातायात मन्त्री बसन्त नेम्बाङले संयुक्त रूपमा आयोजनाको स्विच थिचेर सुरुङमा पानी खसालेका थिए।  

तर बीचैमा आयोजनाको पेनस्टक पाइप रहेको म्यानहोलको बिर्काेबाट पानी चुहिएपछि फेरि मर्मतसम्भार गरेर परीक्षण गरिएको थियो। ०६७/६८ मा सुरु गर्दा यो आयोजना ३५ अर्ब लागतमा सम्पन्न गर्ने लक्ष्य राखिएको थियो। तोकिएको समयमै निर्माण हुन नसकेपछि आयोजनाको लागत दोब्बरभन्दा धेरै पुगेको छ। अहिलेसम्म आयोजनामा ५२ अर्ब रूपैयाँ खर्च भइसकेको छ। सो आयोजनाको ब्याजमात्रै साढे २७ अर्ब रूपैयाँ पुगेको छ। दुवै रकम जोड्दा ८० अर्ब रूपैयाँ खर्च भइसकेको छ।  

०६७÷६८ मा आयोजना सुरु गर्दा ०७३/७४ भित्रै निर्माण सम्पन्न गर्ने लक्ष्य थियो। २०७२ को भूकम्प र नाकाबन्दी, ठेकेदार कम्पनीको ढिलासुस्ती र पछिल्लो समय कोभिड–१९ लगायतको कारणले आयोजना तोकिएको समयभित्रै निर्माण सम्पन्न हुन नसकेको हो। २०७२ सालको भूकम्प र नाकाबन्दीबाट प्रभावित भएसँगै पहिलोपटक ०७५÷७६ को पुस महिनाभित्र सक्ने गरी नयाँ एकीकृत समयतालिका तय गरिएको थियो।  

उक्त तालिका बमोजिम पनि आयोजनाको माथिल्लो तथा तल्लो ठाडो सुरुङमा पेनस्टक पाइप जडान गर्न नसकेपछि फेरि नयाँ भाका २०७६ चैत मसान्तसम्म पहिलो युनिटबाट ७६ मेगावाट बिजुली उत्पादन गर्ने लक्ष्य राखियो। त्यो समयभित्र पनि पाइप जडान सम्पन्न हुन सकेन र उत्पादन मिति पछि धकेलिएको हो।

प्रकाशित: १३ असार २०७८ ०२:२७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App