१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

अग्रीम वर्षाले धानको बिउ गल्यो, पर्सामा मात्र २५ प्रतिशत रोपाई

तस्बिरः रितेश त्रिपाठी

बितेका सालहरुमा वर्षाको लागि आकाश ताक्ने किसान यस पटक भने बिगतभन्दा अग्रीम नै पानी परिदिएर हैरान भएका छन् । ‘धान रोपाइ’का लागि खेतहरुमा पर्याप्त पानी छ, तर रोपाईको लागि बिडमा बिउ तयार छैन । साबिकभन्दा पहिले नै पानी परिदिएर बिउ तयार हुनमा समस्या भएको कृषि ज्ञान केन्द्र पर्साका प्रमुख मुनीलाल प्रसादले बताए । बिउ हाल्ने समयमा अलि अगावै बढी मात्रामा पानी परेपछि बिउको बिकासमा असर परेको र अहिले रोपाईको समयमा परेको पानीको सदुपयोग हुन नसकेको उनले नागरिकलाई बताए ।  

तराईका अरु जिल्लाहरुजस्तै ‘धान’ पर्साको मुख्य बाली हो । जिल्ला कृषि  ज्ञानकेन्द्रको रेकर्ड अनुसार पर्सा जिल्लामा ४६ देखि ४७ हजार हेक्टरसम्म धान खेती हुन्छ । समान्यतया यसको लागि जेठमा बिड तयार गरेर किसानले बिउ छर्ने गरेका छन् । आसारको पहिलो सातादेखि रोपाई सुरु हुन्छ । जिल्लामा सरकारी योजनाका सिचाईका कार्याक्रमहरु भए पनि ति सबै प्रभावकारी नहुँदा किसानहरु आकाशे पानीको भरमा नै मुख्य रुपमा खेती गर्ने गर्छन् । यसपाली आकाशे पानी अगाडि नै आइदिएर अवस्था फेरिएको भनि कृषिका विज्ञ र किसान दुबैको एक राय छ ।  

मौसमचक्रमा बदलाव

किसानको अनुभव र कृषि ज्ञान केन्द्र कार्यालयको रेकर्ड अनुसार मौसम चक्र अलि बद्लिएको छ । साबिक रुपमा, पछिल्लो समयक्रममा बैशाखमा खेतहरु जोतेर त्यसका झापातहरु घामले डढ्नको लागि किसानले छोड्ने गर्छन । जेठमा घाम लागेर खेतको माटो डढ्नु पर्छ भन्ने मान्यता छ । सुकेका माटोको डल्लोहरु माथी पर्ने चिसो पानीले माटोलाई गलाएर मुलायम बनाउछ । आधा जेठपछि एकातिर बिडमा बिउ हालेर स्याहार्न सुरु हुन्छ भने अर्कोतिर खेतको आली दुरुस्त पार्ने, जोताई र सम्याई गर्नेजस्तो तयारीमा किसान व्यस्त हुन्छन् । अनि त्यसउपरान्त असारे पानी परेपछि रोपाई गर्ने चलन रहिआएको  छ । यसपाली त्यसो हुन सकेन ।  

‘पानी सुरुमा चाहिएजस्तै पर्यो । तर बिउ हालिसकेपछि जरामा हल्का चिसो माटो हुनुपर्छ माथीबाट घाम पनि लाग्नु पर्छ, माटो बढी गिलो भयो भने बिउ उम्रिदैन’ पर्साको बेल्वाका अगुवा किसान नवलकिशोर झाले नागरिकलाई भने, ‘यसपाली अहिले मज्जाले पानी परेको छ, तर बिउ नै तयार छैन, कारण के हो भने बिउ माटोमा परेलगतै पानी परिदियो, बिडमा बिउ राम्ररी हुर्किन सकेन । मेरो धान रोपाई अरु वर्ष यतिखेर धुमधाम हुन्थ्यो, यसपाली सुरु पनि भएको छैन । दुईतीन दिनभित्र रोपाई सुरु गर्ने सुरसारमा छुँ ।’ धानको बिउको यसपाली विकास राम्ररी हुन नपाएर किसानहरुलाई बिउ अपुग हुने उनले ठोकुवा गरे । ‘अलिक अगावै बिउ खसाल्न सफल भएका किसानहरुले यसपाली बाजी जितेको र मौसमको फाइदा लिन सकेको’ उनले टिप्पणी गरे ।  

कृषी ज्ञान केन्द्र पर्साका बाली विज्ञ अधिकृत सुरेन्द्रप्रसाद चौरसियाका अनुसार पर्सामा अहिले करिब २५ प्रतिशत मात्र रोपाई भएको छ । यसमा जिल्लाको उत्तरी भेगमा रोपाई प्रतिशत बढी भएको र असारको मध्यमा अर्थात २ तीन दिनभित्र दक्षिणी भेगमा पनि रोपाईले गति लिने उनले बताए । ‘पानी अलि चाँडो परेको हो भनेर भन्नुपर्छ रोपाई ढिलो भएको चाहिँ होइन,’ चौरसियाले भने, ‘बिउमा पानीको मार नपरेको भए, यतिखेर रोपाईमा किसानलाई भ्याईनभ्याई हुन्थ्यो ।’ चौरसियाका अनुसार केही दिनभित्र बिउ पनि तयार हुन्छ । उनले भने, ‘पानी परेकै छ, समस्या नहोला ।’ कार्यालयका प्राबिधिकहरुका अनुसार अधिकतर धान रोपाई असारभित्र सकिने आँकलन छ । होचो सतहका खेतहरुमा भने हरेक बर्ष किसानहरुले बर्षात एकदमै ठप्प भएपछि मात्र रोपाईका लागि हात हाल्छन् । नभए रोपाई भएको धानबाली पानीले गल्ने जोखिम हुन्छ । त्यसता खेतहरु स्वभाविक रुपमा ढिलोगरी अर्थात असारपछि रोपाई हुने प्राविधिकले बताए ।  

प्रकाशित: १२ असार २०७८ १४:०० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App