६ आश्विन २०८१ आइतबार
image/svg+xml
अर्थ

बैतडीका ९ स्थानीय तहले ल्याए बजेट

चार वटा नगरपालिका र ६ गाउँपालिका गरी १० वटा स्थानीय तह रहेको बैतडीमा ९ वटा स्थानीय तहले आगामी आर्थिक वर्षको लागि नीति तथा कार्यक्रम र बजेट ल्याएका छन्। डिलासैनी गाउँपालिकाले भने आन्तरिक तयारी नभएको भन्दै एक सातापछि बजेट ल्याउने तयारी गरेको छ।

जिल्लाका अधिकांश स्थानीय तहले स्वास्थ्य, शिक्षा, कृषिलाई प्राथमिकतामा राखी बजेट ल्याएका छन्। अधिकांश नीति कार्यक्रम विगतका वर्षहरुकै रहेका छन्।

दशरथचन्द नगरपालिकाको नगरसभामा नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गर्दै उपप्रमुख मीना चन्दले आगामी आर्थिक वर्ष २०७८/०७९ का लागि ७२ करोड ६१ लाख २२ हजार ३८ रुपैयाँ बराबरको बजेट सार्वजनिक गरिन्। नगरपालिकाले आगामी आर्थिक वर्षमा कोरोना नियन्त्रणलाई प्राथमिकतामा राखेको छ।

कोरोना प्रभावित विदेशबाट फर्किएका नागरिकलाई रोजगारी दिने खालका कार्यक्रम सञ्चालन गरिने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ। यस्तै कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि झुलाघाटको हेल्प डेस्कलाई व्यवस्थित बनाइने नगरपालिकाको नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ।

कोरोना नियन्त्रणमा खटिएका स्वास्थ्यकर्मी, जनप्रतिनिधि र कर्मचारीलाई सहुलियत बीमा र थप सुविधा दिइ प्रोत्साहित गर्ने उल्लेख गरिएको छ।

मातृ शिशु सुरक्षा योजनालाई निरन्तरता दिने नगरपालिकाको नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ। यस्तै शिक्षा क्षेत्रमा विद्यालय मर्ज कार्यक्रमलाई प्राथमिकता दिने, स्थानीय पाठ्यक्रम तयार पार्ने, कम्तीमा एक वडालाई बालमैत्री वडा घोषणा गर्ने  नीति तथा कार्यक्रममा समेटिएको छ।

पाटन नगरपालिकाले आगामी आर्थिक वर्षका लागि ६१ करोड २३ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ। ‘कृषिमा युवालाई रोजगार पाटन नगरपालिकाको नौलो उपहार’ कार्यक्रम ल्याएको छ। यसमा बाँझो रहेको जमिनमा बहुआयामिक कृषि फर्मको माध्यमबाट रोजगारी सिर्जना गर्ने र युवाहरुलाई रोजगार दिने कार्यक्रम ल्याएको छ।

प्रविधिमैत्री शिक्षा, एक वडा एक खेल मैदान, एक वडा एक सहकारी, कृषि पकेट क्षेत्र कार्यक्रम, सबैका लागि सूचना र सञ्चार कार्यक्रम, उर्जा तथा लघु कार्यक्रम लगायतका कार्यक्रम बजेटमा समेटिएका छन्।

पुर्चौडी नगरपालिकाले ६१ करोड १३ लाख ९९ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ। कृषि, स्वास्थ्य, शिक्षा, पूर्वाधारलाई बजेटमा समेटिएको छ। यस्तै मेलौली नगरपालिकाले अगामी आर्थिक वर्षका लागि ५९ करोड २२ लाख ८८ हजार  रुपैयाँको बजेट ल्याएको छ। कृषि, स्वास्थ्य, शिक्षा, पूर्वाधारलाई प्राथमिकतामा राखेको छ। ‘एक गाउँ एक कृषि नमूना ब्लक’ ‘एक घर एक सहकारी सदस्य’ जस्ता कार्यक्रम पनि बजेटमा समेटिएको नगरप्रमुख कृष्णसिंह नायकले बताए।

शिवनाथ गाउँपालिकाले ३४ करोड ५२ लाख २२ हजार ७ सय  रुपैयाँको बजेट प्रस्तुत गरेको छ। कृषि, उत्पादन, रोजगार र विपद् न्यूनीकरणलाई प्राथमिकता राखेर बजेट ल्याइएको छ। सिगास गाउँपालिकाले ४२ करोड ४९ लाख ६२ हजार १ सय ६० रुपैयाँको बजेट सावर्जजनिक गरेको छ।

यस्तै दोगडाकेदार गाउँपालिकाले अगामी आर्थिक वर्षका लागि ५८ करोड ४ लाख ९८ हजार बराबरको बजेट प्रस्तुत गरेको छ। स्वास्थ्य, शिक्षा, कृषि, पर्यटन, रोजगारीलाई प्राथमिकतामा राखेर उक्त बजेट ल्याइएको गाउँपालिका अध्यक्ष चक्रबहादुर कार्कीले जानकारी दिए। सुर्नया गाउँपालिकाले ३९ करोड ७ लाख ९३ हजार  रुपैयाँको बजेट सार्वजनिक गरेको छ। 

प्रकाशित: ११ असार २०७८ ०९:३७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App