१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

गोरखाका आठवटा स्थानीय तहले बजेट ल्याए, दुईवटाले ल्याउन सकेनन्

गोरखाका आठवटा स्थानीय तहले एकैदिन बजेट ल्याएका छन् । ११ वटा स्थानीय तह रहेको गोरखामा शहीदलखन गाउँपालिकाले बुधवार नै बजेट ल्याईसकेको हो भने आरुघाट र चुमनुब्री गाउँपालिकाले बजेट ल्याउन सकेनन् ।  

गोरखा नगरपालिकाको बजेट एकअर्व ५ करोड

गोरखा नगरपालिकाले आर्थिक वर्ष २०७८÷७९ का लागि एकअर्व पाँच करोड रुपैयाँको बजेट बिनियोजन गरेको छ । आठौं नगरसभा मार्फत उपमेयर बिनाकुमारी श्रेष्ठले उक्त बजेट प्रस्तुत गरेकी हुन् ।  नगरपालिकाको आगामी वर्षको नीति तथा कार्यक्रम नगरप्रमुख राजनराज पन्तले प्रस्तुत गरेका थिए । नगरप्रमुख पन्तको अध्यक्षतामा भएको नगरसभाले वित्तीय समानिकरण अनुदान तर्फ २३ करोड ४९ लाख रुपैयाँ र सर्शत अनुदानबाट ३३ करोड ४६ लाख रुपैयँँ अनुमान गरेको छ । राजश्व बाँडफाँड, विद्युत रोयल्टी, प्रदेश सरकारको अनुदान, आन्तरिक आम्दानी लागत सहभागिता सहित अनुमानित बजेट प्रस्तुत गरिएको हो ।  

गतवर्ष नगरपालिकालाई राजश्व, विभिन्न अनुदान, आन्तरिक स्रोत गरी एकअर्व सात करोड ४८ लाख प्राप्त भएको उपप्रमुख श्रेष्ठले बताईन । उक्त रकम मध्ये पूँजिगत तर्फ करिब ५३ र चालुतर्फ ६० प्रतिशत रकम खर्च भएको छ । असार मसान्तसम्म पूजिँगत खर्च करिब ८० प्रतिशत पुग्ने अनुमान नगरपालिकाको छ ।  आगामी वर्षका लागि नगरपालिकाले कोभिड–१९ को माहामारिबाट प्रभावित नगरवाकिो जीवनरक्षा गर्न र जनजिवनलाई सामान्यीकरण गर्न बजेटमा प्राथमिकता दिएको नगरसभाका अध्यक्ष पन्तले बताए ।

नीति कार्यक्रम र बजेटमा स्वास्थ्य पूर्वाधारको विकास र बिस्तार, कृषि क्षेत्रको आधुनिकिकरण, गुणस्तरीय भौतिक पूर्वाधार निर्माणमा जोड, गुणस्तरीय शिक्षाको विकास लगायतलाई जोड दिइएको मेयर पन्तले बताए ।  कोभिडबाट मृत्यु भएकाको परिवारलाई सहयोग कार्यक्रम अन्र्तगत ३० हजार उपलब्ध गराउने, विपन्न समुदायका विद्यार्थीलाई गोरखा नगरपालिका भित्रका क्याम्पसमा अध्ययन गर्न छात्रवृत्ति उपलब्ध गराउने, नगरस्तरिय युवा परिषद गठन गर्ने जस्ता नयाँ नीति नगरपालिकाले लिएको छ । सिरानचोकको बजेट ५६ करोड ९७ लाख  

गोरखाको सिरानचोक गाउँपालिकाले आर्थिक वर्ष २०७८÷७९ का लागि ५६ करोड ९७ लाख २३ हजार रुपैयाँको बजेट प्रस्तुत गरेको छ । चालु तर्फ ८ करोड ८७ लाख र गाउँपालिकाको सार्वजनिक विकास र विभिन्न अन्य शीर्षकमा ४८ करोड १० लाख रुपैयाँ विनियोजन गरिएको उपाध्यक्ष रिता देवकोटाले बताईन ।  

नवौं गाउँसभामा अध्यक्ष राजु गुरुङले नीति तथा कार्यक्रम र उपाध्यक्ष देवकोटाले बजेट प्रस्तुत गरेकी हुन् । संघीय सरकार, प्रदेश सरकारबाट आउने अनुदान, गाउँपालिकाको आन्तरिक आम्दानी लगायतलाई आम्दानीको स्रोतको रुपमा पालिकाले लिएको छ ।  ‘समृद्ध सुन्दर ऐतिहासिक सिरानचोकको सानः समावेशी, वातावरण अनुकुलित सन्तुलित विकासको अभियान’ भन्ने नाराका साथ आगामी वर्षको बजेटलाई प्राथमिकता दिइएको गाउँपालिका अध्यक्ष राजु गुरुङले बताए ।

पालुङटार नगरपालिकाको बजेट ८४ करोड

पालुङटार नगरपालिकाको नवौं नगरसभाले आर्थिक वर्ष २०७८÷७९ का लागि ८४ करोड ५१ लाख ३१ हजार रुपैयाँ बजेट बिनियोजन गरेको छ । उपमेयर पम्फा बसेलले नीति कार्यक्रम र बजेट प्रस्तुत गरेकी हुन् ।  मेयर दिपकबाबु कंडेललाई कोरोना संक्रमण पुष्टि भएकाले उनी बैठकमा उपस्थित हुन सकेनन् । नगरसभाको अध्यक्षता उपमेयर बसेलले गरेकी थिईन । नगरपालिकाले स्वास्थ्य, शिक्षा, पूर्वाधारको क्षेत्रलाई प्राथमिकतामा राखेर बजेट विनियोजन गरेको उपप्रमुख बसेलले बताईन ।

बारपाक सुलिकोट गाउँपालिकाको बजेट झन्डै ५३ करोड

बारपाक सुलिकोट गाउँपालिकाले आर्थिक वर्ष २०७८÷७९ का लागि ५२ करोड ७३ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । गाउँपालिका उपाध्यक्ष सनमाया गुरुङले नवौं गाउँसभामा बजेट प्रस्तुत गरेकी हुन् । सभाका अध्यक्ष एवं गाउँपालिका अध्यक्ष बिष्णु भट्टले नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । आगामी वर्षका लागि आन्तरिक आम्दानी ८५ लाख, संघ प्रदेश सरकारको अनुदान, गत वर्षको १५ करोड लगायत गरि पालिकाले बजेट तयार गरेको छ ।  गाउँपालिका अध्यक्ष भट्टले कोभिडले सिथिल विकास निर्माणलाई चलायमान बनाउने, कोरोनाका कारण रोजगारी गुमाएका मजदुर र अति बिपन्न परिवारलाई सहयोग गर्ने नीति गाउँपालिकाले लिएको छ ।  

गण्डकी गाउँपालिकाको बजेट करिब ६० करोड  

गण्डकी गाउँपालिकाले आर्थिक वर्ष २०७८÷७९ का लागि करिब ६० करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । उपाध्यक्ष ललिता अधिकारीले बजेट प्रस्तुत गरेकी हुन् । गाउँपालिका अध्यक्ष होमबहादुर रानाले नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । ‘बजेट उपर छलफल सुरु भएको छ’ प्रमुख प्रशासकीय अधिकृत पुरण गुरुङले भने । असार भित्र बजेट पास गर्नुपर्ने हुँदा छलफलले पूर्णता पाएपछि जुनसुकै दिन पास हुन सक्ने उनले बताए । अब निरन्तर बजेटमाथि छलफल चल्नेछ ।  

धार्चे गाउँपालिकाको बजेट करिब ३८ करोड  

धार्चे गाउँपालिकाले बिहीवार गाउँसभा सम्पन्न गरेको छ । करिब ३८ करोड रुपैयाँको बजेट गाउँसभामा प्रस्तुत भएको प्रमुख प्रशासकिय अधिकृत रामबहादुर अधिकारीले बताए । गाउँपालिका उपाध्यक्ष फुलमाया गुरुङले आर्थिक वर्ष २०७८÷७९ का लागि उक्त बजेट प्रस्ताब गरेकी हुन् ।  गाउँपालिका अध्यक्ष सन्तोष गुरुङको अध्यक्षतामा भएको गाउँसभामा अध्यक्ष गुरुङले नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । दुर्गम क्षेत्रमा पूर्वाधार विकास, सडक खानेपानी, शिक्षा, स्वास्थ्यलाई प्राथमिकतामा राखेर नीति, योजना र बजेट विनियोजन गरिएको अध्यक्ष गुरुङले बताए ।  

भीमसेन थापा गाउँपालिकाको बजेट ६२ करोड ५२ लाख  

भीमसेन थापा गाउँपालिकाले आर्थिक वर्ष २०७८÷७९ का लागि ६२ करोड ५२ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । उपाध्यक्ष बिनु वाग्लेले आठौं गाउँसभामा उक्त बजेट प्रस्ताव गरेकी हुन् ।  

गाउँपालिका अध्यक्ष इश्वर पाण्डेको अध्यक्षतामा भएको गाउँसभामा अध्यक्ष पाण्डेले आगामी वर्षको लागि नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । गाउँपालिकाले चालु वर्षको १२ करोड सहित संघिय, प्रदेश सरकारको अनुदान विभिन्न अनुदान, गाउँपालिकाको आन्तरिक आम्दानी ४७ लाख ३० हजार सहित बजेट प्रस्तुत गरेको उपाध्यक्ष वाग्लेले बताईन् ।  कोरोना नियन्त्रण रोकथाम र उपचार, पूर्वाधार बिकास, रोजगारीको सिर्जना, स्वास्थ्य र शिक्षाको स्तरवृद्धिका योजना प्राथमिकतामा परेको गाउँपालिका अध्यक्ष पाण्डेले बताए ।  

अजिरकोटको बजेट ४८ करोड २३ लाख  

गोरखाको अजिरकोट गाउँपालिकाले ४८ करोड २३ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ । गाउँसभा मार्फत बिहिवार उपाध्यक्ष चन्द्रमाया गुरुङले आर्थिक वर्ष २०७८÷७९ का लागि बजेट प्रस्ताव गरेकी हुन् ।  

गाउँपालिका अध्यक्ष फडिन्द्र धितालको अध्यक्षतामा भएको कार्यक्रमले बजेट सर्वसम्मत पारित गरेको उनले बताईन । गाउँपालिकाले फर्क युवा कार्यक्रम सञ्चालन गर्ने, छोरी भए पुगिसरी, गाउँपालिका अध्यक्ष जेहेन्दार छात्रवृत्ति, कृषि, स्वास्थ्य शिक्षा, पशुपंक्षी पर्यटन, पूर्वाधारलाई प्राथमिकता दिएको प्रमुख प्रशासकीय अधिकृत सुरेश दवाडीले बताए ।  

प्रकाशित: ११ असार २०७८ ०९:३४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App