१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

मेलम्ची फेरि अन्योलमा

फाइल तस्बिर

काठमाडौं उपत्यकावासीको तीन दशकदेखिको मेलम्ची सपना गत चैत दोस्रो सातातिर आंशिक रूपमा साकार भयो। मेलम्ची खानेपानी आयोजनाले गत चैत १३ देखि मेलम्चीको पानी आशिंक रूपमा राजधानीवासीलाई वितरण गर्‍यो। मेलम्चीको पानी आएसँगै वर्षाैंदेखि प्रतीक्षारत राजधानीवासीमा उत्साह र उमंग छायो। सुरुआती चरणमा उपत्यकाका सीमित क्षेत्रका उपभोक्ताले मेलम्चीको पानी उपभोग गरे। तर उपत्यकाका बासिन्दाको घरमा मेलम्ची पानी झर्न थालेको साढे दुई महिना नबिदै उक्त आयोजना अनिश्चियतर्फ धकेलिएको छ।  

मेलम्ची खानेपानी आयोजनाले पूर्वनिर्धारित योजना मुताविक असार १ गतेदेखि दुई महिना मेलम्चीको पानी रोकेर सुरुङ निरीक्षण र परीक्षण गर्ने योजना सार्वजनिक गर्‍यो। तर दुर्भाग्य मेलम्चीको अस्थायी बाँध बन्द गरेर सुरुङ परीक्षण थालेकै दिन असार १ गते मेलम्ची आयोजनाको अम्बाथानस्थित हेडवर्क्सभन्दा माथिबाट आएको भीषण बाढीपहिरोले मेलम्ची आयोजनामा कार्यरत चार कामदारको ज्यान लियो, त्यत्तिकै संख्यामा बेपत्ता बनायो र बाँध ध्वस्त पार्‍यो।  

आयोजनामा कार्यरत ७६ कामदारलाई हेलिकप्टरबाट उद्धार गरियो। मेलम्ची आयोजनाका डिभिजनल सिनियर इन्जिनियर तथा प्रवक्ता राजेन्द्रप्रसाद पन्तले बाढीले आयोजनाको पाँचवटा पुलसहित पहुँचमार्ग पूर्ण रूपमा क्षतिग्रस्त बनाएको बताए। हेडवर्क्स क्षेत्रका अस्थायी संरचनासहित आयोजनाको क्याम्प, निर्माण सामग्री र उपकरणहरू बाढीले बगाएको छ। हेडवर्क्स र मुख्य प्रवेश मार्ग २–२ वटा र एउटा अस्थायीसहित पाँचवटा पुल बगेको छ। मेलम्चीको विभिन्न खण्डमा करिब ९–१० किलोमिटर प्रवेशमार्ग पूर्ण रूपमा क्षतिग्रस्त भएको छ। अम्बाथानको क्याम्पदेखि हेडवर्क्ससम्मको ३–४ किलोमिटर पहुँचमार्ग पूर्णरूपमा क्षतिग्रस्त भएको छ। मर्मतसम्भार नगरी त्यहाँ जान सक्ने अवस्था नै छैन। प्रभावित क्षेत्रका स्थानीय तहले पनि पहुँचमार्ग खुलाउने प्रयत्न भने जारी राखेका छन्। तर अहिलेसम्म खुलाउन सकिएको छैन। ‘बाढीले आयोजनाको पहुँचमार्ग भत्काउँदा अम्बाथानस्ति हेडवर्क्ससम्म जानै सकेका छैनौं,’ उनले भने, ‘हामीले ड्रोन तथा हेलिकप्टरको माध्यमबाट मात्रै आयोजनाको हेडवर्क्स क्षेत्रको अनुगमन गरेका छौं। सो अनुगमनबाट हेडवक्र्स जुन ठाउँमा हुनुपर्ने हो। सोही ठाउँमा देखिन्छ। त्यसैले धेरै क्षति पु¥याएको छैन कि भनेर अन्दाज गर्न सक्छौं।’

प्रवक्ता पन्तले सरसर्ती हेर्दा हेडवर्क्समा बालुवा भरिए पनि क्षति नभएको जस्तो देखिएको बताए। ‘नियमित झरी परिरहेकोले स्थलगत अनुगमन गर्न सकेका छैनौं,’ उनले भने, ‘सोमबारसम्म आयोजनाको हेडवर्क्स् भन्दा आठ किलोमिटरसम्म मात्रै पुग्न सकेका छौं। त्यसैले पनि क्षतिको आकलन गर्न समस्या भइरहेको छ।’ आयोजनाले मेलम्ची आयोजनाका परामर्शदाता कम्पनी र ठेकेदार कम्पनी सिनो हाइड्रोलाई बाढीपहिरोबाट भएको क्षतिको अध्ययन गर्न १५ दिने निर्देशन दिइसकेको बताए।  

मेलम्ची बाढीले आयोजनाको धेरै संरचना भताभुंग पारिदिएको र भत्किएको संरचना पुनर्स्थापना गर्न ६ महिनाभन्दा धेरै लाग्ने प्रारम्भिक रूपमा देखिएको छ। ‘बाढीले भत्काएको पुल तथा पहुँचमार्ग दुई महिनाभित्रै निर्माण गर्न सकिन्छ कि भनेर अनुमान गरेका छौं,’ उनले भने, ‘यस्तो अवस्थामा पहुँचमार्ग र कंक्रिटकै पुलको संरचना बनाउन त धेरै समय लाग्छ। नेपाली सेना तथा सडक विभागसँग समन्वय गरेर तत्कालै फिटिङ गर्न सकिने खालको पुल बनाउनुपर्ने देखिन्छ,’ प्रवक्ता पन्तले भने, ‘मेलम्ची आयोजनाको स्थायी र अस्थायी दुवै बाँधको मर्मतसम्भार गरेर थप दुई महिनापछि फेरि पानी पथान्तरण गर्ने सोच बनाएका छौं।’  

प्रवक्ता पन्तले मेलम्ची सुरुङको पानी सुन्दरीजल अडिटबाट मात्रै खाली गर्ने काम भइरहेको बताए। ‘गत असार १ गतेदेखि सुरुङको पानी खाली गरेर परीक्षण गर्ने योजना अनुसार काम गरिरहेका थियौं। सोही दिन बेलुका आएको बाढीले सुरुङ खाली गर्ने योजना समेत प्रभावित होला जस्तो छ,’ उनले भने, ‘सुन्दरीजल, सिन्धु ग्याल्थुम अडिट हुँदै अम्बाथानको खाली गर्नुपर्ने हो। तर अम्बाथान अहिले जान सकिने अवस्था नै छैन।’ अहिले सुन्दरीजलबाट प्रतिसेकेन्ड दुई सय लिटरको दरले मेलम्ची सुरुङको पानी खाली गरिँदैछ।

मेलम्ची आयोजनाको अस्थायी बाँधबाट फागुन १० गते सुरुङमा पानी पथान्तरण गरिएको थियो। मेलम्ची नदीको पानी सुन्दरीजलमा गत फागुन २२ गते आइपुगेको थियो। मेलम्चीको प्रशोधन केन्द्रबाट चैत १३ गतेदेखि उपत्यकावासीको घरघरमा मेलम्ची पानी पठाउन सुरु गरिएको थियो। प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा राष्ट्रपति विद्यादेवी भण्डारीले चैत २० मा भृकुटीमण्डपमा आयोजित एक कार्यक्रमबीच मेलम्चीको पानी औपचारिक रूपमा उद्घाटन गरेकी थिइन्।  

मेलम्चीको पानी गत वैशाख ६ देखि जेठ ३१ सम्म पूर्ण क्षमता (१७ करोड लिटर)मा राजधानीवासीलाई वितरण गरिएको थियो। मेलम्चीको सुरुङ तथा हेडवर्कस् लगायतको प्याकेज १ तर्फ हालसम्म २९ अर्ब रूपैयाँ खर्च भइसकेको छ। त्यसैगरी, पाइपलाइनको वितरण लाइनतर्फ पनि २० अर्ब खर्च भइसकेको छ। मेलम्चीको सपना उपत्यकावासीलाई तीन दशकअघि देखाइए पनि डेढ दशकअघि निर्माण सुरु गरिएको थियो।

प्रकाशित: ८ असार २०७८ ०४:३७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App