१६ वैशाख २०८१ आइतबार
image/svg+xml
अर्थ

मैलुङ–स्याफ्रु सडक बर्खाभर सञ्चालन नहुने

रसुवागढी नाका जोड्ने सडक खण्डअन्तर्गत दोस्रो खण्डमा पर्ने मैलुङ स्याफ्रु सडक। तस्बिर : हिमनाथ/नागरिक

नेपाल र चीनबीच स्थलमार्गबाट हुने आयात निर्यातलाई सहज बनाउन निर्माण गरिएको मैलुङ–स्याफ्रु सडक खण्ड बर्खाभर सञ्चालनमा नआउने भएको छ। १७ किलोमिटरको यो सडकको विभिन्न स्थानमा पहिरो गएकाले बन्द भएको हो।  

गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेसी–रसुवागढी सडक योजनाले सडक खण्डमा निर्माण कार्य भइरहेको र वर्षा सुरु भएसँगै केही ठाउँमा पहिरो गएकाले मैलुङ स्याफ्रु सडकमा सवारी साधन सञ्चालन नगर्न आग्रह गरेको छ।  

यही असार १ गतेदेखि भदौ मसान्तसम्म यो सडक खण्डमा सवारी साधन सञ्चालन गर्न निकै जोखिम हुने भएकाले वैकल्पिक सडक प्रयोग गर्नुपर्ने योजना प्रमुख नारायणदत्त भण्डारीले बताए। ‘विभिन्न ठाउँमा पहिरो जानुको साथै खोलामा बनाएको कज्वे समेत बगाएको छ,’ उनले भने, ‘बर्खाभरी सडक सञ्चालनमा ल्याउन सकिने अवस्था छैन।’  

यो सडक खण्डमा ठाडो खोल्सा धेरै भएको कारण वर्षाको समयमा सडकमा क्षति पुर्‍याउने गरेको छ। दोस्रो खण्डको रूपमा रहेको यो सडकको स्तरोन्नतिको काम २०७९ माघमा सकाउने लक्ष्य राखिएको छ।  

समयसीमा अगावै निर्माण सम्पन्न गर्न गरी स्तरोन्नतिको काम अघि बढाइएको योजना प्रमुख नारायणदत्त भण्डारीले बताए। बर्खाभर सडक स्तरोन्नति हुने छैन। नेपाल र चीनबीच हुने व्यापारलाई सहज एवं दिगो बनाउन निर्माण गरिएको सडक भएकाले सबै चासो रहेको छ। यो राष्ट्रिय प्राथमिकता प्राप्त सडक आयोजना हो। यो सडक बेत्रावती कालिकास्थान धुन्चे हुँदै स्याफ्रु जोड्ने सडकभन्दा २५ किलोमिटर छोटो छ। बेत्रावती कालिकास्थान धुन्चे हुँदै स्याफ्रु पुग्न ५४ किलोमिटर छ। बेत्रावती–मैलुङ–स्याफ्रुबेसीको दूरी २९ किलोमिटर मात्रै छ।  

पासाङल्हामु मार्गअन्तर्गत पर्ने धुन्चे खण्डमा धेरै घुम्ती पार गर्नुपर्ने भए पनि यो सडकमा एउटा पनि घुम्ती छैन। गल्छीदेखि रसुवागढीसम्म पुग्न ८२ किलोमिटर पार गर्नुपर्छ। बेत्रावतीदेखि धुन्चे हुँदै स्याफ्रुबेसी सडकमा उकालो र ओरालो हुँदै ३५ वटा कठिन घुम्ती पार गर्नुपर्ने भए पनि मैलुङतर्फबाट कुनै पनि घुम्ती पार गर्न पर्दैन।  

मैलुङ­–स्याफ्रुबेसी सडकको विकल्पमा बेत्रावती धुन्चे स्याफ्रुबेसी सडक प्रयोग गर्न सकिनेछ। २०४२ सालदेखि पासाङल्हामु मार्गअन्तर्गत बेत्रावती धुन्चे सडक सञ्चालनमा छ।

प्रकाशित: ६ असार २०७८ ०५:४१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App