८ आश्विन २०८१ मंगलबार
image/svg+xml
अर्थ

कोरोना महामारीमा होटल व्यवसायीको साथ

कोरोना रोकथाम तथा नियन्त्रणमा जुम्लाका होटल व्यवसायीले साथ दिन थालेका छन्। उनीहरूले व्यवसाय गरेर कमाएको रकमले स्वास्थ्य सुरक्षाका सामग्री खरिद गरी स्थानीय तहलाई प्रदान गर्न थालेका हुन्। जिल्लाको कनकासुन्दरी गाउँपालिका–५ का होटल व्यवसायी गगन बडुवालले नौ प्रकारको स्वास्थ्य सामग्री खरिद गरेर गाउँपालिकालाई बुझाएका हुन्।  

उनले भने, ‘कोरोना रोकथाम तथा नियन्त्रणमा सामूहिक पहलको खाँचो छ। यो व्यक्तिगत र सरकारले मात्र नियन्त्रणमा लिन सक्दैन। सबैले सके जति सहयोग गरौं। कोरोना भाइरसमुक्त स्थानीय तह बनाऔं।’ व्यवसायी बडुवालले पिपिई ५० सेट, हस्पिटल गाउन १५० पिस, सेनिटाइजर सय एमएलका १८ बोत्तल, गमबुट ४ सेट, एन९५ मास्क ५० पिस प्रदान गरेका हुन्। उनले युटिएम १०० थान, ग्लोब्स हजार सेट, सुट कभर ५० र हेड क्याप ५० पिस उपलब्ध गराएका छन्।  

उनले कनकासुन्दरी गाउँपालिकाका अध्यक्ष नरवीर रावतलाई सामग्री हस्तान्तरण गरेका छन्। अध्यक्ष रावतले कोरोना संक्रमण फैलन नदिनका लागि व्यक्तिगत रूपमा व्यवसायीले गरेको साथले खुसी मिलेको प्रतिक्रिया दिए। ‘यो कार्यले यहाँका उद्योगी, व्यवसायी, शिक्षक, बुद्धिजीवी सबै मिलेर कोरोना नियन्त्रणमा लाग्ने ऊर्जा मिलेको छ,’ उनले भने। गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नैनसिंह बुढाले कोरोना संक्रमण रोक्न सबैको साथ रहेको प्रतिक्रिया दिए। 

उनले भने, ‘कोरोना संक्रमितको ऊर्जा बढाउनु र संक्रमण रोक्न स्वास्थ्य सुरक्षाको मापदण्डको पालना गर्नु अहिलेको आवश्यकता हो।’ यसअघि जुम्लाको उद्योग वाणिज्य संघ जुम्लाले कोरोना संक्रमितलाई लक्ष्य गर्दै कोभिड एम्बुलेन्स सञ्चालनमा ल्याएको थियो।

प्रकाशित: ३० जेष्ठ २०७८ ०५:३८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App