१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

यांग्री र लार्के खोलामा काम थाल्न निर्देशन

प्रधानमन्त्री केपी शर्मा ओलीले मेलम्ची खानेपानी आयोजनाको आवश्यक परीक्षणसँगै यांग्री र लार्के खोलामा तत्काल काम सुरु गर्न निर्देशन दिएका छन्।

प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार खानेपानी मन्त्रालय तथा मेलम्ची खानेपानी आयोजनासम्बन्धी अद्यावधिक जानकारी लिएपछि उनले यस्तो निर्देशन दिएका हुन्।

हाल मेलम्चीबाट न्युनतम् प्रतिदिन १७ करोड लिटर पानी आइरहेको छ। यसमा सिन्धुपाल्चोकको उत्तरी भेगमा रहेका यांग्री खोलाबाट १७ करोड लिटर र लार्के खोलाबाट थप १७ करोड लिटर थपिएपछि राजधानीमा दैनिक ५१ करोड लिटर पानी आपूर्ति गर्न सकिन्छ। यसबाट उपत्यकामा पछि थप हुने जनसंख्यालाई पनि पानी आपूर्ति गर्न सकिने अवस्था छ।

प्रधानमन्त्रीले दुवै खोलाबाट पानी ल्याउन आवश्यक गृहकार्य थाल्न तथा त्यसका लागि आवश्यक प्रशोधन प्लान्टको कार्यसमेत तत्कालै थाल्न दिर्देशन दिए।

राजधानीबासीको लामो समयदेखिको सपना पूरा गर्दै गत चैत २१ देखि औपचारिक रूपमा मेलम्चीको पानी वितरण थालिएको थियो। प्राविधिक आवश्यकता अनुसार अब सुरुङको पानी पूरै खाली गरेर कुनै समस्या आए÷नआएको जाँच गर्ने र त्यसपछि फेरि पानी पठाउन थालिनेछ। मन्त्रालयका अनुसार अब सुरुङलाई पूरै खाली गर्न करिब १० दिन, परीक्षणका लागि केही दिन र पूरै पानी भर्न १५ दिन गरी करिब एक महिना समय लाग्ने छ।

त्यस अवधिका लागि हाल काठमाडौं उपत्यका खानेपानी लिमिटेडको पुरानै संरचना अनुसार पानी वितरण गरिने जानकारी मन्त्रालयका अधिकारीहरूले दिए। ‘वर्षा सुरु भएपछि करिब चार करोड लिटर पानी थपिने भएकोले अहिलेकै क्षमतामा पनि राम्रैसँग चलाउन सकिन्छ,’ बैठकमा सहभागी मन्त्रालयका एक अधिकारीले भने।

प्रकाशित: ३० जेष्ठ २०७८ ०५:०९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App