१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

बागमती र बकैया नदीको तटबन्धको स्थलगत अनुगमन

रौतहटमा नदी कटानबाट जोगाउन स्पर तथा बाँधको मर्मत सम्भार भइरहेको छ । जिल्लाको बागमती र  बकैया नदीका विभिन्न स्थानमा स्पर निर्माण गरी तटबन्धलाई क्षतिबाट रोक्नका लागि निर्माण कार्य भइरहेको हो । मनसुन सुरु हुन लागेपछि वर्षात धरै हुने भएकोले तटबन्धको निर्माण कार्य भइरहेको स्थानमा प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवको नेतृत्वमा सरोकारवाला निकायको टोलीले अनुगमन तथा निरीक्षण गरेका हुन् ।  

वागमती नदीको पश्चिमी र पूर्वी १२ तथा लाल बकैया नदीको पूर्वी र पश्चिमी १६ गरी २६ स्थानमा बाढी, कटान र डुवानको उच्च जोखिममा रहेको हुँदा उक्त स्थानहरुमा शून्य बजेटबाट निरन्तर रुपमा निर्माण भइरहेको छ ।  

नेपाल भारत सीमा क्षेत्रको जिरोदेखि साढे १७ किलोमिटर उत्तरसम्मको वागमतीको बाँध उच्चजोखिममा रहेको छ । ब्रम्हपुरी, बसन्तपुर, मत्सरी, गंगापिपरा र रजवडाको निकै जोखिम रहेको बताउँदै बागमती तथा लाल बकैया नदी नियन्त्रण आयोजनाको प्रमुख अख्लाख सिद्धिकीले आफू यस आयोजनामा संलग्न भएदेखि मर्मत तथा निर्माण लागि रकम नै नरहेको बताए ।  

वागमतीको १२ र बकैयाको १६ गरी २८ स्थानमा बाँध निर्माणको लागि  ४१ करोड ४९ लाख रुपैयाँ लाग्ने भएको हुँदा विभागसहित मन्त्रालयमा पत्राचार गरिएको आयोजना प्रमुख सिद्धिकीले बताएका छन् ।  मन्त्रालयका प्राविधिक टोलीहरुद्धारा पुनः स्थलगत रुपमा अनुगमन गर्दा वास्तविक बजेट माग गरिएको ठहर भएपछि गत चैत महिनामा अर्थ मन्त्रालयमा बजेट निकासाको लागि पठाइए पनि अहिलेसम्म बजेट निकासा नभएको हुँदा शून्य बजेटमा रौतहट जिल्लाको नागरिकहरुलाई बचाउने कार्य उधारोमा काम गरिरहेको गुनासो प्रमुख सिद्धिकीको रहेको छ ।

 प्राविधि र सुरक्षा निकायको टोलीलाई लिएर स्थलगत अनुगमन निरीक्षण गरेका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले साविकको वर्ष  भन्दा दोब्बर वर्षा  हुने सम्भावना रहेको र जेठ मसान्तबाट मनसुन सक्रिय हुने मौसम विभागको चेतावनी दिएपछि रौतहटको पूर्वमा रहेको वागमती र पश्चिममा रहेको लालबकैयासहित विभिन्न नदीहरुमा आउने बाढीबाट हुने सम्भावित जोखिमलाई नियन्त्रण गर्न निर्माण कार्य सुरु गरिएको बताए ।  

वागमती नदीको दक्षिणदेखि उत्तरसम्म १७ वटा स्परमध्ये १, २, ५, १०, ११ र १२ लाई अविलम्ब मर्मत गरिनु पर्ने देखिएको हुँदा गत वैशाख महिनादेखि काम सुरु गराइएको नतिजा अहिले केही दिनभित्रै मर्मत तथा निर्माण कार्य सम्पन्न हुने विश्वास व्यक्त गरेका छन् । वागमती र लाल बकैयाको बाढीको पानी बस्तीमा प्रवेश गर्न नदिन हर सम्भव प्रयास जारी रहेको हुँदा समयमै सम्बन्धित निकायबाट बजेटको व्यवस्थापन भईदिदा काम गर्न सजिलो हुने समेत उनले प्रष्ट पारेका छन् ।

वागमती लालबकैया नदीमा निर्माण एवं मर्मत भइरहेको स्थानहरुमा आयोजनाको प्राविधिकहरु, नेपाल प्रहरीको एसपी सिद्धिविक्रम शाह, सशस्त्र प्रहरीको एसपी सुर्यसेन बहादुर ओली, वृदल गणका गणपति कर्णेल राजन दाहाल, विपद् व्यवस्थापन समितिका कर्णेलसँगै संचारकर्मीहरुको टोलीले स्थलगत रुपमा अनुगमन निरीक्षण गरेको जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको छ । समयमा मर्मत तथा निर्माण कार्य सम्पन्न भएमा जिल्लामा बाढी र विपद्बाट धनमाल जोगाउन केही सजिलो हुने विश्वास व्यक्त गरिएको छ ।  

प्रकाशित: २७ जेष्ठ २०७८ १४:०७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App