१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

कोरोनाको कारण देखाउँदै जुम्ला बजारमा कालोबजारी

कोरोना भाइरसको कारण देखाउँदै जुम्ला बजारमा कालोबजारी बढेको छ । खाद्य बस्तुमा अत्यधिक मूल्यवृद्धि भएको र अखाद्य बस्तु किनबेच भइरहेको उपभोक्ताले गुनासो गरेका छन् । खाद्य बस्तु तथा खुद्रा सामग्रीमा मनपरी मूल्य लिने गरेको गुनासो बढेपछि चन्दननाथ नगरपालिकाले बजार अनुगमन गरेको छ । उपमेयर अप्सरादेबी न्यौपानेको नेतृत्वमा निस्किएको अनुगमन टोलीले होलसेल, खुद्रा पसल र हार्डंवयरमा अनुगमन गरेको थियो ।  

अनुगमनका क्रममा  बजारमा म्याद नाघेको खाद्यन्न सामग्री किनबेच भइरहेको भेटिएको थियो । 'कोरोनाका नाममा बढेको कालोबजारी रोक्न र मूल्यमा एकरुपता ल्याउन अनुगमन गरेका थियौँ,' उपमेयर न्यौपानेले भनिन्,'नागरिकको ढाड सेक्ने गरी कालोबजारी भएपछि अनुगमनमा निस्केका थियौँ । कालोबजारी रोक्न र मूल्यवृद्धि रोक्न आग्रह गरेका छौँ ।’

खाने तेल, चिनी, चामल दाल लगायतका दैनिक उपभोग्य बस्तुको मूल्यमा वृद्धि भएपछि नागरिक मर्कामा परेका थिए । कोरोनाका नाममा कृत्रिम अभाव देखाएर कालोबजारी गर्ने गरेको भेटिएको हो । उपमेयर न्यौपानेले भनिन्,‘बजारमा कालोबजारी नगर्न र मूल्यमा एकरुपता ल्याउन भनेका छौँ । अटेर गरेको खण्डमा कानुन अनुसार अघि बढ्ने छौँ ।’

खलंगामा रहेको ५ वटा ठूला डिलर, तरकारी पसल र हार्डवयर पसल अनुगमान गरिएको थियो । अनुगमनको क्रममा व्यापारी अनुशासित भेटिएनन् । उद्योग बाणिज्य संघका पदाधिकारीले नै म्याद सकिएको सामान बेच्ने गरेको भेटियो । उपमेयर न्यौपानेले थपिन्,‘उपभोक्ताको हकहितलाई मध्येनजर गर्दै अखाद्य बस्तुको किनबेच बन्द गर्नुपर्छ । अनुगमनमा निस्केको टोलीलाई राजनीतिक पूर्वाग्राहबाट हेरिनु हुदैन ।’

कतिपय ब्यापारीले म्याद नाघेको सामान जफत गर्न खोज्दा अनुगमन समिति आइलाग्ने गरेको अनुगमन समितिले जनाएको छ ।  डिलरहरु मूल्यमा एक रुपता भएको बताउँछन् । तर खुद्रा व्यापारी डिलरले महंगोमा बेच्ने गरेकोले महंगोमा उपभोक्तालाई बेच्नु परेको बताउँछन् । होलसेल व्यापारी र खुद्रा ब्यापारीबीचको तालमेल नमिलेको भेटिएको थियो ।  

डिलरमा खाने तेल बाहेकको मूल्य वृद्धि भएको छैन । चामल चिनी र ध्रुम्रपान तथा सूर्तिजन्य पदार्थको मूल्य बढेको छैन । अनुगमनका क्रममा बिपिन टेडर्स जुम्लाबाट ४४ वटा म्याद गएको इनामेल बरामद गरिएको थियो ।

कैलाश जनरल स्टोरबाट एक डिब्वा इनामेल, जुम्ला हार्डहेयरबाट म्याद गएको सामान बरामद गरिएको थियो । चिउरा र भुजा पनि बरामद गरिएको छ । कोरोना महामारीले नागरिक आक्रान्त भइरहेको बेला ब्यापारी मनपरी गर्न थालेको स्थानीय बताउँछन् ।

कृत्रिम अभाव सिर्जना गरी कालोबजारी गर्नेलाई कानुनी कार्वाही गर्छौँ । कोरोना महामारीको दोस्रो लहरको जोखिम भएको बेला बजारमा दैनिक उपभोग्य बस्तुमाथि कृत्रिम अभाव गराउनु मिल्दैन । कालोबजारी हुने काम रोक्न पहिलो पटक अनुगमन गरेको उपमेयर न्यौपानले बताइन् ।

अनुगमनमा अनुगमन समितिका संयोजक न्यौपाने, जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि, उद्योग बाणिज्य संघ, नेपाल प्रहरी, उपभोक्ता हकहित संरक्षण मञ्च, खाद्यप्रबिधि तथा गुणनियन्त्रण कार्यालयका प्रतिनिधि सहभागी थिए । यो अनुगमन शुरुवात भएको र अझौ पनि कृत्रिम अभाव सिर्जना गरेको, बढी मूल्यमा बेचेको पाइएमा तत्काल कानुनी दायरामा ल्याईने भएको हो ।

प्रकाशित: २५ जेष्ठ २०७८ ०६:२५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App