८ मंसिर २०८१ शनिबार
image/svg+xml
अर्थ

कोरोनाको दोस्रो लहरले अर्थतन्त्रमा अनिश्चितता: गभर्नर

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले कोभिड–१९ को दोस्रो लहरसँगै अनिश्चितता बढेको हुँदा अर्थतन्त्र थप चुनौतीपूर्ण हुँदै गएको धारणा राखेका छन्। 

भर्चुअल माध्यमद्वारा जेठ १० गते सञ्चालित एसियन क्लियरिङ युनियन, सञ्चालक समितिको ४९औं बैठकलाई सम्बोधन गर्दै गभर्नर अधिकारीले यस्तो धारणा राखेका हुन्। उनले भने, ‘कोभिडको अघिल्लो लहरबाट प्रभावित व्यापार, पर्यटन, यातायात, उत्पादन र निर्माण क्षेत्र विस्तारै पुनरुत्थानतर्फ उन्मुख हुँदै थियो। कोभिडको दोस्रो लहरका कारण मुलुकको समष्टिगत अर्थव्यवस्था फेरि अनिश्चिताततर्फ धकेलिएको छ।’

तथापि कोभिड प्रभावित अर्थतन्त्रको पुनरुत्थानको निम्ति थप प्रभावकारी नीतिगत व्यवस्था अवलम्बन गर्दै जाने योजनालाई नेपाल राष्ट्र बैंकले उच्च प्राथमिकतामा राखेको जानकारी गभर्नर अधिकारीले दिए। बैठकमा गभर्नर अधिकारीले कोभिड–१९ बाट प्रभावित अर्थतन्त्र र वित्तीय क्षेत्रलाई लक्षित दिशातर्फ अग्रसर गराउन राष्ट्र बैंकले गरेका विभिन्न नीतिगत व्यवस्थाबारे जानकारी गराएको राष्ट्र बैंकको विज्ञप्तिमा उल्लेख छ। 

कोभिड संक्रमण यताको अवधिमा तरलताको सहजीकरण, ब्याजदर कटौती, अतिरिक्त चालु पुँजी कर्जाको सुविधा, कर्जाको पुनर्संरचना–पुनर्तालिकीकरण, कर्जाको सावाँ–ब्याज भुक्तानीको समयसीमा बढाउने जस्ता नीतिगत सहुलियत उपलब्ध गराइएको उनले जानकारी गराए।

कोभिड–१९ बाट प्रभावित उद्योग, व्यवसाय, साना तथा मझौला उद्यमको उत्थानको निम्ति कर्जामा सहुलियत दिनेगरी पुनर्कर्जा सुविधालाई परिमार्जन गरिएको र पुनरकर्जा कोषको सीमा बढाएर पाँच गुणासम्म पुनरकर्जा सुविधा उपलब्ध गराउन सक्ने गरी आवश्यक व्यवस्था मिलाइएको जानकारी गभर्नर अधिकारीले दिए। साथै, कोभिडबाट प्रभावित पर्यटनसँगै घरेलु, साना र मझौला व्यवसायमा जनशक्तिको तलब–ज्याला भुक्तानीको निम्ति नेपाल सरकारको सहयोगमा छुट्टै ५० अर्ब रुपैयाँको कोष बनाइएको जानकारी उनले दिए।

सो अवसरमा गभर्नर अधिकारीले विद्युतीय भुक्तानी प्रणालीलाई विस्तार गर्दै नगदरहित कारोबारलाई स्थापित गर्ने दिशातर्फ अग्रसर हुनुपर्ने आवश्यकतामा जोड दिए। उनले भने, ‘विद्युतीय भुक्तानी सम्बन्धी नीतिगत व्यवस्था र पूर्वाधार विकासका कारण बन्दाबन्दी र निषेधाज्ञाको असहज अवस्थामा मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, क्युआर कोड, कनेक्ट आइपीएस लगायतका विद्युतीय माध्यमबाट उत्साहजनक कारोबार भएका छन्। यसलाई हामीले अझ व्यापक बनाउनुपर्ने आवश्यकता छ।’

साथै, उनले नेपालको समष्टिगत अर्थतन्त्र र वित्तीय क्षेत्रको पछिल्लो आँकडाहरूसमेत कार्यक्रममा प्रस्तुत गरेका थिए। रिजर्भ बैंक अफ इन्डिया (आरबिआई)ले उक्त भर्चुअल बैठक आयोजना गरेको हो। बैठकका अवसरमा युनियनमा आबद्ध केन्द्रीय बैंकका तर्फबाट आ–आफ्नो मुलुकको समष्टिगत आर्थिक तथा वित्तीय स्थितिसँगै कोभिड–१९ को असरलाई न्यूनीकरण गर्न अवलम्बन गरिएका नीतिगत व्यवस्थासम्बन्धी विवरण प्रस्तुत गरिएको थियो।

प्रकाशित: १२ जेष्ठ २०७८ ०१:४८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App