१६ जेष्ठ २०८१ बुधबार
image/svg+xml
अर्थ

बानेश्वर आकाशे पुलको सुपरस्ट्रक्चर राख्न थालियो

सरकारले काठमाडौं उपत्यकामा सवारी साधनको अत्यधिक चापको कारण पैदलयात्रुलाई बाटो काट्न सहज हुने गरी बानेश्वर र कोटेश्वर चोकमा २०७५ चैतमा आकाशे पुल निर्माण गर्ने योजना अघि सारेको थियो। ठेक्का सम्झौता अनुसार दुवै ठाउँमा २०७६ पुस मसान्तभित्रै आकाशे पुल निर्माण सम्पन्न हुनुपथ्र्याे।  

तर ठेकेदार कम्पनीले कोभिड–१९ को बहाना गरे म्याद गुज्रिएको झण्डै डेढ वर्षपछि बानेश्वर चोकमा पुल निर्माणको काम अघि बढाएको छ। ठेकेदार कम्पनीले बानेश्वर चोकमा पुलको जग तथा पिलर राख्ने लगायतको संरचना तयार पारेर अलपत्र छाडेको थियो। कोभिड–१९ को दोस्रो लहरले उपत्यकामा निषेधाज्ञा भएको अवसर छोपेर उसले पुलको माथिल्लो भागमा स्टिल ट्रस राख्ने काम सुरु गरेको छ। सडक डिभिजन कार्यालय काठमाडौंका प्रमुख कुबेर नेपालीले लामो समयदेखि रोकिएको बानेश्वर आकाशे पुलको माथिल्लो भागमा स्टिल ट्रस राख्ने काम सुरु भएको बताए।

‘पुलको जग तथा पिलर राख्ने काम भएसँगै ट्रसको स्ट्रक्चर डिजाइन परिवर्तन भयो,’ उनले भने, ‘एकातर्फ डिजाइन परिर्वतन र अर्काेतर्फ कोभिड महामारीको कारणले भएको लकडाउन तथा निषेधाज्ञाले काममा केही ढिलासुस्ती भयो।’ प्रमुख नेपालीले अहिले बानेश्वर चोकमा निर्माणाधीन आकाशे पुलको माथिल्लो भागमा ट्रस फिटिङ गरेर जडान गर्ने काम भइरहेको बताए। ‘अहिले स्टिल ट्रस फिटिङको काम भइरहेको छ,’ उनले भने, ‘सम्भवतः जेठ महिनाभित्रै सम्पन्न गर्ने गरी काम भइरहेको छ।’  

२०७५ चैतमा बानेश्वर चोक र कोटेश्वर चोक दुवैमा पुल निर्माण गर्ने ठेक्का पवन/प्रकृति जेभीले पाएको थियो। बानेश्वर चोकको पुलको ठेक्का सम्झौता दुई करोड चार लाख रूपैयाँमा भएको थियो। उक्त पुलको लम्बाइ ३८ मिटर छ। ठेक्का सम्झौताअनुसार बानेश्वर र कोटेश्वर चोकको व्यस्त सडकमा २०७६ पुस मसान्तभित्रै आकाशे पुल बनिसक्नुपर्ने थियो।  

कोटेश्वरको नबन्ने भो

कार्यालयले बानेश्वर र कोटेश्वर दुवै चोकमा आकाशे पुल निर्माण गर्ने गरी ठेक्का सम्झौता गरेको थियो। कोटेश्वर चोकमा अहिलेसम्म जगको कामसमेत सुरु भएको छैन। कोटेश्वर चोकमा निर्माण गर्न खोजिएको पुल भ्याटसहित दुई करोड ८९ लाख रूपैयाँ लागतको हो। तर कोटेश्वर चोकमा सुरुआती चरणमा काठमाडौं महानगरपालिका वडा नं ३२ र स्थानीयको अवरोधले पुलको जग खन्ने काम समेत हुन पाएको थिएन। 

पछिल्लो समय नागरिक उड्डयन प्राधिकरणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग नजिकै पुल निर्माण गर्दा विमान उडानमा समस्या पर्ने भन्दै आएकाले अन्तिम समयमा उक्त पुल नबन्ने भएको छ। प्रमुख नेपालीले स्थानीयबासी र प्राधिकरणको अवरोधले कोटेश्वर चोकमा आकाशे पुल नबन्ने लगभग पक्का जस्तै भएको बताए। ‘अबको केही समयभित्रै पुल निर्माणको ठेक्का तोड्ने प्रक्रिया अघि बढाउँदैछौं,’ उनले भने।

प्रकाशित: ७ जेष्ठ २०७८ ०२:०० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App