१५ चैत्र २०८० बिहीबार
अर्थ

दोस्रो लहरको कोराना असर: ब्याजदर घटाउँदै बैंक

केही दिनअघि एनआइसी एसिया बैंकले नयाँ ब्याजदर सार्वजनिक गर्‍यो। यसै महिनादेखि लागू हुने गरी सार्वजनिक गरिएको निक्षेप र मुद्दतीको ब्याजदर अघिल्लो महिनाभन्दा कम छ। उक्त बैंकले बचतमा १.५२ प्रतिशत ब्याज दिने घोषणा गरेको छ। त्यस्तै मुद्दती निक्षेपमा ६.५ प्रतिशतसम्म ब्याज दिने सूचनामा उल्लेख छ।  

त्यस्तै ‘क’ वर्गकै मेगा बैंकले बचतमा २.७५–३.५० प्रतिशतसम्म ब्याजदर निर्धारण गरेको सूचना सार्वजनिक गरेको छ। जुन ब्याजदर यसअघिको भन्दा कम हो। साथै व्यक्तिगत मुद्दतीमा अधिकतम ७.२५ प्रतिशतसम्म ब्याज दिने भनिएको छ।  

जेठ लागेसँगै वाणिज्य बैंकहरूले नयाँ ब्याजदर सार्वजनिक गर्न थालेका छन्। तर अधिकांशले अघिल्लो महिनाको तुलनामा ब्याजदर घटाएका छन्। कोरोना महामारी सुरु हुनुभन्दाअघिको अवस्था भने फरक हुने गथ्र्यो। त्यतिबेला बैंक तथा वित्तीय संस्थालाई तरलताको चरम अभाव हुन्थ्यो।  

अहिले बैंकहरूसँग तरलता अभाव हुनु त कता हो कता भएकै निक्षेप पनि लगानी गर्न हम्मे परिरहेको छ। यद्यपि बैंक तथा वित्तीय संस्थाहरूको प्रगति प्रतिवेदन हेर्ने हो भने अघिल्लो वर्षको तुलनामा निक्षेप र कर्जा लगानी वृद्धि गरेको पाइन्छ। बैंकका सिइओहरूका अनुसार यतिखेर पर्याप्त तरलता हुनुका मुख्य कारणमा नेपाल राष्ट्र बैंकले कोराना प्रभावित व्यवसायीलाई लक्षित गरी ल्याइएको पुनर्कर्जा कार्यक्रमले सघाउ पुर्‍याइरहनु हो।  

केन्द्रीय बैंकले चालु आर्थिक वर्षको सुरुमा ल्याएको मौद्रिक नीतिमार्फत कोरोना महामारीको असर खेपेका व्यवसायीलाई सहुलियत दरमा कर्जा प्रदान गर्न पुनर्कर्जा कोषमा रहेको ४२ अर्ब रूपैयाँको पाँच गुणासम्म पुनर्कर्जा लिन पाउने व्यवस्था मिलाएको थियो।  

उक्त रकममध्ये अहिलेसम्म करिब सवा खर्ब रूपैयाँ व्यवसायीले प्राप्त गरिसकेका छन्। पुनर्कर्जामार्फत अझै पनि करिब एक खर्ब रूपैयाँ प्रवाह हुन सक्ने र आर्थिक वर्ष पनि सकिनै लागेकाले बैंकिङ च्यानलमा तरलता थपिने बैंकरहरूको अनुमान छ। ‘एकातिर अहिले नै बैंकिङ च्यानलमा पर्याप्त तरलता छ भने अर्कोतर्फ आर्थिक वर्ष पनि सकिँदैछ,’ एक बैंकका सिइओले नागरिकसँग भने, ‘त्यसैले धेरै बैंक निक्षेपको ब्याजदर घटाउन बाध्य भएका हुन्।’ नेपालमा आर्थिक वर्षको अन्त्यमा धेरै पुँजीगत खर्च हुने प्रचलन यसपटक पनि कायमै छ।  

ती सिइओका अनुसार यतिखेर नै कोरोना भाइरसको दोस्रो लहर सुरु भएका कारण लगानीमा समस्या हुने हो कि भन्ने आशंका पनि बढेको छ। पहिलो लहरको महामारी सामान्यीकरण हुँदै गर्दा बैंकहरूले कर्जा प्रवाहलाई तीव्रता दिएका थिए। पहिलो लहरको कोरोना महामारीमा त्रास फैलँदा बैंकिङ च्यानलमा दुई सय अर्ब रूपैयाँसम्म तरलता थुप्रिएको थियो, जुन तरलतालाई राष्ट्र बैंकले पटकपटक प्रशोचन समेत गर्नु परेको थियो।  

यतिखेर बैंकिङ च्यानलमा करिब ३० अर्ब रूपैयाँ तरलता छ। कतिपय बैंकरहरू दोस्रो लहरको महामारी सुरु नभएको भए यतिखेरसम्म तरलता अभाव भइसक्ने अनुमान गर्छन्। नेपाल बैंकर्स संघका अनुसार वैशाख ३१ सम्म सबै वाणिज्य बैंकहरूले ३९ खर्ब ५५ अर्ब रूपैयाँ संकलन गरी ३६ खर्ब ११ अर्ब रूपैयाँ कर्जा लगानी गरेका छन्।  

चैत ३१ सम्मको तुलनामा निक्षेप ११ अर्ब रूपैयाँले र कर्जा ३८ अर्ब रूपैयाँले बढी हो। संघका अनुसार पछिल्लो एक सातामा वाणिज्य बैंकहरूको निक्षेप २२ अर्ब रूपैयाँले बढ्दा कर्जा दुई अर्ब रूपैयाँले मात्र बढेको छ। वैशाख २४ सम्म वाणिज्य बैंकहरूले ३९ खर्ब ३३ अर्ब रूपैयाँ निक्षेप संकलन गरी ३६ खर्ब ९ अर्ब रूपैयाँ कर्जा प्रवाह गरेकोमा वैशाख ३१ सम्म ती बैंकले ३९ खर्ब ५५ अर्ब रूपैयाँ निक्षेप संकलन गरी ३६ खर्ब ११ अर्ब रूपैयाँ कर्जा लगानी गरेका हुन्।  

दोस्रो लहरको कोरोना महामारी सुरु भएपछि कर्जाको माग पनि कम हुँदै गएको बताइन्छ। सरकारले महामारी नियन्त्रणका लागि वैशाख १६ देखि देशका अधिकांश जिल्लामा निषेधाज्ञा लगाइएको छ। यसले गर्दा बैंकलाई सहज रूपमा सञ्चालन हुन कठिन भइरहेको छ। बैंकका कैयौं कर्मचारी कोरोना संक्रमित छन्। केही दिनअघि संघले विज्ञप्ति प्रकाशित गरी ५० हजार रूपैयाँभन्दा कम नगद निक्षेप नलिने घोषणा गर्नुले पनि बैंकिङ च्यानलमा पर्याप्त तरलता छ भन्ने बुझ्नुपर्ने बैंकरहरूको भनाइ छ।  

पछिल्लो घोषणा अनुसार अधिकांश बैंकहरूले अघिल्लो महिनाको तुलनामा मुद्दती निक्षेपमा त्यत्ति धेरै ब्याजदर नघटाए पनि बचतको ब्याजदरमा भने व्यापक कटौती गरेका छन्। नेपाल एसबिआई बैंकले बचतको ब्याज २.५५ प्रतिशत तोकेको छ। उक्त बैंकले व्यक्तिगत मुद्दतीमा अधिकतम ७.५० प्रतिशतसम्म ब्याज दिने घोषणा गरेको छ।  

उता बचतमा १.५१ देखि ३.५१ प्रतिशतसम्म ब्याज दिने घोषणा गरेको नबिल बैंकले व्यक्तिगत मुद्दतीमा ६.५१ प्रतिशतसम्म ब्याज दिने जनाएको छ। वाािण्ज्य बैंकहरूले प्रकाशित गरेको विवरण अनुसार कतिपयले बचतमा साढे एक प्रतिशत मात्र ब्याज दिने उल्लेख गरेका छन्। त्यस्तै यसअघि सर्वाधिक राम्रो ब्याज दिने गरिएको व्यक्तिगत मुद्दतीमा पनि अधिकांश बैंकले वार्षिक ७.७५ प्रतिशतभन्दा बढी ब्याज नदिने घोषणा गरेका छन्।  

अहिलेसम्म ब्याजदर सार्वजनिक गरेका बैंकमध्ये सबभन्दा बढी एभरेस्ट बैंकले व्यक्तिगत मुद्दतीमा सबभन्दा बढी ८.२५ र एनसिसीले ८ प्रतिशत ब्याज दिने घोषणा गरेका छन्। तीबाहेक अधिकांश बैंकले दिने व्यक्तिगत मुद्दतीको वार्षिक ब्याजदर ७.७५ प्रतिशतभन्दा कम छ।  

कोरोना महामारी सुरु हुनुअघिसम्म बैंकहरूले व्यक्तिगत मुद्दती निक्षेपमा १३ प्रतिशत हाराहारी र बचतमा कम्तीमा चार प्रतिशतसम्म ब्याजदर दिने गरेका थिए। यतिखेर बैंकहरूले दिने ब्याजदर मूल्यवृद्धिभन्दा कम भएको निक्षेपकर्ताको गुनासो छ। सामान्यतयाः मूल्यवृद्धि अनुसार बैंकहरूले ब्याजदर निर्धारण गर्ने विश्वव्यापी चलन छ।

प्रकाशित: ६ जेष्ठ २०७८ ०३:५४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App