२५ वैशाख २०८१ मंगलबार
image/svg+xml
अर्थ

रानीझरनामा पाँच सय सिट क्षमताको क्यानोनिङ रिसर्च सेन्टर बन्ने

थाक्रेमा बन्न लागेको सेमिनार हलसहितको क्यानोनिङ रिसर्च सेन्टरको शिलान्यास गरिँदै।

धादिङको थाक्रे गाउँपालिका वडा नं. ६ स्थित रानीझरना क्षेत्रमा पाँच सय सिट क्षमताको सेमिनार हलसहितको क्यानोनिङ रिसर्च सेन्टर बन्ने भएको छ। नेपाल सरकारको सय नयाँ गन्तव्यको सूचिमा समावेश भई पर्यटन पूर्वाधार निर्माण कार्य भइरहेको रानीझरना क्षेत्रमा क्यानोनिङ रिसर्च सेन्टर बन्न लागेको हो। पाँच करोड रुपैयाँ लागत अनुमानमा बोलपत्र आव्हान गरिएको सो भवन ४ करोड ७ लाख रुपैयाँमा गौरेश्वर निर्माण सेवा प्रा.लि. र आएनसी जेभिले निर्माणको जिम्मा पाएको छ।  

नेपाल सरकारको विशेष अनुदानमा निर्माण गर्न लागिएको सो भवनको गाउँपालिकाद्धारा आयोजित कार्यक्रममा धादिङ क्षेत्र नं. १ का सांसद भुमि त्रिपाठीले शिलान्यास गरेका छन्। ‘शिलान्यास कार्यक्रममा प्रमुख अतिथि सांसद त्रिपाठीले कोभिडका बीचमा पनि विकास निर्माणका कामहरु नरोकिकन अगाडी बढाइएको बताए। ‘हामी समृद्धिको यात्रामा छौं’ सांसद त्रिपाठीले भने, ‘जस्तोसुकै प्रतिकुल अवस्था भए पनि अनुकुलता खोज्दै अगाडी बढ्नु नै उत्तम उपाय हो।’  

क्यानोनिङ नयाँ गन्तव्यको रुपमा धादिङको थाक्रे गाउँपालिकाको वडा नं. अवस्थित छाँगो हो। एकै स्थानमा रहेको तीन वटा फरक फरक शैलीको सुन्दर छाँगालाई क्यानोनिङ गन्तव्यको रुपमा लिइएको छ। हिउँद याममा समेत पर्याप्त पानी भएको पहिलो झरना २५ मिटर उचाईमा रहेको छ। क्यानोनिङका लागि अति उत्तम रहेको सो झरना परापुर्व कालदेखि स्थानीयले गर्मियाममा पौडी खेलेर आनन्द लिने सुन्दर पोखरी (दह) समेत छ। करिव ४० मिटर लम्बाई, १० मिटर चौडाई र ३ मिटर गहिराइई दह भएको सो स्थान वरिपरी प्रकृतिले कोरेका सुन्दर आकृति युक्त पहराको बीचमा अवस्थित छ।  

दोस्रो झरना ९ मिटर उचाईमा उस्तै किसिमको दह भएको जम्पिङका निम्ति उपयुक्त झरना हो। बालबालिका र युवायुवतीका लागि स्वीमिङ गर्न यहाँ पर्याप्त स्थान छ। तेस्रो झरना एकान्तमा आनन्दमयी झरना हो। यहाँ जम्पिङ, स्वीमिङ, क्यानोनिङ सबै किसिमका खेल र मनोरञ्जन लिन सकिन्छ। एकान्त र शान्त वातावरण चाहने जो कोहीलाई घण्टौं हैन हप्तौंसम्म आकर्षित गर्दछ। एउटा डोरीको भरमा छाँगाबाट झरेर मज्जा लिन सकिने रानीझरना पृथ्वीराजमार्गको महादेवबेसी बजारबाट ५ किमी कच्ची सडकको दूरीमा पर्छ।  

थाक्रे गाउँपालिकाका अध्यक्ष रामकुमार आचार्यले थाक्रेको गौरवको परियोजना भएकोले समृद्धिसंग जोडेर अगाडी बढाइरहेको बताए। ‘आज खाली जमिनमा निर्माण भइरहेका परियोजना मात्र हेर्दा केही नदेखिन सक्छ’ अध्यक्ष आचार्यले भने, ‘भोलि यो निर्माण सम्पन्न भइसकेपछि समृद्धिसंग जोडिन थालेपछि सबैको आकर्षण बन्नेछ र यसले यहाँ रोजगारी र स्वरोजगार सृजना गर्नेछ।’  

साहसिक खेलको रुपमा रहेको क्यानोनिङ (छाँगावरोहण) को मज्जा दिई पर्यटक लोभ्याउन गाउँपालिकाले प्राथमिकताका साथ अघि बढाएको छ। स्वदेशी र विदेशी पर्यटक आकर्षित गर्ने खेलका रूपमा उदाएको अग्ला झरनाबाट झरिने क्यानोनिङ (छाँगावरोहण) युवा युस्ताका लागि पर्वतीय पर्यटन, आधुनिक र एडभेन्चर स्पोस्र्टको नयाँ विधाका रूपमा नेपालमा स्थापित भइसकेको छ। यस परियोजनाले यहाँका मानिसहरुको जिवनस्तर उकासिने र बेरोजगारले रोजगारी आफ्नै गाउँमा पाउने बताइएको छ।

प्रकाशित: ४ जेष्ठ २०७८ १०:५३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App