९ मंसिर २०८१ आइतबार
image/svg+xml
अर्थ

एक सय ७० आरोही सगरमाथा शिखरमा

गत वर्ष कुनै आरोहण हुन नसकेको सगरमाथाको चुचुरोमा बुधबारसम्म एक सय ७० जनाले पाइला टेकेका छन्। यकिन विवरण आउन बाँकी रहेकाले उक्त संख्यामा केही घटबढ हुन सक्ने पर्यटन विभागले जनाएको छ।

सन् २०१९ को यसै सिजनमा मे १४ मा डोरी टांग्ने काम सम्पन्न भएको थियो। यो वर्ष भने १४ मेअघि नै उक्त संख्यामा आरोही सगरमाथा आरोहण सम्पन्न गरेर फर्कने क्रममा छन्। यो वर्षको पहिलो विन्डअगावै आरोहण क्षेत्रमा भएको सफलतालाई विभागले पछिल्ला वर्षहरूको तुलनामा निकै ठूलो मानेको छ। बिहीबारदेखि सगरमाथाको मौसम बिग्रिएकाले अब १९ तारिखबाट मात्र पुनः आरोहण सुरु हुने पनि विभागले जनाएको छ।  

यो वर्षको पहिलो अन्तर्राष्ट्रिय आरोही भने बहराइनका राजकुमार मोहम्मद हमाद मोहम्मद अल खलिफासहितको टोली बनेको थियो। उक्त टोली सगरमाथाको उचाइ बढेयताकै पहिलो टोलीसमेत हो। कोरोना महामारीको दोस्रो लहरबीच चीनतर्फबाट सगरमाथाको आरोहण बन्द भएपछि यो वर्ष नेपालबाट आरोहण गर्ने आरोहीको संख्या बढेको विभागको भनाइ छ। महामारीको पहिलो लहरले गत वर्ष कुनै आरोहण हुन नसकेको सगरमाथामा दोस्रो लहरले भने कुनै असर नगरेको सगरमाथा आधार शिविरबाट बिहीबार राजधानी फर्किएकी विभागकी निर्देशक मिरा आचार्यले बताएकी छन्। 

उनका अनुसार यो सिजनमा दुईजना विदेशीले सगरमाथा क्षेत्रमा ज्यान गुमाएका छन्। ज्यान गुमाएउनेमा स्विस नागरिक अब्दुल वारैच र अमेरिकी नागरिक पुवेई लिउ रहेका छन्। यसपालिको बसन्त याममा सगरमाथामा आरोहीको मृत्यु भएको यो पहिलोपटक हो। उनीहरू सेभेन समिटको व्यवस्थापनमा सगरमाथा आरोहणमा रहेका थिए। मृतकमध्ये एकजनाले आरोहण सकेर फर्कंदा थकान मेट्न बसेकै ठाउँ (साउथ कोल)मा ज्यान गुमाएका हुन्। अर्का आरोहीको स्नो ब्लाइन्ड (आँखा नदेख्ने) समस्याबाट ज्यान गएको जनाइएको छ। उनी हिलारी स्टेपसम्ममात्र पुग्न सकेको सेभेन समिटले जनाएको छ। स्नो ब्लाइन्ड भएका आरोहीलाई शेर्पाहरूको समूहले क्याम्प ४ सम्म ल्याउँदा ल्याउँदै उनको मृत्यु भएको हो। क्याम्प दुईसम्म भने हेलिकप्टर अवतरण हुने गरेको छ।  

निर्देशक आचार्यका अनुसार सगरमाथामा कोभिड १९ सँग मिल्ने लक्षणसहितका विमारी भेटिए पनि हालसम्म संक्रमणकै कारण कसैको ज्यान गएको छैन। ‘अहिले देशभर कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या बढ्दै गएको देखिन्छ। तर सगरमाथामा क्षेत्रमा भने सञ्चार माध्यममा भनिए जस्तै संक्रमणको खतरा कत्ति पनि छैन,’ उनले भनिन्, ‘अहिले अझै केही दिन आधार शिविरमै बस्न पाएको भए सुरक्षित हुने थियो कि भन्ने आभाष भएको छ।’

तर आरोहणसँग सम्बन्धित एक संस्थाका अनुसार सगरमाथा क्षेत्रमा थुप्रै आरोहीमा संक्रमण देखिएको र उनीहरू केही आधार शिविरमै आवश्यक सावधानीसहित निको भएको र केही राजधानी आएर उपचारपछि पुनः आरोहणको लागि हिमाली क्षेत्रमा पुगिसेकेका जनाइएको छ। हालसम्म २० जनाभन्दा बढी आरोहीमा संक्रमण पुष्टि भए पनि केही संक्रमणमुक्त भइसकेका र केही अपचारकै क्रममा रहेको स्रोतले जानकारी दियो।

खोकी, ज्वरो र जिउ दुख्ने जस्ता कोरोनासँग मिल्दोजुल्दो लक्षण भएका आरोहीलाई उचित स्वास्थ्य मापदण्डको आधारमा बेस क्याम्प मै एकान्तबासको व्यवस्था गरिएको र अघिल्ला वर्षजस्तै एक अर्काको टेन्टभित्र प्रवेशमा कडाइ गरिएका कारण सगरमाथा क्षेत्रमा कोरोनाको डर शून्य रहेको निर्देशक आचार्यले बताइन्। ‘अधिल्ला वर्षमा गाइड शेर्पा, भरियाहरू आधार शिविर क्षेत्रमा रमाइलो गर्ने, पुराना सम्झानाहरू साटासाट गर्ने हुन्थ्यो। यो वर्ष भने त्यस्ता कार्यलाई निरुत्साहित गरिएको र स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गरिएकाले आरोहण व्यवस्थित नै देखिएको छ,’ उनले भनिन्। कोरोना महामारीका कारण हाल देशभर अक्सिजनको अभाव देखिए पनि आरोहणमा भने अक्सिजनको कुनै अभाव नरहेको जनाइएको छ।

यो वर्ष सगरमाथा आरोहण गर्न ४३ समूहका चार सय आठजनाले अनुमति लिएका छन्। यसमा ९३ महिला र तीन सय १५ पुरुष छन्। यस वर्षको वसन्तयामको हिमाल आरोहणमा ७९ देशका ८६ आरोही समूहमा जम्मा सात सय ७४ जनाले अनुमति लिएका छन्। यो सिजन आरोहणका लागि अन्यभन्दा सुरक्षित मानिने भएकाले आरोहीको आगमनसमेत बढी हुने र हिमाली दस्तुरसमेत बढी संकलन हुने गरेको छ। वसन्त ऋतुमा हिमाल आरोहण गर्दा सबैभन्दा बढी दस्तुर तिर्नुपर्छ।  

यो वर्ष हिमाल आरोहणबाट हालसम्म ७१ करोड ४८ लाखभन्दा बढी रोयल्टी संकलन भएकोे छ। सगरमाथाबाट मात्रै ६६ करोडभन्दा बढी रोयल्टी जम्मा भएको जनाएको छ। यो सिजन आरोहणको लागि सबैभन्दा अनुकूल हुने भएकाले सगरमाथासहित विभिन्न हिमालमा स्वदेशी तथा विदेशी आरोहीले सर्वाधिक आरोहण अनुमति लिने गरेका छन्। यो सिजनमा सगरमाथा, अन्नपूर्ण, मनास्लु लगायत हिमाल आरोहीको रोजाइ हुने गरेका छन्। 

प्रकाशित: ३१ वैशाख २०७८ ०३:२७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App