१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

गोदावरीमा तीन हजार क्षमताको सिटी हल तयार

ललितपुरको गोदावरीमा निर्माणाधीन तीन हजार सिट क्षमताको सभाहल तोकिएको समयभन्दा एक वर्ष ढिलो सम्पन्न हुने तर्खरमा पुगेको छ। ४३ रोपनी १५ आना क्षेत्रफलमा फैलिएको हलको निर्माण सम्पन्न भएपछि ठूला खालका अन्तर्राष्ट्रिय सभा, सम्मेलन र प्रदर्शनी गर्न सकिनेछ।’

संघीय सरकारले गोदावरीमा अन्तर्राष्ट्रिय स्तरको सभाहल २०७६ चैतभित्रै निर्माण सम्पन्न हुने गरी ठेक्का सम्झौता गरेको थियो। तर कोभिड १९ र ठेकेदार कम्पनीको ढिलासुस्तीले तोकिएको समयभन्दा एक वर्ष ढिला निर्माण सम्पन्न हुने अवस्थामा आइपुगेको हो। यो सिटी हल निर्माणको लागि केसी/समानान्तर जेभी र सहरी विकास तथा भवन विभागबीच २०७६ कात्तिक २० गते ठेक्का सम्झौता भएको थियो। विभागले २०७६ चैत २४ गतेभित्रै निर्माण सम्पन्न गर्ने लक्ष्य राखेको थियो। विभागका सिनियर डिभिजनल इन्जिनियर मचाकाजी महर्जन सिटी हलको निर्माण लगभग सकिएको बताउँछन्। ‘निर्माण सकिइसकेको छ। अहिले फिनिसिङ र फाइनल टच दिने काम भइरहेको छ,’ उनले भने, ‘हलभित्र कार्पेट र कुर्सी राख्ने काम तीव्र गतिमा भइरहेको छ।’  

सिनियर डिभिजनल इन्जिनियर महर्जनले ठेकेदार कम्पनीको ढिलासुस्ती र कोभिड १९ को रोकथाम तथा नियन्त्रणको लागि गरिएको लकडाउनले सिटी हल निर्माण कार्य एक वर्षभन्दा धेरै पछि धकेलिएको बताए। ‘पाँच महिनाभित्रै निर्माण सम्पन्न गर्ने गरी ठेक्का सम्झौता गरिएको थियो,’ उनले भने, ‘कोभिड १९ र ठेकेदार कम्पनीको ढिलासुस्तीले करिब एक वर्षपछि निर्माण सम्पन्न हुन लागेको हो।’  

अहिले सिटी हलको भौतिक प्रगति ९८ प्रतिशत छ। हलमा कुर्सी तथा कार्पेट र बाहिरी सजावटको काम भइरहेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले वैशाख ३१ मा हल उद्घाटन गर्ने कार्यक्रम तय गरिएको छ। प्रधानमन्त्री ओली धरहरा जस्तै सिटी हल पनि निर्माण सम्पन्न नहुँदै उद्घाटन गर्न हतारिएका छन्। स्रोतका अनुसार सिटी हलको बाहिरी सौन्दर्यीकरणको काम अहिलेसम्म सकिएको छैन। इन्जिनियर महर्जन भने उद्घाटनअघिसम्म सबै संरचना तयार हुने दाबी गर्छन्। अहिले दैनिक तीन सयभन्दा धेरै कामदार खटिएर काम गरिरहेका छन्।  

सुरुआती चरणमा पाँच महिनाभित्रै निर्माण सम्पन्न हुने गरी भ्याटसहित ६५ करोड ७४ लाख रूपैयाँमा निर्माण सक्ने लक्ष्य राखिएको थियो। अहिले लागत ८० करोड रूपैयाँभन्दा माथि पर्ने भएको छ। विभागका अधिकारी डिजाइन तथा उपकरण थप गरिएकाले लागत बढेको दाबी गर्छन्।

सिटी हलमा दुईवटा भिभिआइपी कक्ष समेत निर्माण गरिएको छ। हलको निर्माण २०७६ कात्तिक २० गते सुरु गरिएको हो। सुरुआती चरणमा पाँच महिनाभित्रै निर्माण सम्पन्न हुने गरी भ्याटसहित ६५ करोड ७४ लाख रूपैयाँमा निर्माण सक्ने लक्ष्य राखिएको थियो। अहिले लागत ८० करोड रूपैयाँभन्दा माथि पर्ने भएको छ। विभागका सिनियर डिभिजनल इन्जिनियर महर्जन डिजाइन तथा उपकरण थप गरिएकाले लागत बढेको दाबी गर्छन्। ‘सिटी हलको पुरानो डिजाइनमा लिफ्ट र जेनेरेटर लगायतका उपकरण राखिएको थिएन,’ उनले भने, ‘अहिले ती उपकरण लगायत अन्य सामग्री थप गरिएकाले लागत वृद्धि भएको हो।’

सहरी विकासमन्त्री प्रभु शाहले गत शुक्रबार सिटी हल निर्माण कार्यको अवलोकन गर्दै जतिसक्दो छिटो सक्न ठेकेदार कम्पनी र आयोजनाका अधिकारीलाई निर्देशन दिएका थिए। गोदावरी नगरपालिका, वडा नम्बर ३ मा सिटी हल छ। यो हल ४३ रोपनी १५ आना क्षेत्रफलमा फैलिएको छ। सटी हलको भौतिक संरचनाले ११ रोपनी १३ आना जग्गा ओगटेको छ। ‘अहिलेसम्म ठूला खालका अन्तर्राष्ट्रिय सम्मेलन गर्न हलको अभाव छ,’ सिनियर डिभिजनल इन्जिनियर महर्जनले भने, ‘सिटी हल निर्माण भएसँगै अब अन्तर्राष्ट्रिय स्तरको सार्क सम्मेलन, बिमस्ेटक लगायतका अन्तराष्ट्रिय सभा, सम्मेलन तथा प्रदर्शनी गर्न सकिनेछ।’

प्रकाशित: २८ वैशाख २०७८ ०२:५७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App