१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

जलविद्युत्, क्रसर र ग्रिल व्यवसायीले सरकारलाई अक्सिजन सिलिन्डर दिने

कोभिड–१९ को दोस्रो लहरको संक्रमण बढेसँगै मुलुकभर देखिएको अक्सिजन सिलिन्डरको चर्काे अभावलाई ध्यानमा राख्दै उद्योगी तथा व्यावसायिक प्रतिष्ठानले आफूसँग भएका सिलिन्डर धमाधम सरकारलाई उपलब्ध गराउने घोषणा गरेका छन्। उपत्यकासहित देशभरका अस्पतालले अक्सिजनको अभाव देखाउँदै बिरामी भर्ना गर्न आलटाल गरेपछि क्रसर उद्योगी, ग्रिल व्यवसायी तथा जलविद्युत् आयोजनाका प्रवद्र्धक कम्पनीले आफ्नो निर्माण क्षेत्रमा प्रयोगमा रहेका अक्सिजन सिलिन्डर सरकारलाई उपलब्ध गराउने घोषणा गरेका हुन्।

नेपाल क्रसर तथा खानी उद्योग व्यवसायी महासंघले कोभिड–१९ को दोस्रो लहरले स्वास्थ्य संकट देखापरेका भन्दै व्यवसायी मातहत रहेका अक्सिजन सिलिन्डर सरकारलाई उपलब्ध गराउने घोषणा गरेको छ। महासंघका महासचिव पुरुषोत्तम रेग्मीले देशभर अहिले ६ सय क्रसर व्यवसायीसँग ३५ सयभन्दा धेरै अक्सिजन सिलिन्डर रहेकाले नजिकको स्थानीय सरकार, प्रदेश वा अस्पतालसँग समन्वय गरेर वितरण गर्न अनुरोध गरेको बताए।

‘मुलुकले अहिले गम्भीर स्वास्थ्य संकट भोगिरहेको अवस्था छ। केही दिन क्रसर उद्योग बन्द गरेरै भए पनि मानवीय जीवन बचाउनुपर्ने अवस्था भएकाले सबै व्यवसायीलाई सिलिन्डरको रेकर्ड राखेर सरकारलाई बुझाउने काम भइरहेको छ।’ महासंघले क्रसर तथा खानी उद्योगले आ–आफ्नो उद्योगमा रहेका अक्सिजन ग्यासको रित्ता र भरी सिलिन्डरको रेकर्ड राखेर नजिकको स्थानीय तहमार्फत नेपाल सरकारलाई उपलब्ध गराउन निर्देशन दिएको छ। 

महासंघका अनुसार एउटा क्रसर उद्योगसँग कम्तीमा ४ देखि १० वटासम्म अक्सिजन सिलिन्डर छ। महासचिव रेग्मीले मुलुकले स्वास्थ्य संकट भोगिरहेको बेला व्यवसायीले केही हदसम्म भए पनि अक्सिजन उपलब्ध गराएर प्राण जोगाउनेतर्फ लाग्नुपर्ने बताए। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था इप्पानले पनि निर्माणाधीन जलविद्युत् आयोजनाको मेटल वेल्डिङको लागि प्रयोग हुने अक्सिजन सिलिन्डर स्थानीय सरकारमार्फत अस्पताल लगायत क्षेत्रमा उपलब्ध गराउन मातहतका व्यवसायीलाई सार्वजनिक अपिल गरिसकेको छ।

इप्पानका अध्यक्ष कृष्णप्रसाद आचार्यले इप्पान मातहतका निर्माणाधीन जलविद्युत् आयोजनाका प्रवद्र्धक कम्पनीलाई अक्सिजन सिलिन्डर भएको खण्डमा यथाशीघ्र स्थानीय तह वा जिल्ला प्रशासन कार्यालयमा बुझाउन सार्वजनिक अपिल गरेको बताए। ‘अहिले अक्सिजनको अभावमा धेरै बिरामी छपटाइरहनुभएको छ। त्यसैले जोसँग जहाँ अक्सिजनको सिलिन्डर छ, यथाशीघ्र उपलब्ध गराउन अनुरोध गरेका छौं,’ उनले भने, ‘कतिपय जलविद्युत् प्रवद्र्धक कम्पनीले सिलिन्डर उपलब्ध गराउने काम गरिरहेका छन्।’  

इप्पानले जारी गरेको सार्वजनिक अपिलमा हालको असहज अवस्थामा ऊर्जा आयोजनासँग प्रयोगमा नरहेका अक्सिजन सिलिन्डर नजिकैको जिल्ला प्रशासन कार्यालय, स्वास्थ्य संस्था वा कोभिड–१९ सँग सरोकार राख्ने सरकारी निकायमा उपलब्ध गराउन आग्रह गरिएको छ।

प्रकाशित: २७ वैशाख २०७८ ०३:२७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App