४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
अर्थ

प्रदेश सरकारलाई हुण्डाई मोटरको सहयोग

सामाजिक विकास मन्त्री नरदेवी पुनलाई स्वास्थ्य सामग्री हस्तान्तरण गर्दै हुण्डाई मोटर्स प्रालि पोखराका प्रबन्धक भीमसिंह खत्री । तस्बिर : सन्देश/नागरिक

हुण्डाई मोटर कम्पनीले गण्डकी प्रदेश सरकारलाई स्वास्थ्य सामाग्री सहयोग गरेको छ । हुण्डाई मोटर कम्पनी कोरियाले प्रदेशको सामाजिक विकास मन्त्रालयलाई ५० लाख बराबरको पिपीईलगायतका स्वास्थ्य सामग्री सहयोग गरेको हो ।  

नेपालको लागि आधिकारिक विक्रेता हुण्डाई मोटर्स प्रालिले कम्पनीबाट प्राप्त १८ सय थान पिपीईसहित अन्य स्वास्थ्य सामाग्री शुक्रबार हस्तान्तरण गर्‍यो । कार्यक्रममा हुण्डाई मोटर्स प्रालि पोखराका प्रबन्धक भीमसिंह खत्रीले सामाजिक विकास मन्त्री नरदेवी पुनलाई सो सामग्री हस्तान्तरण गरे ।

सहयोग ग्रहण गर्दै सामाजिक विकास मन्त्री नरदेवी पुनले स्वास्थ्य सामग्री प्रदान गरेकोमा हुण्डाई कम्पनीलाई धन्यवाद दिदै उक्त सामग्री तलमाथि नगरी सदुपयोग गर्ने प्रतिबद्धता जनाईन् । साथै उनले अहिले कोरोना संक्रमितको संख्या बढेसँगै अक्सिजन सिलिण्डर अभाव भएकाले अक्सिजन सिलिण्डर उपलब्ध गराउन सकिने भए त्यसतर्फपनि पहल गरिदिन आग्रह गरिन् ।  

‘हामीसँग अहिले अक्सिजन अभाव होइन, सिलिण्डर अभाव हो, त्यसकोपनि प्रबन्ध गर्न सकिन्छ भने सहयोग गर्नुस्, त्यसले नागरिकको ज्यान जोगाउन मद्धत पुग्छ,’ उनले भनिन । उनले अक्सिजन सिलिण्डर खरिद गर्न सरकारसँग रकम अभाव नभएको स्पष्ट पारिन् । पुनले भनिन्,‘रकम अभाव होइन, अहिले सिलिण्डर खरिद गर्दा लामो प्रोसेस (प्रक्रिया) पूरा गर्नुपर्छ, त्यो गर्न अहिले समय पुगेन, त्यसैले छोटो बाटोबाट मिल्ने भए सबैले सहयोग गरौं ।’

सामाजिक विकास मन्त्रालयका सचिव बिनोदबहादुर कुँवरले पनि प्रदेशमा अक्सिजन सिलिण्डर अभाव भएकाले हुण्डाई कम्पनी मार्फत अक्सिजन सिलिण्डर मगाउन सकिने भए सहयोग गर्न आग्रह गरे ।

हुण्डाई मोटर्स प्रालि पोखराका प्रबन्धक भीमसिंह खत्रीले नागरिकको ज्यान बचाउन सहयोग पुगोस् भनेर हुण्डाई मोटर कम्पनी कोरियाले स्वास्थ्य सामग्री सहयोग गरेको बताए । उनले पहिलेदेखि नै सामाजिक काम गर्दै आएको हुण्डाई कम्पनीले आगामी दिनमापनि यसलाई निरन्तरता दिने बताए ।

प्रकाशित: २४ वैशाख २०७८ ०७:१८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App