१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

कर तिर्ने समय थप्न निजी क्षेत्रको माग

कोभिड–१९ महामारीका कारण मुलुकका विभिन्न जिल्लामा निषेधाज्ञा जारी गरेपछि उद्योग, व्यापार, व्यवसाय बन्द भएको भन्दै निजी क्षेत्रले कर तिर्ने समय थप गर्न माग गरेको छ। निजी क्षेत्रका छाता संस्था नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्सले मंगलबार अन्तःशुल्क, आयकरको अग्रिम कर कट्टी लगायत करहरूको विवरण बुझाउनुपर्ने म्याद र कर रकम भुक्तानीको समय थप्न सरकारसँग छुट्टा छुट्टै अनुरोध गरेका हुन्।

हाल भएको व्यवस्था अनुसार एक महिनाको कर अवधिको कर विवरण सो अवधि समाप्त भएको मितिले २५ दिनभित्र सम्बन्धित कर कार्यालयमा पेस गर्नुपर्छ। यो महिनाको २५ गतेसम्म अघिल्लो महिनाको कर विवरण नबुझाए र कर नतिरे जरिवाना तिर्नुपर्छ। निषेधाज्ञाका कारण असहज परिस्थिति सिर्जना भएको भन्दै निजी क्षेत्रले समय थप्न माग गरेको हो।

मुलुकको झण्डै दुई तिहाइ भूभागमा निषेधाज्ञा, लकडाउन जारी रहेका कारण सरकारलाई कर राजस्वको विवरण बुझाउनुपर्ने र कर रकम भुक्तानी गर्ने समय थप गर्न अनुरोध गरेको नेपाल उद्योग वाणिज्य महासंघले जनाएको छ। कोभिडको कारण दैनिक उपभोग्य बाहेकका व्यापार, व्यवसाय र सवारी आवागमन बन्द भएको, उद्योग प्रतिष्ठानका कर्मचारी तथा कामदारहरू समेत स्वास्थ्य संवेदनशीलताका कारण आवतजावत गर्न नसकेको महासंघको भनाइ छ।  अघिल्लो वर्ष लामो लकडाउनपछि तंग्रिन सुरु गरेको व्यापार व्यवसाय कोभिडको दोस्रो लहरका कारण पुनः जटिल अवस्थामा आइपुगेको उद्योगी, व्यवसायीले बताएका छन्। 

सार्वजनिक यातायात सञ्चालन नभएको लगायत कारणबाट उद्योग, व्यवसाय पूर्ण रूपमा सञ्चालनमा आउन नसकेको र अत्यन्त कम क्षमतामा चलेको दाबी छ। बन्दाबन्दीले अर्थतन्त्र चलायमान बन्न नसक्दा यससँग प्रत्यक्ष जोडिएका साना, ठूला सबै तहका उद्योगी व्यवसायी, काम गरेर खाने श्रमिक कामदारहरू लगायत आम सर्वसाधारणको दैनिक जीवनयापन अत्यन्त कठिन भएको भन्दै सरकारबाट उचित नीति सहितको सहयोग गर्न महासंघले अपिल गरेको छ।

त्यसैगरी, नेपाल उद्योग परिसंघले निषेधाज्ञाको समयमा कर विवरण बुझाउन र कर चुक्ता गर्न कठिन भएकाले कर बुझाउने समय थप्न माग गरेको छ। परिस्थिति सहज हुनासाथ कर रकम र विवरण बुझाउने उसले जनाएको छ। नेपाल चेम्बर अफ कमर्सले पनि कर विवरण र कर रकम दाखिला गर्ने म्याद थप गरिदिने व्यवस्था मिलाउन आग्रह गरेको छ। उद्योग, व्यवसाय तथा कार्यालयहरू बन्द रहेका भएको र व्यवसायी तथा कर्मचारीहरू आफ्ना कार्यालयमा जान सक्ने अवस्था नभएकाले अनलाइनबाट समेत विवरण बुझाउन र कर तिर्न सम्भव नभएको चेम्बरले जनाएको छ।  

यसैबीच, कोभिड संक्रमण फैलिनबाट रोक्न उपत्यकामा निषेधाज्ञा जारी गरेको स्थानीय प्रशासनले पसल खोल्ने समय घटाएको छ। काठमाडौं उपत्यकाभित्र थप एक साता निषेधाज्ञा गर्ने निर्णय गरेका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीले पसल खोल्ने समय कटौती गरेका हुन्। जिल्ला प्रशासन कार्यालय काठमाडौंका अनुसार खाद्यान्न पसलहरू अब बिहान ७ बजेदेखि ९ बजेसम्म मात्र खोल्न पाइने भएको छ। यसअघि बिहान १० बजेसम्म र बेलुका ५ बजेदेखि ७ बजेसम्म पसल खोल्न दिइएको थियो। काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको बैठकले यस्तो निर्णय गरेको हो।

प्रकाशित: २२ वैशाख २०७८ ०४:०९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App