१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

अनियमितता रोक्न अनुगमन

सरकारी अनुगमन टोलीका सदस्य त्रिपुरासुन्दरी–७, करबगाडस्थित तटबन्धन नापजाँच गर्दै। तस्बिरः नागरिक

यहाँको एक कार्यालयले मातहतका योजनामा हुने आर्थिक अनियमितता रोक्न अनुगमनलाई जोड दिएको छ। संघीय र प्रदेश सरकारबाट बजेट विनियोजन भई सञ्चालित विकासे योजनामा हुने आर्थिक अनियमितता रोक्न प्रभावकारी अनुगमनलाई जोड दिइएको हो। यहाँका विभिन्न स्थानीय तहमा सञ्चालित खानेपानी, सिँचाइ र तटबन्धन निर्माण लगायत योजनामा हुन सक्ने आर्थिक अनियमितता रोक्न र गुणस्तरीय विकासको लागि खानेपानी सिँचाइ तथा ऊर्जा विकास कार्यालय डोल्पाले योजनाहरूको स्थलगत अनुगमन र निरीक्षणलाई जोड दिएको बताएको छ।

विगतमा खानेपानी, सिँचाई तथा उर्जा विकास कार्यालयबाट सञ्चालित योजनामा आर्थिक अनियमितता हुने गरेको, कामै नगरी राजनीतिक दबाबमा बिल भुक्तानी तथा योजनाहरू कम गुणस्तरीतय हुने गरेको सर्वत्र गुनासो आउन थालेपछि यो वर्ष योजनाको स्थलगत अनुगमन र निरीक्षणलाई जोड दिइएको कार्यालय प्रमुख नविन थापाले बताए। यतिखेर योजनाहरूको स्थलगत अनुगमनका लागि कार्यालय प्रमुख थापा र सहायक इन्जिनियर हिक्मतबहादुर शाही सहितको टोली योजना सञ्चालित गाउँबस्तीमा पुगेको छ।

विगतमा स्थलगत अनुगमन र निरीक्षणबिना कार्यालयमै बसेर योजनाहरूको बिल भुक्तानी हुन्थ्यो। अहिले इन्जिनियर सहितको अनुगमन टोली गाउँबस्तीमै पुगेर गुणस्तरीय काम भए, नभएको र प्राविधिकको मापदण्डमा रहेर निर्माण कार्य भए, नभएको समेतको आधारमा बिल भुक्तानी गर्ने भएपछि सर्वसाधारणमा आर्थिक अनियमितता नहुने कुरामा विश्वास जागेको त्रिपुरासुन्दरी नगरपालिका–७, पहाडाका कृष्णबहादुर शाहीले बताए।

अनुगमनको क्रममा पहाडामा पुग्दा ओग्रेनी साना सिँचाइ योजनामा पाइपहरू प्राविधिक मापदण्डअनुरूप नगाडिएको पाइएपछि टोलीले पाइप पूरै उप्काएर फालेको छ। त्यसैगरी, सांसद विकास कोषबाट पहाडामै सञ्चालित सिँचाइ योजनामा गुणस्तरीय काम नभएको पाइएपछि इन्ट्यांक भत्काएर पुननिर्माण गर्न निर्देशन दिइएको छ।  

बहुचर्चित हिमचुली सिँचाइ योजनाको मर्मत तथा निर्माण कार्य सुरु नै नभएको पाइएको अनुगमन टोलीले जनाएको छ। त्रिपुरासुन्दरी नगरपालिका ५ करबगाडमा सञ्चालित तटबन्धन र खानेपानी, त्रिपुरासुन्दरी–१०, लिकुमा सञ्चालित सिँचाइ योजना ठूलीभेरी–७ मा सञ्चालित सिँचाइ तथा रूपगाड तटबन्धन निर्माण योजनाको समेत अनुगमन भएको छ। समुद्र सतहदेखि ३ हजार ५ सय मिटरको उचाइबाट ल्याइएको रिसिनीदेखि रुम गाउँको खर्करुमान हुँदै तलिखोर फूलराछुटिने आरेगोठ र फूलबारी खानेपानी योजनाको मुहानमै पुगेर अनुगमन गरिएको छ। विकट स्थानबाट ल्याइएको खानेपानी योजना निर्माण कार्य जिल्लामै उत्कृष्ट भएको पाइएको सहायक इन्जिनियर हिक्मतबहादुर शाहीले बताए।

रिसिनी खानेपानी योजना निर्माण कार्य सम्पन्न भएपछि रुम गाउँ र रसी गाउँका झण्डै दुई हजार जनसंख्या लाभान्वित बनेका छन्। प्रदेश सरकारको २० लाखमा निर्माण कार्य सम्पन्न भएपछि आफूहरूलाई दुई घन्टाको पैदल दुरीबाट पानी बोकेर ल्याउनुपर्ने बाध्यता हटेको स्थानीय नन्दा बुढाले बताइन्। योजनाको प्रभावकारिता गुणस्तर र के कसरी दीर्घकालीन रूपमा सञ्चालन गर्न सकिन्छ भनेर अनुगमनलाई जोड दिइएको खानेपानी तथा सिँचाइ कार्यालय प्रमुख इन्जिनियर नविन थापाले बताए।  

कार्यालयमा थोरै जनशक्ति भए पनि आलोपालो गरेर जिल्लाका आठवटै स्थानीय तहमा सञ्चालित योजनाहरूको अनुगमनलाई जोड दिँदै अनुगमनपछि मात्रै बिल भुक्तानी गरिने उनले बताए। जिल्लास्तरबाट मात्र नभई जनमानसमा कामै नगरी विकास बजेट खान नमिल्ने सन्देश दिन र अनुगमनलाई थप प्रभावकारी बनाउन प्रदेश मन्त्रालयबाट समेत सचिवस्तरीय अनुगमन गराइएको छ।

प्रकाशित: २१ वैशाख २०७८ ०४:१८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App