१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

बैंक खाताबाट आठ लाख गायब

दुल्लु नगरपालिका–८ का भवानीप्रसाद आचार्यले राष्ट्रिय वाणिज्य बैंक दुल्लु शाखामा रहको आफ्नो खाताबाट पैसा निकाल्न खोज्दा बैंक कर्मचारीले रकम नभएको जानकारी गराए। खाताको आठ लाख रूपैयाँ छैन भनेको सुन्दा उनी छाँगाबाट खसेजस्तै भए।

सोधखोज गर्दै जाँदा बैंक कर्मचारीले नै उक्त रकम झिकेको खुल्यो। सोही बैंकका एक कर्मचारीले पैसा गायब पारेको थाहा भयो। बैंकमा रकम सुरक्षित होस् भनेर राखिएको थियो। त्यही बैंकबाट कर्मचारीले आफूखुसी चेकबिनै पैसा झिकेपछि आचार्य न्यायको लागि भौंतारिएका छन्।  

बैंकका कार्यरत कर्मचारी जयबहादुर थापाले खाताबाट आठ लाख रकम झिकेको खुलेको छ। अहिले ती कर्मचारी बिदामा छन्। मोबाइल समेत अफ छ। जिल्ला प्रहरी कार्यालय दैलेखमा आचार्यले आफ्नो खातामा आठ लाख रकम बैंकका कर्मचारी जयबहादुर थापाले झिकेको मौखिक उजुरी दिएका छन्। फागुन १२ गते बैंकबाट आचार्यको पैसा झिकेको देखिएको छ। बैंकका कर्मचारी दुल्लु नगरपालिका ५ र खातावाला आचार्य ८ नम्बर वडाका स्थानीय हुन्।  

राष्ट्रिय वाणिज्य बैंक दुल्लुका शाखा प्रबन्धक कृष्णप्रसाद उपाध्यायले खातावाला र कर्मचारीबीच पहिला चेक नहुँदा मौखिक सहमति भएर रकम झिकेको आशंका गरे। उनले दुईजनाबीच चिनजानले सापटी लिएको हुन सक्ने बताए। बैंकबाट पनि अनुसन्धान भइरहेको छ। उजुरी आइनसकेको, तर पीडितले मौखिक जानकारी गराएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रवक्ता इन्द्रजीत सुनारले बताए। 

तत्काल बैंकका कर्मचारीलाई अनुसन्धानको दायरामा ल्याइने प्रहरीको भनाइ छ। आरोपित बैंक कर्मचारीको मोबाइल अफ हुनुका साथै बिदामा बसेको बैंकले जनाएको छ। पीडित आचार्यले बैंकबाट पैसा हराएको निवेदन राष्ट्रिय वाणिज्य बैंक दुल्लु शाखालाई दिएका थिए। दुल्लु शाखाले निवेदन छानबिनका लागि केन्द्रमा पठाएको जनाएको छ।

प्रकाशित: १६ वैशाख २०७८ ०५:२४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App