२० आश्विन २०८१ आइतबार
image/svg+xml
अर्थ

आइइईबिनै नदीजन्य पदार्थ उत्खनन्

लोहोरे खोलास्थित पुष्पलाल (मध्यपहाडी) राजमार्ग पुलछेउमा खोला नै सर्ने गरी नदीजन्य पदार्थ निकालिँदै। तस्बिर: गोविन्द/नागरिक

दैलेखका ११ स्थानीय तहले प्रारम्भिक वातावरणीय परीक्षण (आइइई) नै नगरी नदीजन्य पदार्थ उत्खनन् गरेका छन्। यहाँका स्थानीय तहले वातावरणीय प्रभाव मूल्याकंन नगरी धमाधम ठेक्कामार्फत नदीजन्य पदार्थ उत्खनन् गरिरहेका हुन्।

तीन वर्षअघि जिल्ला समन्वय समिति दैलेखले जिल्लाका ११ स्थानीय तहसँग समन्वय गरेर बनाएको आइइई रिपोर्ट बनाएको थियो। जिल्लामा रहेका कर्णाली, लोहोरे खोला, छामघाट खोला, पादुका खोला, रामघाट लगायत खोलाबाट मनपरि नदीजन्य पदार्थ उत्खनन् गरिएको छ। खोलामै छिरेर ठेकेदारले उत्खनन् गरेका छन्।

बीच खोलामै डोजर चलाएर उत्खनन गरिदाँ समेत सम्झौता गर्ने नारायण नगरपालिका, महावु गाउँपालिका, आठबीस नगरपालिका र दुल्लु नगरपालिका मूकदर्शक छन्। दैलेखमा ठेक्का लिएका व्यक्तिहरूले जनप्रतिनिधिकै आडमा मनपरि उत्खनन् गरेको स्थानीय बताउँछन्। शक्तिको आडमा उनीहरूले सामान्य मापदण्ड समेत पूरा नगरी खुलमखुला पुलनजिक र नदीभित्रबाटै उत्खनन गरेका हुन्। दैलेखका स्थानीय तहले आइइर्ई रिपोर्टबिनै नदिजन्य पदार्थ उत्खनन् गरिरहेको जिल्ला समन्वय समिति दैलेखका प्रमुख प्रेमबहादुर थापाले पनि पुष्टि गरे। आइइई रिपोर्ट तयार गरेर उत्खनन् गर्न भने पनि अटेर गरेको थापाको भनाइ छ।

नगरपालिकाले लोहोरे खोलामा दिपक शाही र छामघाट खोलामा रोहन कटुवालसँग ठेक्का सम्झौता गरेको छ। शाहीले ६ लाख ७१ हजार र कटुवालले तीन लाख ८६ हजार दुई सय ९० रूपैयाँमा ठेक्का सम्झौता गरेको नगरपालिकाको राजस्व शाखाले जनाएको छ। आठबीस नगरपालिकाले दहीखोलाबाट जाक्सीखोला १० लाखमा ठेक्का सूचना निकाले पनि ठेक्का नै नपरेपछि अहिले नगरपालिकाले नै आफैं कर्मचारी राखेर ट्रिप शुल्क उठाएको छ। 

त्यस्तै कर्णाली नदिको साई खोलाबाट रामघाट खोलासम्म १९ लाख ९० लाखमा रिपब्लिक निर्माण सेवा, कालीकोटसँग सम्झौता गरिएको नगरपालिकाका प्रमुख प्रशासशीय अधिकृत गोकर्णनाथ योगीले बताए। मापदण्डविपरीत कर्णाली नदीबाटै ढुंगा–बालुवा निकालिएको स्थानीय बताउँछन्। मनपरि रूपमा कर्णालीको बालुवा मध्यपहाडी राजमार्गअन्तर्गत दैलेख, जाजरकोट र अछाम पु¥याउने गरिएको छ। त्यस्तै, ठेकेदारले दैलेखको कर्णाली नदी, लोहोरे खोला र छामघाट खोलाबाट मापदण्ड पूरा नगरी हाकाहाकी पुल छेउछाउ र बीच खोलाबाट नदीजन्य पदार्थ उत्खनन गरिरहेका छन्।

अनुगमनको जिम्मेवारी पाएको जिल्ला समन्वय समितिले बारम्बार आइइई विपरीत उत्खनन नगर्न चेतावनी दिए पनि सुनुवाइ नभएको जनाएको छ। कर्णाली नदी, लोहोरे खोला र छामघाट खोलामा आइइईमा कहाँ कति मात्रामा निकाल्ने स्पष्ट तोकेको हुन्छ, तर सम्झौतामा कुनै कुरा उल्लेख गरिएको छैन।  

कहाँबाट कति घनमिटर निकाल्न मिल्ने भन्ने पनि सम्झौतामा उल्लेख छैन। कहाँ कतिभन्दा पनि एकमुष्ठ ठेक्का दिएको राजस्व शाखाले जनाएको छ। अन्धाधुन्द ढुंगा बालुवा उत्खननले खोलाको सतह घटेको छ। उत्खनन कसरी भइरहेको छ भन्ने हेर्न तत्काल अनुगमन गरिने नारायण नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत रेशम बुढाले बताए। ठेकेदारले सम्झौताअनुसार नै निकालेको दाबी गरेको उनको भनाइ छ।

प्रकाशित: १२ वैशाख २०७८ ०४:०९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App