६ आश्विन २०८१ आइतबार
image/svg+xml
अर्थ

बढ्दै संक्रमण, सीमामा भीड कायमै

शुक्रबार किनमेलका लागि भारतको सीमावर्ती बजार जोगवनीतर्फ जाँदै गरेका नेपाली उपभोक्ताहरू । तस्बिर : चुमन/नागरिक

प्रदेश १ को राजधानी विराटनगर कोरोनाको 'हटस्टप' बन्दै गए पनि भारतसँगको सीमा नाकामा आवतजावत गर्नेको भीड उस्तै छ । विराटनगर स्थित रानी नाकामा शुक्रबार पनि सीमावर्ती भारतको जोगवनी बजारमा किनमेल गर्न जाने र आउनेहरूको भीड थामिनसक्नु थियो । सीमा नाकामा आवतजावत गर्नेको घुइँचो लागिरहेको भए पनि सीमामा खटिएका सुरक्षाकर्मीहरू मुकदर्शक बनेर हेरिरहेका थिए ।  

विराटनगरबाट जोगवनी जाने मुख्य नाका रानी विगत एक वर्षदेखि बन्द छ । तर, आसपासका क्षेत्रबाट आउने जानेहरू उत्तिकै छन् । मुख्य नाकामा हेल्थ डेस्क र भारततर्फबाट आउनेको स्वास्थ्य परीक्षण हुने गरेको छ । तर, आसपासका क्षेत्रबाट खुलेआम रुपमा मानिसहरू आहोरदोहोर गरिरहेका छन् । भारतीय बजार जोगवनीमा किनमेलका लागि जाने आउने मात्रै हैन भारतका विभिन्न शहरबाट आएका मानिसहरू पनि मुख्य नाका छाडेर आसपासका चोरबाटोबाटै नेपाल भित्रिने गरेका छन् । 

स्वास्थ्य परीक्षणबिनै नेपाल भित्रिनेहरूबाट कोरोना फैलने खतरा झन् धेरै हुने गरेको छ । विराटनगरको विराटनगर जुटमिल दक्षिण, दरहैया, मटेरुवा तथा इस्लामपुरस्थित दशगजाबाट आउजाउ गर्ने अत्याधिक छन् । किनमेलका लागि दिनहुँ हजारौं  मानिस जोगवनी बजार जाने गरेको स्थानीय रमेश यादवले बताए । किनमेलका लागि भारतीय बजार जाने आउनेबाट कोरोना संक्रमण फैलन खतरा रहेकाले सीमावर्ती क्षेत्र जोखिममा परेको यादवले बताए । उनले भने,‘सीमामा निर्वाध आवत–जावतले कोरोना सीमावर्ती क्षेत्रमा कोरोना महामारीले भयावह रुप लिने खतरा छ ।’ 

स्थानीय किशोर शाहीले मुख्य नाकाबाहेकका नाकाबाट भइरहेको अनियन्त्रित आवागमनले कोरोना संक्रमणको जोखिम बढाएको बताए । उनले मुख्य नाकाबाट मात्रै स्वास्थय मापदण्ड पालना गरेर आवत–जावत गर्ने व्यवस्था गर्न माग गरे । शाहीले भने, ‘मुख्य नाकाबाट मात्रै आवतजावत गर्न पाउने व्यवस्था सरकाले गर्नुपर्छ ।’ सीमावर्ती क्षेत्रमा मात्रै हैन विराटनगरको मुख्य बजारमा पनि स्वास्थ्यको मापदण्ड पालना भएको पाइँदैन । शहरमा किनमेल गर्नेहरूले मास्कको प्रयोग र समाजिक दूरी कायम गरेको पाईदैन । विराटनगर–१६ का वडा अध्यक्ष मनोज सुब्बाले सस्तो सामान किन्न भारतीय बजार जानेहरू कोरोनाको उच्च जोखिममा रहेको बताए । 

उनले भारततर्फ किनमेलका लागि जानेहरूबाट नेपालतर्फ पनि कोरोना संक्रमणको खतरा रहेको स्पष्ट पारे । एउटै नाकाबाट दैनिक हजारौंको संख्यामा किनमेलका लागि भारतर्फ जाने –आउने गरेका छन् । मुख्य नाकाबाट बिहीबारसम्म १ सय ५ जना मात्रै भित्रिएको रानी नाका हेल्थ डेस्कका संयोजक डा. कमलकिशोर यादवले बताए । उनका अनुसार भारतबाट आएकाहरू मध्ये ८ जनामा कोरोना संक्रमण देखिएको छ । मोरङमा मात्रै हैन झापाको सीमावर्ती क्षेत्रमा पनि अवस्था उस्तै छ । अनियन्त्रित रुपमा सीमावर्ती क्षेत्रमा भइरहेको आवतजावतले भारतमा फैलिएको कोरोना बिस्तारै नेपालतर्फ पनि बढ्न थालेको छ ।  

शनिबारदेखि किनमेलका लागि भात जान रोक  

जिल्ला प्रशासन कार्यालय मोरङले शनिबारदेखि भारतीय बजारमा किनमेल गर्न जान रोक लगाएको छ । जिल्ला प्रशासन कार्यालय मोरङका प्रवक्ता शरदकुमार पोखरेलले शनिबारदेखि किनमेलका लागि भारत जान रोक लगाइएको जानकारी दिए । पोखरेलले जिल्ला प्रशासन कार्यालय मोरङले मोरङ प्रवेश गर्ने मुख्य नाकाबाहेक अन्य नाकाबाट आवतजावत बन्द गर्न सुरक्षाकर्मीहरूलाई निर्देशन दिइसकेको छ । ‘भारतीय बजारमा किनमेलका लागि जान शनिबारदेखि रोक लगाइएको छ’ पोखरेलले भने, ‘अत्यावश्यक कामका लागि आवतजावत गर्नुपरे मुख्य नाका मात्रै  प्रयोग गर्नुपर्ने व्यवस्था पनि गरिएको छ ।’ कोरोना संक्रमण तीव्र रुपमा फैलन थालेपछि सीमा नाकामा कडाइ गरिएको पोखरेलले बताए ।

उनका अनुसार भारततर्फबाट आउनेहरूलाई होल्डीङ सेन्टरमा राखेर स्वास्थ्य परीक्षणपछि मात्रै घर जान दिने व्यवस्था पनि गरिएको जानकारी दिए । मोरङमा मात्रै हैन भारतसँग सीमा जोडिएका सबै जिल्ला प्रशासन कार्यालयहरूलाई केन्द्रबाटै मुख्य नाकाबाट मात्रै आवतजावत गर्ने व्यवस्था मिलाउन निर्देशन आएको पोखरेलले बताए  यसैबीच प्रदेश १ को सामाजिक विकास मन्त्री उषाकला राईले पनि मोरङको विभिन्न नाकाको स्थलगत अनुगमन गरेकी छिन् । नाकाबाट अनियन्त्रित रुपमा स्वास्थ्यको मापदण्डसमेत पालना नगरी आवतजावत भइरहेको पाइएपछि राईले शुक्रबार नै प्रदेशका सबै जिल्लाका मुख्य नाकाबाहेक अन्य नाका बन्द गर्न सुरक्षा निकायलाई निर्देशन दिएको प्रदेश १ को सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रकाशित: १० वैशाख २०७८ १४:२१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App