१३ आश्विन २०८१ आइतबार
image/svg+xml
अर्थ

माथिल्लो चाकु–एद्वारा व्यवसायिक उत्पादन सुरु

भोटेकोसी गाउँपालिकाको फूल्पिङकट्टीमा रहेको माथिल्लो चाकु–ए जलविद्युत् आयोजनाको उत्पादन गृह । तस्बिर : ध्रुव/नागरिक

निजी क्षेत्रको अगुवाइमा निर्मित २२.२ मेगावाट क्षमताको माथिल्लो चाकु–ए जलविद्युत आयोजनाले बिहीबारदेखि व्यवसाययिक उत्पादन थालेको छ।  

शिवश्री हाइड्रोपावर लिमिटेडको स्वामित्वमा रहेको आयोजनाले गत वैशाख ९ बाट परीक्षण उत्पादन थालेको थियो। योसँगै राष्ट्रिय प्रशारण लाइनमा तल्काल आठ मेगावाट विद्युत थपिएको छ। आयोजना रहेको भोटेकोसी गाउँपालिकाका अध्यक्ष राजकुमार पौडेलले व्यवसायिक उत्पादनको सुभारम्भ गरे।

नेपाल–चीन सीमावर्ती भोटेकासी गाउँपालिका–४ फूल्पिङकट्टीमा निर्मित आयोजनाको उत्पादन २२ किलोमिटर दूरीमा लामोसाँघुमा रहेको विद्युत् प्राधिकरण स्वामित्वको सुनकोसी जलविद्युत केन्द्रको सव–स्टेसनमार्फत केन्द्रीय प्रशारण लाइनमा जोडिएको शिवश्रीका प्रबन्ध निर्देशक विष्णु खत्रीले बताए। हिउँदको सुख्खा मौसम भएकाले आयोजनाबाट तत्काल आठ मेगावाट विद्युत् भइरहेको उनले जनाए। ‘आगामी असारदेखि मात्र पूर्णक्षमतामा उत्पादन हुन्छ,’ खत्रीले भने।  

फूल्पिङकट्टीको चन्द्राकुमा रहेको बाँधबाट दुई हजार पाँच सय मिटर लामो भूमिगत सुरुङमार्फत चाकु खोलो छिराइ चाङ्लेकट्टीस्थित उत्पादन गृहमा पुर्‍याइएको आयोजना निर्धारित समयभन्दा चार वर्ष ढिलो गरी निर्माण सम्पन्न भएको हो। निर्माण सम्पन्न हुँदा प्रतिमेगावट लागत २३ करोड रुपैयाँ पुगेको शिवश्रीका संस्थापक कार्यकारी अध्यक्ष तथा सल्लाहकार उमेश कसजूले जानकारी दिए। ‘निर्माण अवधि लम्बिँदा आयोजना केही महंगो पर्न गएको छ,’ उनले भने।  

२०७३ भित्र सक्ने गरी २०६९ साउन ३० गतेबाट आयोजना निर्माण थालिएको थियो। २०७१ साउनको जुरे पहिरो, २०७२ वैशाख १२ को भोटेकोसी बाढी र लगातारको बर्खे बाढीपहिरोले क्षति पुर्‍याउँदा आयोजना सम्पन्न हुन ढिलाइ भएको कसजू बताउँछन्। उनका अनुसार भूकम्पले निर्माणाधीन आयोजनालाई धेरै क्षति पुर्‍याएको थियो।  

शिवश्रीका अनुसार सिटिजन बैँक लिमिटेडको अगुवाइमा विभिन्न १२ बैंक तथा बित्तिय संस्थाले आयोजनामा तीन अर्व रुपैयाँ ऋण लगानी गरेका छन्। स्थानीयसहित सर्वसाधरणलाई २० प्रतिशत सेयर वितरण गरिसकेको आयोजनामा निजी क्षेत्र (संस्थापक) को एक अर्ब ४७ करोड रुपैयाँ लगानी रहेको शिवश्रीका कार्यकारी अध्यक्ष बच्चु पौडेलले जनाए। शिवश्री र विद्युत् प्राधिकरणबीच २०६७ मा पिपिए (विद्युत् खरिद सम्झौता) भएको थियो। सम्झौताअनुसार प्राधिकरणले हिउँदमा सात र बर्खामा चार रुपैयाँ तिरेर प्रतियुनिट विद्युत् खरिद गर्ने छ। अध्यक्ष पौडेलका अनुसार उत्पादित विद्युत् बिक्रीबाट महशुलबापत वार्षिक ५० देखि ६० करोड रुपैयाँ आयोजनाले आम्दानी गर्ने छ।

प्रकाशित: ९ वैशाख २०७८ १३:५६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App