२१ असार २०८१ शुक्रबार
image/svg+xml
अर्थ

२९ करोड लागतमा रुपातालमा बाँध बाँधिदै

बाँधविहीन कास्कीको तेस्रो ठुलो ताल रुपातालको माथिल्लो तटिय क्षेत्र। तस्बिर: नागरिक

रुपातालमा बाँध बाँध्ने जिम्मा कालिका–नयाँ बाटो (जे.भी) ले पाउने भएको छ। जिम्मेवारी पाएको कम्पनीलाई सम्झौताको लागि पत्रचार गरिएको छ। ११ कम्पनी मध्ये घटिघटाउमा टेण्डर परेपछि कालिका नयाँबाटो जे.भीलाई परेको हो।

टेण्डर परेको कम्पनीलाई रुपाताल एकिकृत संरक्षण तथा विकास परियोजनाले सम्झौताको लागि पत्रचार गरिसकेको छ। ‘कम्पनीलाई सम्झौताको लागि पत्रचार गरिसकिएको छ ।’ परियोजना प्रमुख तुलसी भट्टराईले भने–‘१५ दिनभित्रमा सम्झौता गरिसक्नुपर्ने छ।’ परियोजनाले चारदिन अघिमात्रै सम्झौताको लागि पत्रचार गरेको उनले बताए। सम्झौतापछि कास्कीको तेस्रो ठुलो ताल रुपामा बाँध बाँध्ने काम सुरु हुने छ।  

कम्पनीलाई २८ करोड ७० लाखमा टेण्डर परेको परियोजनाले जनाएको छ। ‘४ वर्षभित्रमा बाँध निर्माण सक्नुपर्ने छ’ उनले भने–‘डिजाईन समेत कम्पनीले नै गर्ने छ।’ परियोजनाको तथ्यांक अनुसार बाँधको लम्बाई ५ सय ९० मिटर लामो हुन्छ। कास्कीको तेस्रो ठूलो ताल रुपाताल मात्रै बाँधी विहीन छ। बाँध बनाउन पन्च वर्षीय योजना अन्तर्गत नै प्रक्रिया सुरु गरिएको थियो। बाँधको लागि आवश्यक पर्ने जग्गा अधिग्रहण गरी मुआब्जा वितरण समेत गरिदैं छ। मुआब्जा वितरण पूर्ण रुपमा टुंगिएको भने छैन्। परियोजनाले बाँधस्थलमा केही क्षेत्रफलको मुआब्जा वितरण गर्न बाँकी रहेको उल्लेख गरेको छ। ‘बाँध बाँधेपछि पानीले ढाकिने माथिल्लो क्षेत्रको मुआब्जा वितरण प्रक्रियामा छौं’ परियोजना प्रमुख भट्टराईले भने,‘बाँधस्थलमा पनि केही क्षेत्रफलको बाँकी छ।’ उनका अनुसार बाँधस्थल क्षेत्रका मुआब्जा लिनुपर्ने कोही विदेश भएकोले ढिलो हुन पुगेको छ।

बाँध अर्धन (माटो) को हुने छ भने ६ मिटर उचाईको हुने छ। माथिल्लो फिनिसिङ अवस्थाको भने ७ मिटर चौडाईको हुनुपर्ने परियोजनाले जनाएको छ। ‘६ मिटरको उचाईको र ७ मिटर चौडाईको बाँध बनाईने छ’ परियोजना प्रमुख भट्टराईले भने–‘बाँधको एक छेउमा ढोका (गेट) राखिने छ।’ उनका अनुसार ढोका तर्फ सिमेन्ट प्रयोग गरेर बनाईने छ। बेगनास तालको झैं ओभर फ्लो बनाईने छ। तर सिंचाईको लागि अर्को ढोका भने राखिदैंन्। बेगनास तालबाट भने सिंचाईको लागि नहर मार्फत पानी निकास गरिएको छ। परियोजनाले तालमा सिधै खोलाको पानी नमिसिने गरी केही ठाँउमा सिल्टेसन पोखरी निर्माण गरिसकेको छ। दुई वटा पोखरी निर्माण भईसकेको छ। तालको किनारमै एउटा निर्माणकै चरणमा छ। ‘

बाँध बाँध्नकै लागि परियोजनाले अहिलेसम्म ९ सय ५५ रोपनी क्षेत्रफलको मुआब्जा वितरणको लागि सूचना निकालिएको थियो। ‘अधिग्रहण गर्नुपर्ने मध्ये आधाजतिको मुआब्जा वितरण गरिसक्यौं’ परियोजना प्रमुख भट्टराईले भने,‘बाँकीको प्रक्रिया हुदैँछ।’ रुपताल संरक्षण एककिृत विकास परियोजनाका सदस्य लेखनाथ ढकालले मुआब्जाको लागि निवेदन क्रमै रहेको जानकारी दिए। सरकारी दररेट अनुसार खोलाबेसी खोलाले छोएको जग्गाको प्रतिरोपनी ८ लाख ६२ हजार रुपैयाँ मुआब्जा रकम दिनेगरी मूल्यांकन गरिएको छ।

खोला भन्दा तल्लो भागको क्षेत्रलाई १२ लाख ५० हजार रुपैयाँ तय गरिएको छ। बाँधस्थल बनाउने जग्गाको मूल्यांकन भने १२ लाख ९२ हजार प्रतिरोपनी तय गरिएको छ। कतिपयले भने मुआब्जा रकम थोरै भएको भन्दै रकम लिन आनाकानी समेत गर्दै आएका छन्।  पन्च वर्षीय योजना अन्तर्गत सरकारले बाँध निर्माणको लागि ४ अर्ब ५१ करोडको लागत अनुमान गरेको छ।  बाँध हालेपछि रुपातालको सतह १ सय ७४ हेक्टर पुग्ने अनुमान छ। अहिले पानीको सतह भने १ सय ४ हेक्टर मात्रै छ। नापी विभागको २०३२ सालको तथ्यांक अनुसार रुपातालको क्षेत्रफल १ सय ३५ हेक्टर थियो।

प्रकाशित: ९ वैशाख २०७८ ०७:४१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App