१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

भैंसेपाटीमा अर्ब लगानीमा मन्त्रीनिवास

आवास

धेरैलाई लाग्न सक्छ, ललितपुरको पुल्चोकमा रहेको मन्त्री बस्ने आवास सुविधा सम्पन्न र भव्य छन्। कोठा ठूला र फराकिला छन्। आगन्तुकका लागि ठूला हल छन्। राम्रो बगैचा छ। शारीरिक व्यायम गर्ने स्थान छन्। सवारीसाधन राख्ने पर्याप्त ठाउँ छ। तर, सबैले कल्पना गरे भन्दा वास्तविकता भने फरक छ। पुल्चोकमा रहेका सबै मन्त्री क्वार्टर सुविधा सम्पन्न र राम्रा छैनन्। धेरेजसो मन्त्री बस्ने आवास साँघुरा र पुराना खालका छन्। त्यसैले नयाँ मन्त्री फेरिनेबित्तिकै सकभर राम्रो आवासका लागि छिटो सर्ने गर्छन्। मन्त्री बस्ने आवासमा सामान्य सुविधा पनि नभएपछि सरकारले नयाँ आवास बनाउने तयारी गरेको छ।  

सरकारले अबको एक वर्षपछि मन्त्रीहरूलाई आवास सुविधा उपलब्ध गराउने उद्देश्यले ललितपुरकै सैंबुमा नयाँ भवन बनाउन लागेको हो। संघीय सरकारले बनाउन लागेको आवासमा हालको पुल्चोकको मन्त्री क्वार्टरभन्दा अत्याधुनिक सुविधा हुनेछन्। मन्त्रिपरिषद्को २०७५ मंसिर १७ मा बसेको बैंठकले पुल्चोकस्थित मन्त्री आवास साँघुरो भएकाले ललितपुर महानगरपालिका सैंबु भैंसेपाटीस्थित आवास क्षेत्रका लागि छुट्ट्याइएको १ सय ४९ रोपनी चार आना जग्गामा निर्माण गर्ने निर्णय गरेको थियो।  

यस अघि सरकारले सो जग्गामा संघीय सांसदको लागि आवास भवन निर्माण गर्ने निर्णय गरेको थियो। सरकारले ललिपुरको पुल्चोकस्थित हाल रहेको मन्त्री आवास (क्वार्टर) साँघुरो र सानो भएको भन्दै सार्ने निर्णय गरेको हो। सहरी तथा भवन विभाग मातहतको विशेष भवन निर्माण आयोजना समन्वय कार्यालयले राष्ट्रिय सभा अध्यक्ष, उपाध्यक्ष, प्रतिनिधिसभाका उपसभामुख तथा संघीय मन्त्री निवासको निर्माणको लागि २०७६ कार्तिक २७ गते ठेक्का सम्झौता गरेको थियो । दुई वर्षभित्रै निर्माण सम्पन्न हुनेगरी यो आयोजनाको निर्माण सुरु गरिएको हो।  

विशेष भवन निर्माण आयोजना समन्वय कार्यालयका आयोजना निर्देशक दिलीप शेखर श्रेष्ठ ललितपुरको सैंबु भैंसेपाटीस्थित निर्माणाधीन राष्ट्रिय सभा अध्यक्ष, उपाध्यक्ष तथा प्रतिनिधिसभा उपसभामुख तथा संघीय मन्त्री निवास परियोजनाको भौतिक प्रगति ५० प्रतिशत सकिएको बताउँछन्। ‘अहिलेसम्म आयोजनाको भौतिक प्रगति सन्तोषजनक छ,’ उनले भने, ‘हामीले ठेकेदार कम्पनीलाई तोकिएको समय सीमाभित्रै निर्माण सम्पन्न गर्न अनुरोध गर्दै आइरहेका छौं।’ आयोजनाका अनुसार हालसम्म आवासको भौतिक प्रगति आधा सकिएको छ।

आयोजनाको वित्तीय खर्च ३५ प्रतिशत अर्थात एक अर्ब ४ करोड रुपैयाँ खर्च भएको छ। यो आवास निर्माण परियोजनाको ठेक्का सिक्रो हनुमान जेभीले १ अर्ब ३ करोड रुपैयाँमा पाएको हो। साढे दुई तलाको मन्त्री आवासमा पूजाकोठादेखि लबीसम्मका सूविधासम्पन्न पूर्वाधार भएको आवास निर्माण गरिँदै छ। मन्त्री क्वार्टरको भुइँतलामा लबी, बैंठक कक्ष, निजी कक्ष, गार्ड कक्ष, कर्मचारीका लागि आवश्यक कक्ष समेत निर्माण गरिँदैै छ। मन्त्रीका अलवा उनका परिवारका सदस्यहरूका लागि पनि छुट्टाछुट्टै कक्षको व्यवस्थापन गरिनेछ।  

निर्देशक दिलीपशेखर श्रेष्ठले पुल्चोकस्थित मन्त्रीहरूको आवासीय भवन साँघुरो र सानो भएकाले ललितपुरको सैंबुमा सुविधासम्पन्न र अत्याधुनिक भवन निर्माण गरेर सार्न लागिएको बताए। ‘पुल्चोकको मन्त्री क्वार्टर साँघुरो र सानो भएकाले सार्न खोजिएको हो,’ उनले भने, ‘सैंबुमा निर्माणधीन मन्त्री क्वार्टर अहिलेको भन्दा धेरै अत्याधुनिक सेवासुविधा र शान्त वातावरणमा निर्माण गर्दै छौं।’ सरकारले सैंबुमा निर्माणाधीन मन्त्री क्वार्टरका भवनको शैली परम्परागत नेपाली शैलीमा नै निर्माण गर्दै छ।  

ललितपुर महानगरपालिका सैंबु भैंसेपाटी ९६ रोपनी १० आना क्षेत्रफल जग्गामा २४ वटा संघीय मन्त्रीनिवाससहित २७ वटा अत्याधुनिक भवन निर्माण कार्य जारी छ। सरकारले संघीय मन्त्री तथा राष्ट्रिय सभाका अध्यक्ष, उपाध्याक्ष तथा प्रतिनिधिसभा उपसभामुखका लागि निजी आवासको आवश्यकता महसुस गर्दै निर्माण गर्न लागेको हो।  

मन्त्री क्वार्टरको भवन साढे दुई तलाको हुनेछ। भवनहरू नेपाली परम्परागत शैलीमा बनाइनेछ। आवासको लागि छुट्ट्याइएको कुल क्षेत्रफलमध्ये करिब १२ रोपनी क्षेत्रफल २७ वटा भवनले ओगट्नेछ। ३८ रोपनी ८ आना हरियाली पर्यावरणका लागि छुट्टाइएको छ। २१ रोपनी जमिन आवासभित्रको आन्तरिक सडकले ओगट्नेछ। ११ रोपनी क्षेत्रफलमा जिमखानासहितको हेल्थ क्लव निर्माण गरिनेछ। समुदाय हलका लागि सात आना जग्गा छुट्ट्याइएको छ। व्यवस्थापन कार्यालयका लागि तीन आना छुट्ट्याइएको छ। साढे दुई रोपनीमा ग्रोसरी स्टोर बन्नेछ।  

बाँकी रहेका जग्गामा एक सय सवारीसाधन अटाउने पार्किङसमेत निर्माण गरिनेछ। आवास क्षेत्रभित्र तीन तहको सुरक्षा व्यवस्था गरिनेछ। सुरक्षाका लागि थप तीन भवन निर्माण गरिनेछ। आवास दुई चरणमा निर्माण गरिनेछ। पहिलो चरणमा २७ वटा भवन, कम्पाउन्ड, सडक, ढल र भौतिक पूर्वाधार निर्माण गरिनेछ। त्यस्तै दोस्रो चरणमा हरियाली सुरक्षा र सामुदायिक हल निर्माण गरिनेछ। संघीय मन्त्री क्वार्टरको २४ वटा भवनले २२१.३८ वर्गमिटर क्षेत्रफल ओगट्नेछ। राष्ट्रिय सभाको अध्यक्षको निवासका लागि ३७६.९० क्षेत्रफल ओगेट्नेछ। संघीय मन्त्री आवास तथा राष्ट्रिय सभा अध्यक्ष, उपाध्यक्ष र प्रतिनिधिसभा उपसभामुखको भवन निर्माणको ठेक्का सिक्रो हनुमान जेभीले १ अर्ब ३ करोड रुपैयाँ लागतमा ठेक्का पाएको हो। सो निर्माण कम्पनीले दुई वर्षभित्रै अर्थात् २०७८ कात्तिक २६ गतेभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

पुल्चोकको मन्त्री क्वार्टर स्टेट गेस्ट हाउस बन्ने

मन्त्रीपरिषद्को २०७५ साल मंसिर १७ गते बसेको बैठकले सैंबु भैंसेपाटीमा राष्ट्रिय सभाका अध्यक्ष, उपाध्यक्ष, उपसभामुख र मन्त्रीहरूको लागि २७ वटा आवास भवनका साथै प्रदेश प्रमुख र मुख्यमन्त्री आवास/सम्पर्क कार्यालयका लागि १४ वटा भवन निर्माण गर्ने निर्णय गरेको थियो। ललितपुरको पुल्चोकस्थित हाल रहेको मन्त्री निवास रहेको परिसरमा १० वटा राजकीय अतिथि गृह (स्टेट गेस्ट हाउस) निर्माण गर्ने र सोका लागि मन्त्री निवास रहेको जग्गा अपर्याप्त भएमा नेपाल राष्ट्रिय पुस्तकालयछेउको सरकारी जग्गासमेत उपयोग गर्ने निर्णय गरेको थियो । अति विशिष्टि विदेशी पाहुँना आउँदा राख्नका लागि प्रयोग गरिनेछ। पुल्चोकको मन्त्री क्वाटर सैंबु सरेसँगै सरकारले राजकीय अतिथि गृह १० वटा निर्माण कार्य थाल्नेछ।

मुख्यमन्त्री र प्रदेश प्रमुखको पनि भवन बन्दै  

ललितपुरको भैंसेपाटी सैंबुमै २७ रोपनी १२ आना क्षेत्रफलको जग्गामा सातै प्रदेशका प्रदेश प्रमुख र मुख्यमन्त्रीका लागि सम्पर्क कार्यालयसमेत निर्माण भइरहेको छ। यी सातवटा ब्लकमा छुट्ट्याएर निर्माण गरिँदै छ। प्रत्येक ब्लकमा दुईवटा एकाइ रहनेछन्। एउटा ब्लक प्रदेश प्रमुख र अर्को ब्लक मुख्यमन्त्रीका लागि निर्माण गरिनेछ। यी सातैवटा प्रदेशका लागि निर्माण गर्न लागिएको हो। यी भवन पनि साढे दुई तलाकै निर्माण गरिनेछ। प्रदेश प्रमुख र मुख्यमन्त्री कार्यालय भवन निर्माण गर्ने ठेक्का समानान्तर जेभीले ७२ करोड ४८ लाख रुपैयाँमा पाएको छ। यो भवनको प्रगति पनि ४० प्रतिशत भइसकेको छ। 

प्रकाशित: ८ वैशाख २०७८ ०१:४१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App