१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

चोभार सुक्खा बन्दरगाह दुई महिनाभित्र तयार

चोभारमा निर्माणाधीन काठमाडौं सुक्खा बन्दरगाहको निर्माण दुईपटक म्याद थप गर्दा पनि नसकिएपछि तेस्रोपटक म्याद थपिने भएको छ। यो परियोजनाको लागि दोस्रोपटक थपिएको म्याद वैशाख १३ गते सकिँदैछ। अहिलेसम्म परियोजनाको भौतिक प्रगति ७६ प्रतिशत पुगेको छ। वित्तीय प्रगति ६१ प्रतिशत छ। सुक्खा बन्दरगाहको निर्माण २०१८ अगस्ट २ मा सुरु भएको थियो। 

सुरुमा १८ महिनामा यसको निर्माण सम्पन्न गर्ने भनिएको थियो। स्थानीयको अवरोध र कोभिड १९ का कारण दुईपटक गरेर करिब एक वर्ष म्याद थप भइसकेको छ। तैपनि सबै काम निर्माण सम्पन्न गराउन अझै दुई महिना म्याद थप गरिदिन ठेकेदार कम्पनीले माग गरेको छ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव दिनेश भट्टराईले सोमबार सुुक्खा बन्दरगाहको स्थलगत अनुगमन गर्दै जतिसक्दो चाँडो निर्माण सम्पन्न गर्न ठेकेदार कम्पनी र आयोजना प्रमुखलाई निर्देशन दिए। ‘जति सक्दो छिटो गुणस्तर कायम राख्दै काम सम्पन्न गर्नुहोला,’ सचिव भट्टराईले भने, ‘पटकपटक म्याद मात्रै थपिरहने परियोजना सम्पन्न नगर्ने प्रवृत्तिको अन्त्य होस्।’  

सचिव भट्टराईले साइट क्लियरसहित सम्पूर्ण काम सम्पन्न गर्ने प्रतिबद्धतासहित म्याद थप गर्न निर्देशन दिएका छन्। ‘औचित्य पुष्टि गरेर मात्रै म्याद थप गर्नुहोला,’ उनले भने। निर्माण कम्पनी सान्क्षी/आशिष जेभीका प्रतिनिधि शेरबहादुर केसीले दुई महिना म्याद थप गरेको खण्डमा परियोजनाको निर्माण सम्पन्न गर्ने बताए। ‘अहिलेसम्म ७६ प्रतिशत भौतिक प्रगति भइसकेको छ,’ उनले भने, ‘अब गोदामघरको छानो राख्ने काम मात्रै बाँकी भएकाले दुई महिना म्याद गर्नुपर्छ।’  

नेपाल इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले परियोजनाको म्याद वैशाख १३ गते सकिने बताए। ‘निर्माण कम्पनीले दुई महिना म्याद थप्न भनिरहेको छ,’ उनले भने, ‘परामर्शदाता कम्पनीको रायअनुसार म्याद थपको निर्णय गरिनेछ।’ समिति मातहत सुक्खा बन्दरगाह निर्माण भइरहेको हो।  

कार्यकारी निर्देशक गजुरेलले आगामी असारभित्रै बन्दरगाहको सम्पूर्ण निर्माण सकिने बताए। नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले सुक्खा बन्दरगाहमा कोल्डस्टोरसमेत राख्न अनुरोध गरे। ‘अन्तर्राष्ट्रिय स्तरको सुक्खा बन्दरगाहमा कोल्डस्टोर अत्यावश्यक हुन्छ,’ अवलोकनमा गएका मल्लले भने, ‘यो सुविधा थप गर्नुपर्ने देखिन्छ।’ उनी पनि समितिमा छन्।  

समितिका कार्यकारी निर्देशक गजुरेलले स्थानीयको अवरोध र कोभिड १९ का बाबजुद आगामी असारभित्रै काम सम्पन्न गर्ने लक्ष्य राखेको बताए। समितिले सुक्खा बन्दरगाह निर्माणको लागि एक अर्ब ४४ करोड रूपैयाँमा ठेक्का सम्झौता गरेको थियो। पछि डिजाइन परिवर्तन हुँदा लागत केही बढ्ने भएको छ। समितिका निर्देशक युवक डंगोलले परियोजनाको डिजाइन केही परिवर्तन हुँदा लागत १२.८३ प्रतिशत बढ्ने बताए। उनका अनुसार अहिलेसम्म एक अर्ब रूपैयाँ खर्च भइसकेको छ। निर्देशक डंगोलका अनुसार परियोजनाको मुख्य प्रशासनिक, क्वारेन्टाइन र सुरक्षा निकायको भवन लगभग तयार भइसकेका छन्। ‘अहिले लोडअनलोड गर्ने भवन र गोदाम घरमा ट्रस राख्ने काम भइरहेको छ,’ उनले भने, ‘यो काम पनि छिट्टै सकिनेछ।’  

सुक्खा बन्दरगाहमा सामान आयात र निर्यात गर्न छुट्टाछुट्टै आन्तरिक र बाह्य टर्मिनल हुनेछन्। आन्तरिक टर्मिनलबाट देशभरबाट काठमाडौं उपत्यका आउने र उपत्यकाबाहिर जाने मालसमान लोड अनलोड र भण्डारण गर्ने व्यवस्था हुनेछ। बाह्य टर्मिनलमा भने भारत तथा तेस्रो मुलुकबाट भैरहवा, वीरगन्ज र रसुवागढी नाकाबाट भित्रेको सामान ल्याइनेछ। यो बन्दरगाह सञ्चालनमा आएपछि नाकामा कन्टेनर खोलेर लोड–अनलोड गर्ने झन्झटको साथै त्यसबापत लाग्ने आर्थिक भारमा समेत कमी आउने समितिले जनाएको छ। यो सुक्खा बन्दरगाहमा कलकत्ता, विशाखापट्टनम र चीनको केरुङ तथा सिगात्सेबाट आयात हुने सामान सोझै ल्याएर भण्डारण गर्न सकिनेछ। चोभार हुँदै फास्टट्र्याक समेत जोडिने भएकाले सामान ल्याउँदा हुने झमेला अन्त्य हुने विश्वास गरिएको छ। 

प्रकाशित: ७ वैशाख २०७८ ०४:१३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App