८ वैशाख २०८१ शनिबार
अर्थ

नेपालको निर्यात क्षमता ११ खर्ब: विश्व बैंक प्रतिवेदन

विश्व बैंकले ९ अर्ब २ करोड अमेरिकी डलर (११ खर्ब रूपैयाँ) बराबरको निर्यात गर्ने नेपालको क्षमता रहेको बताएको छ। नेपाल विकास प्रतिवेदन (अपडेट) सोमबार प्रकाशित गर्दै बैंकका वरिष्ठ अर्थशास्त्री तथा अपडेटका प्रमुख लेखक केने इजेमेनारीले नेपालको उपयोग गर्न सकिने सम्भावित निर्यात क्षमता ९.२ अर्ब अमेरिकी डलर रहेको बताइन्। यो अहिले निर्यात भइरहेको वार्षिक निर्यात व्यापारको १२ गुणा हो।

उनका अनुसार नेपालले यो परिमाणमा निर्यात गर्न सके उत्पादकत्व वृद्धि गर्न सहयोग पुग्नेछ भने थप अनुमानित २ लाख २० हजारजनाले नयाँ रोजगारी पाउने छन्। इजेमेनारीले मध्यकालीन समयावधिमा यो सम्भाव्य क्षमतालाई हासिल गर्ने कुरा असम्भव पनि नभएको बताइन्।

प्रतिवेदन अनुसार नेपालको क्षमता अनुसार निर्यात गर्न ६ वटा विषयमा प्राथमिकता दिनुपर्नेछ। तीव्र र उत्थानशील पुनर्लाभका लागि पर्यटन क्षेत्रमा सुधार गर्ने, अधिक वैदेशिक लगानी आकर्षित गर्न प्रक्रिया सरलीकृत र सुव्यवस्थित गर्ने,  निर्यात प्रवर्धनलाई आधुनिकीकरण र निर्यातकर्ताको क्षमता सुधार गर्ने, व्यापार लागत घटाउने, बोटबिरुवाको स्वास्थ्यसम्बन्धी फाइटोसेनिटरी र गुण नियन्त्रणका पूर्वाधारमा लगानी गर्ने र विश्व मूल्य शृंखलामा जोडिएको अधिक अवसरहरूका लागि डिजिटल व्यापार र ई–वाणिज्यलाई बढावा दिनुपर्ने भनिएको छ। कोभिड १९ पछिको पुनर्लाभलाई तीव्रता दिन र नेपाललाई हरित, उत्थानशील र समावेशी विकासतर्फ अघि बढाउन निर्यात दरिलो क्षेत्र हुन सक्ने विश्व बैंकको भनाइ छ।

आर्थिक वृद्धि २.७ प्रतिशत

कोभिडका कारण चालु आवमा संकुचित भएको नेपाली अर्थतन्त्र आगामी वर्ष २.७ प्रतिशतले बढ्ने अनुमान पनि बैंकको छ। पछिल्लो समय मनसुनमा देखिएको अनुकूलताका कारण कृषि उत्पादन राम्रो हुने अपेक्षा छ। यसले आर्थिक वृद्धिमा सहयोग पुग्नेछ।

प्रतिवेदनले कोभिड–१९ पछिको पर्यटन बजारसँग समाञ्जस्य हुने गरी सुधार नगरेसम्म पर्यटन क्षेत्रको पुनरुत्थान पूर्ण रूपमा हुन नसक्ने प्रतिवेदनमा औंल्याइएको छ। आयात र विप्रेषणमा सामान्य सुधार हुने र निर्यात यथास्थितिमा रहन सक्ने विश्लेषणका आधारमा आगामी वर्ष चालु खाता घाटा घट्न गई कुल गार्हस्थ उत्पादनको १.२ प्रतिशत पुग्ने अनुमान गरिएको छ।

प्रतिवेदनले राजस्व संकलन लक्ष्यअनुसार हुन सक्ने सम्भावना न्यून भएको र आर्थिक राहतका उपायहरू, खोप कार्यक्रम र आयोजना पुनः सञ्चालनमा ल्याउन लाग्ने अतिरिक्त खर्चले आगामी आवको वित्तीय घाटा बढेर जिडिपीको ७ प्रतिशत नजिक पुग्ने देखाएको छ।

सरकारले कोभिडको प्रभाव र यसका कारण देखा पर्न सक्ने जोखिमलाई उठान गरेको अवस्थामा उत्थानशील आर्थिक पुनर्लाभका लागि निर्यातको प्रतिस्पर्धी क्षमतामा सुधार गर्नुपर्नेमा जोड दिएको छ।

अर्थमन्त्री विष्णु पौडेलले पनि कोभिडका कारण विश्वव्यापी महामारी परेका बेला पनि नेपालको अर्थतन्त्र सुधारको बाटोमा रहेको भन्दै आर्थिक सुधारमा बल पु‍र्‍याउन निर्यातको सम्भाव्यतालाई बढावा दिन गरिएका सुझाव नेपालले अंगीकार गरेको नीति र प्राथमिकता अनुकूल रहेको बताए। ‘हरित, उत्थानशील र समावेशी विकासको एजेन्डामार्फत महाव्याधि पश्चातको पुनर्निर्माणलाई थप उत्तम र वातावरणमैत्री बनाउन सरकारले विकास साझेदार र निजी क्षेत्रसँग मिलेर काम गरिरहेको छ,’ पौडेलले भने।

माल्दिभ्स, नेपाल, र श्रीलंकाका लागि विश्व बैंकका निर्देशक फारिस हदाद–जर्भोसले दिगो र उत्थानशील पुनर्लाभलाई सहयोग पुर्‍याउन, नेपालको निर्यात सम्भाव्यतालाई हासिल गर्न टेवा पुग्ने लगानीका लागि सरकार र विकास साझेदारसँग निरन्तर सहकार्यको लागि तत्पर रहेको बताए।

प्रकाशित: ३१ चैत्र २०७७ ०४:२१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App