१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

तुँवालोले २८ हजार हवाई यात्रु प्रभावित

तुँवालोले ढाकिएको पोखरा। तस्बिर: उमेश पुन/नागरिक

अघिल्लो हप्ता पाँच दिनसम्म पोखराबाट कुनै पनि गन्तव्यमा हवाई उडान भएन। पाँच दिनपछि जसोतसो खुलेको मौसम पुनः बिग्रँदा सोमबारदेखि हवाई सेवा पुनः प्रभावित भएको छ। तुँवालोले हवाई उडानसँगै यहाँको पर्यटन क्षेत्रमा पनि असर परेको व्यवसायीले बताउन थालेका छन्। पोखराबाट काठमाडौं, भरतपुर, भैरहवा, जोमसोम र नेपालगन्जसम्म नियमित उडान हुन्छ। पोखराबाट हुने दुई दर्जन (एकतर्फी) हाराहारी उडान तुँवालोले गर्दा भिजिबिलिटी नपुगेर प्रभावित छन्।  

पोखरा विमानस्थलका प्रमुख बिक्रमराज गौतमका अनुसार उडान अवरुद्ध हुँदा यात्रुले सास्ती खेप्नेबाहेक आर्थिक नोक्सान भएको छ। अहिलेसम्म पोखराबाट हुने दुई सय हाराहारी उडान प्रभावित भइसकेका छन्। यो अवधिमा झण्डै २८ हजार यात्रुको आउजाउमा अवरोध आएको गौतमले बताए। ‘पोखरा विमानस्थलले मात्र अहिलेसम्म ६० लाख रूपैयाँ नोक्सान भोग्नुपरेको छ। जहाज उडान, अवतरण, पार्किङ गराउँदाको शुल्क एयरलाइन्सले विमानस्थललाई तिर्नुपर्छ,’ गौतमले भने, ‘जहाज नै आउन नसकेपछि शुल्क लिने कुरै भएन।’

गौतमका अनुसार सबैभन्दा ठूलो आर्थिक मार एयरलाइन्सले बेहोरेका छन्। उनका अनुसार यतिबेला पोखराका उडानमा आन्तरिक पाहुनाको अकुपेन्सी निकै राम्रो थियो। ‘चार हजार रूपैयाँका दरले २८ हजार यात्रुको भाडा हिसाब गर्दा वायुसेवा कम्पनीलाई ११ करोड रूपैयाँ नोक्सान भएको छ,’ गौतमले भने, ‘यात्रु नै आउजाउ गर्न नपाएपछि विमान थन्काएर राख्नुपरेको छ। आर्थिक रूपमा यो घाटा नै हो।’  

अहिले पोखरा आउने हवाई यात्रु आन्तरिक छन्। कोरोना त्रासले गर्दा विदेशी यो बेला आउन पाएका छैनन्। त्यसैले, आन्तरिक यात्रु मात्र उडाएर एयरलाइन्सले व्यवसाय धानेका थिए। ‘पोखरा भित्रिएका हवाई यात्रुमध्ये कम्तीमा ३० प्रतिशत घुमघामका लागि आउँथे। ती सबै रोकिएका छन,’ उनले भने,’ पाहुना भित्र्याउन नपाउँदा पोखराको पर्यटन क्षेत्रमा मार परेको छ।’ नेपाली नयाँ वर्ष आसपास पोखरामा पर्यटक बढ्छन्।  

बुद्ध एयरका पोखरा प्रमुख गौतम बरालले दैनिक दुई दर्जनभन्दा बढी उडान ठप्प हुँदा असरै असर रहेको बताए। दैनिक खर्च भइरहेको, तर आम्दानी गुमेको उनले बताए। ‘टिकट काटेका यात्रु उडाउन नपाउँदा पैसा फिर्ता गर्नुपरेको छ,’ उनले भने, ‘हामीले त नोक्सानी खेपेका छौं, जहाजले बोकेर ल्याएका यात्रुलाई सेवा दिएर कमाइ गर्ने ट्याक्सीदेखि पोखराको पर्यटन क्षेत्रनै मारमा परेको छ।’ पदयात्रा व्यवसायीको छाता संस्था ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) पश्चिमाञ्चल क्षेत्रीय संघका उपाध्यक्ष धर्मराज पन्थी कोरोना प्रभावित पर्यटन व्यवसायीलाई प्रदूषणले पनि शिकार बनाएको बताउँछन्।

लेकसाइडमा होटल एसिया चलाएका पन्थीले प्रदूषणको अवधिमा झण्डे डेढ दर्जन कोठाको बुकिङ गुमाएको सुनाए। जहाजमा आउने तयारीमा रहेका पाहुना आउन नपाएको उनी बताउँछन्। ‘जहाज नै नचलेपछि पोखरा आउने तयारीका पाहुनाले बुकिङ रद्द गरे। आएका पनि प्रदूषणले कतै देख्न नपाएको भन्दै फर्किए,’ पन्थीले भने। सराङकोट जान इच्छुक यात्रु पनि कतै नदेखिने भन्दै होटलमै बस्ने गरेको उनले बताए। होटल संघका केन्द्रीय सदस्य भरतराज पराजुलीका अनुसार हवाई उडान नहुँदा झण्डै ३० प्रतिशत पाहुना रोकिएका छन्। ‘पछिल्लो समय आन्तरिक यात्रुकै कारण हवाई सेवाले लय लिएको थियो। तर एकाएक त्यो लय बिग्रेको छ,’ उनले भने।

प्रकाशित: २७ चैत्र २०७७ ०२:४३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App