१४ मंसिर २०८१ शुक्रबार
image/svg+xml
अर्थ

जेपी मोर्गनको नेपाल कारोबार बन्द

काठमाडौं - सम्पत्ति शुद्धीकरणका मुद्दामा अन्तर्राष्ट्रिय प्रतिबद्धता पूरा गर्दै गए पनि अमेरिकाको जेपी मोर्गन बैंकले नेपालसँगको कारोबार बन्द गरेको छ। 'केही समय भयो जेपी मोर्गनले नेपालसँग कारोबार बन्द गरेको छ। अन्तर्राष्ट्रिय रुपमा ख्याती कमाएका बैंकहरुले कारोबार बन्द गर्दा बाहिर राम्रो सन्देश जाँदैन,' एक वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतले बिहीबार नागरिकसँग भने।एक वर्षअघि सम्पत्ति शुद्धीकरणका प्रतिबद्धतालाई मु्द्दा बनाएर अमेरिकी सिटी बैंकले नेपालको खाता बन्द गरेको थियो। सिटीले कारोबार बन्द गरेको एक वर्ष नपुग्दै जेपी मोर्गनले बन्द गरेपछि नेपाली बैंकहरुसँग स्ट्यान्डर्ड चार्टर्ड मात्र विकल्पका रुपमा छ। स्ट्यान्डर्ड चार्टर्डको नेपालमा प्रत्यक्ष बैंकिङ कारोबार गर्ने शाखा पनि छ। 
जेपी मोर्गनको संसारका सय देशसँग कारोबार साझेदारी छ। दुई सय वर्षदेखि कारोबार गर्दै आएको यो बैंकको कूल सम्पत्तिको मूल्य २.३ टि्रलियन अमेरिकी डलर छ। नेपालले वार्षिक ८ सय अर्ब रुपैयाँ बराबरको अन्तर्राष्ट्रिय कारोबार गर्छ। अब नेपालको ठूलो कारोबार स्ट्यान्डर्ड चार्टर्ड बैंकसँग हुने छ। यहाँका अधिकांश बैंकले स्ट्यान्डर्ड चार्टर्डमा खाता सञ्चालन गरिसकेका छन्। वृहत भुक्तानी नेटवर्क नभए पनि स्ट्यान्डर्ड चार्टर्ड अन्तर्राष्ट्रिय भुक्तानीका लागि संसारभर चिनिएको बैंक हो। 
जेपी मोर्गन र सिटी विश्वव्यापी मान्यता प्राप्त बैंक भएकाले यसले अन्तर्राष्ट्रिय भुक्तानी नेटवर्कको काम गर्दै आएको छ। नेपालले भुक्तानी, जमानी र प्रतिपतपत्रका लागि अमेरिकी बैंकमा खाता खोलेको थियो। 
नेपालमा कारोबार गर्दै आएका सिटी र जेपी मोर्गन बैंकले नेपाली बैंकले जारी गर्ने ग्यारेन्टी (जमानत) र प्रतितपत्र (एलसी) सोझै स्वीकार गर्न सक्थे। विदेशी कतिपय बैंकले भने नेपाली बैंकले जारी गरेको ग्यारेन्टी र एलसी स्वीकार गर्न अरु बैंकको सहारा लिनुपर्ने हुन्छ। 'एसली र बैंक ग्यारेन्टीमा केही समस्या हुन सक्छ,' ती बैंकरले भने, 'स्ट्यान्डर्ड चार्टर्डले नेपालमा प्रत्यक्ष बैंकिङ कारोबार गरिरहेकाले ठूलै समस्या भने हुँदैन।' उनले विदेशी बैंकले यसैगरी नेपाली बैंकसँग कारोबार नगर्ने प्रवृत्ति देखाए भविष्यमा बैंकिङ गर्न गाह्रो हुने जानकारी दिए।
यसअघि सिटी बैंकले नेपालका वाणिज्य बैंकहरु, अमेरिकास्थित नेपाली दूतावास र संयुक्त राष्ट्रसंघको स्थायी नियोगको खाता बन्द गरिदिएको थियो। त्यसपछि नेपालले स्ट्यान्डर्ड चार्टर्ड बैंक र मस्रेक बैंकमा खाता सारेको थियो। 
नेपालले अन्तर्राष्ट्रिय जगतसँग गरेको प्रतिबद्धता अनुसार ऐन, कानुन निर्माण गरिसकेको छ। सरकारले पछिल्लो समय सम्पत्ति जफत, रोक्का तथा नियन्त्रण ऐन र सम्पत्ति शुद्धीकरण दोस्रो संशोधन ऐनसमेत कार्यान्वयनमा ल्याइसकेको छ।
अमेरिकी सरकारले सम्पत्ति शद्धीकरणको क्षेत्रमा काम नगरेका मुलुकका बैंकलाई आफ्नो देशमा खाता खोल्न कडाइ गर्दै आएको छ। यहीअनुरुप सिटी बैंकले खाता बन्द गरेको थियो। तर, पछिल्लो समय नेपालले प्रतिबद्धताअनुसार कानुन निर्माण र कार्यान्वयन गरिरहेको छ। 
नेपाल राष्ट्र बैंक स्रोतका अनुसार सिटीले सञ्चालन खर्च बढी भएका कारण देखाएर कारोबार बन्द गरेको बुझिएको छ। 'अमेरिकीहरु शुद्धीकरणको मुद्दामा अलि बढी नै संवेदनशील भएका कारण पनि कारोबार बन्द गरेको हुनसक्छ,' स्रोतले भन्यो। 
सम्पत्ति शुद्धीकरणको क्षेत्रमा काम गर्ने मुद्रा निर्मलीकरण अनुगमनसम्बन्धी अन्तरसरकारी वित्तीय कार्यदल (एफएटिएफ) को सम्पूर्ण मापदण्डभित्र रहेर जेपी मोर्गनले कारोबार गर्छ। जेपी मोर्गनले आफ्नो अन्तर्राष्ट्रिय सञ्जालमार्फत आफूसँग खाता हुने बैंकबीच हिसाब मिलान गरिदिने गर्छ। जापानबाट कुनै वस्तु आयात गर्नु परे नेपालले जापानलाई जेपी मोर्गनमार्फत भुक्तानी दिन्छ। हरेक औपचारिक कारोबार यही प्रक्रियाअनुसार हुन्छ।

प्रकाशित: ३ आश्विन २०७० २१:१० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App