२३ वैशाख २०८१ आइतबार
image/svg+xml
अर्थ

उपल्लो मुस्ताङमा दुईवटा सिँचाइ आयोजना

घिलिङ सिँचाइ आयोजनाको बजेट स्वीकृत

मुस्ताङको माथिल्लो क्षेत्र लोमान्थाङ । तस्बिरः नागरिक

एकातिर पानीको समस्या, अर्कोति खेतीयोग्य जमिन सिँचाइ नहुँदा बाँझै राख्नुपर्ने । कुलो माथि छ । गुम्बा र बस्ती तल छ । कुलोबाट पानी चुहिँदा बस्तीभित्र पस्छ । गाईबस्तु पाल्न उस्तै सकस । समस्या वर्षौदेखि झेल्दै आएका छन् । वर्षौदेखि झेल्दै आएको समस्यालाई गण्डकी प्रदेश सरकारले सम्बोधन गरेको छ । त्यही पनि कष्टकर जीवनमा बाँचिरहेका उपल्लो मुस्ताङस्थित छोंसेरबासीको सिँचाइको सपना पूरा हुँदैछ ।  

‘धेरैपटक निवेदन दियौं । सुनुवाई कतैबाट भएको थिएन । स्थानीय तहमा जनप्रतिनिधि थिएनन् । अहिले आएर हाम्रो समस्या सम्बोधन भएको छ,’ छोंसेरका स्थानीयवासी कर्मा ढुण्डुप गुरुङले भने, ‘बजेट मार्फत सम्बोधन भएकोमा खुशी छौं । अब पानीको समस्या सुल्झाउँछौं ।’ उनी ढ्क्या–सिँचाइ आयोजनाका सदस्य समेत हुन् । उनले वर्षौदेखि निवदेन दिएपनि सुनुवाई नभएको गुनासो गर्दै बजेट पनि थोरै दिँदा काम गर्नै नसकिएको जिकिर गरे । ‘पहिलो कुरा बजेट थोरै दिन्थे । सामान ढुवानी गर्न गाह्रो थियो,’ उनले भने, ‘काम गर्नै सकिएन । पानीको समस्या उस्ताको उस्तै रह्यो ।’  

ढ्क्या–छोंसेर सिँचाइ आयोजनाको लागि नेचुङ खोलाबाट पानी झारिने छ । कुलो व्यवस्थित र पानी नहुचिने बनाउनुपर्ने अत्यावश्यक रहेको उनको भनाइ थियो । ‘कुलोबाट पानी चुहिँदा घरभित्र पस्छ । त्यसैले पानी नहुचिने गरी काम गर्नुपर्ने छ,’ उनको भनाइ थियो । सिँचाइको लागि झण्डै डेढ किलोमिटर कुलो निर्माण गर्नुपर्ने उनले जानकारी दिए । सिँचाइ सुविधाबाट २ सय ८० रोपनी क्षेत्रफल सिञ्चित हुने छ । खानेपानीको रुपमा समेत उपयोग गरिने छ । त्यहाँ झण्डै ६५ घरपरिवार छ ।  

सिँचाइको लागि गण्डकी प्रदेश सरकारले ९८ लाख रुपैयाँको टेण्डर आह्वान गरिसकेको छ । त्योसँगै प्रदेश सरकारले मराङ सिँचाइ आयोजना टेण्डर प्रक्रिया पनि अगाडि बढाईसकिएको छ । मराङ सिँचाइ आयोजना २ करोड १३ लाख ३५ हजार रुपैयाँको हो । गण्डकी प्रदेश सरकारले उपल्लो मुस्ताङको महत्वपूर्ण योजनाको रुपमा रहेको सिँचाइ योजनालाई प्राथमिकतामा राख्दै योजना स्वीकृति गरी अघि बढाएको हो । घिलिङ सिँचाइ आयोजनालाई भने प्रदेश सरकारले बहुवर्षिय योजनामा राख्दै स्वीकृति गरेको छ ।  

दुवै आयोजनालाई प्रदेश सरकारले टेण्डर प्रक्रिया गरिसकेको गण्डकी प्रदेश सदस्य इन्द्रधारा विष्टले बताए । ‘मराङ र ढ्क्या सिँचाइ आयोजनाको टेण्डर भईसकेको छ,’ उनले भने, ‘यसै आर्थिक वर्षभित्रमा काम शुरु हुन्छ ।’ उनका अनुसार घिलिङ सिँचाइ आयोजनालाई प्रदेश सरकारले ५ करोड ४३ लाखको बजेट स्वीकृत गरेको छ । घिलिङ सिँचाइलाई बहुवर्षिय योजनाको रुपमा पूरा गर्ने योजना प्रदेश सरकारले बनाएको उनको भनाइ थियो ।  

सिँचाइ सुविधा नहुँदा घिलिङको झण्डै २ सय हेक्टर क्षेत्रफल बाझैं छ । मुस्ताङको बीउविजन उत्पादन केन्द्रको रुपमा रहेको घिलिङ फाँट सिँचाइ सुविधा नहुदाँ कृषिजन्य उत्पादनमा प्रयोगमा ल्याउन सकिएको छैन् । गण्डकी प्रदेश सरकारले स्वीकृति गरेसँगै यो वर्षदेखि काम अघि बढ्ने अपेक्षा र विश्वास स्थानीयले लिएका छन् ।  

तीन हजार पाँच सय मिटरको उचाईको घिलिङमा पानी ल्याएर सिँचाइ गरिने छ । ‘१७५ हेक्टर क्षेत्रफल सिँचाइ गर्ने उद्देश्यसहित सिर्तिङ सिँचाइ आयोजना अघि सारेका हौं’ गण्डकी प्रदेश सदस्य विष्टले भने, ‘सिँचाइसँगै लघु जलविद्युत परियोजना र खानेपानीको आपूर्ति हुने छ ।’ घिलिङमा ५७ घरपरिवार छन् । ती परिवारलाई सहज खानेपानी आपूर्ति समेत सिँचाइ परियोजनाबाट पूरा हुने विश्वास सदस्य विष्टको छ । ‘अहिले ७५ हेक्टरमा खेती गरिन्छ । सिँचाइ सुविधा नहुँदा अरु जग्गा बाँझै छ’ उनले भने, ‘सिँचाइ सुविधा भएपछि १०० हेक्टरमा खेतीपाती लगाईन्छ ।’ 

घिलिङ फाँट मुस्ताङको बीउविजन उत्पादन केन्द्र हो । स्थानीय पशुपालन र खेतीपातीमै आश्रित छन् । सिँचाइ सुविधा भएपछि उत्पादन बढ्ने अपेक्षा छ । विशेष गरी गहुँ उवा र फापर उत्पादन हुन्छ । त्यसो त आलुको लागि पनि प्रख्यात छ । ‘खेतीपातीसँगै बीउको लागि ध्यान दिएका छौं ,’ विष्टको भनाइ थियो ।

प्रकाशित: १३ चैत्र २०७७ ०८:४६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App