७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
अर्थ

सात लाख बढीले लाइसेन्सको अनलाइन फारम भरे

कोभिड १९ को कारण रोकिएको सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को अनलाइन फारम गत पुस दोस्रो साता खुल्यो। १० महिनापछि खुलेको लाइसेन्सको अनलाइन फारम भर्नेको संख्या निकै बढेको छ। पुसयता सात लाखभन्दा धेरै सेवाग्राहीले अनलाइन फारम भरेर प्रयोगात्मक (ट्रायल) परीक्षा पर्खिरहेका छन्। तर यातायात व्यवस्था कार्यालयले सेवाग्राहीको चाप अनुसार सेवा प्रवाह गर्न नसक्दा २०२२ जनवरीसम्मको मिति भरिइसकेको छ।

यातायात व्यवस्था विभागका महानिर्देशक नमराज घिमिरे लाइसेन्सको अनलाइन आवेदन दिनेको संख्या ६/७ लाख पुगिसकेको बताउँछन्। ‘अनलाइनमा २४सै घन्टा आवदेन दिने व्यवस्था मिलाएका छौं, त्यसैले आवेदन दिनेको संख्या अत्यधिक छ,’ उनले भने, ‘आगामी जनवरीसम्मको मिति भरिएको देखिन्छ। तर हामीले सिस्टम रिभ्यू गरेर तोकिएको समयभन्दा अगावै ट्रायल गर्ने प्रयत्न गरिरहेका छौं।’  

कोभिड १९ का कारण लाइसेन्सको परीक्षा १० महिना ठप्प भयो। सो अवधिमा पाँच लाखभन्दा धेरै सेवाग्राही मर्कामा परे। कोभिड १९ को संक्रमण बढेसँगै दुईपांग्रे तथा चारपांग्रे सवारी खरिद गर्नेको संख्या उलेख्य बढ्यो, तर लाइसेन्सको परीक्षा रोकियो। नाडा अटोमोबाइल एसोसिएसनका अनुसार कोभिड १९ पछि दुईपांग्रे किन्नेको संख्या दोब्बरभन्दा धेरै बढेको छ। तर यातायात व्यवस्था विभाग संघीय सरकार मातहत र सवारी चालक अनुमतिपत्र लिने यातायात व्यवस्था कार्यालयहरू प्रदेश सरकार मातहत भएकाले समन्वय छैन।

लाइसेन्सका सेवाग्राही अत्यधिक बढ्दा सेवा प्रवाह गर्न समेत समस्या छ। यातायात व्यवस्था कार्यालय (सवारी चालक) सुकेधाराका प्रमुख विष्णु भट्टराईले अनलाइनमार्फत लाइसेन्सको आवेदन दिनेको संख्या अत्यधिक भएको बताए। ‘कोभिड १९ को कारण यातायात कार्यालय झण्डै आठ महिना ठप्पै भयो, जसले गर्दा लाइसेन्स लिन चाहनेको संख्या धेरै बढेको हो,’ उनले भने, ‘सेवाग्राहीको संख्या धेरै भएकाले प्रयोगात्मक परीक्षा सञ्चालन गर्न समस्या छ।’  

महानिर्देशक घिमिरेले लाइसेन्स कार्यालयको क्षमता बढाउँदै दैनिक ट्रायल लिने क्षमतामा समेत सुधार गर्ने प्रयास भइरहेको बताए। ‘अहिले मुलुकभर दैनिक १२ सयको मात्रै ट्रायल लिने क्षमता छ,’ उनले भने, ‘आगामी वैशाखभित्र दैनिक ट्रायल क्षमता बढाएर तीन हजार पु¥याउने प्रयास गर्दैछौं।’  काठमाडौं उपत्यकामा लाइसेन्सको लिखित र ट्रायल परीक्षा लिने चारवटा यातायात कार्यालय छन्। उपत्यकाबाहिर ११ वटा छन्।

विभागका महानिर्देशक घिमिरेले अनलाइन आवेदन फारम भरेका सेवाग्राहीको मासिक रिभ्यू गरेर असारसम्म धेरै संख्या घटाउने बताए। उनले भने, ‘मासिक रिभ्यूको काम वैशाखदेखि सुरु गरिनेछ।’ विभागले लाइसेन्सको प्रयोगात्मक परीक्षाको अंकभार समेत परिवर्तन गर्ने तयारी गरेको छ। ट्रायलको पूर्णांक १०० बनाएर ७० अंक प्राप्त गर्नेलाई लाइसेन्स दिने गरी कानुन संशोधन गर्न लागेको हो।

अहिले शतप्रतिशत पास गरेमात्रै लाइसेन्स पाइन्छ। अब हुने ट्रायलमा अंग्रेजी ८ को अंक जस्तो आकार घुमाउने, उकालोमा रोक्ने, साइडबत्ती बाल्ने लगायत नियमलाई सय अकंमा गणना गरेर ७० अंक प्राप्त गर्नेलाई पास गर्ने नियम बनाउन खोजिएको हो। महानिर्देशक घिमिरेले सवारी चालक अनुमतिपत्रको प्रयोगात्मक परीक्षा नियम संशोधन गर्ने कानुनको प्रस्तावित मस्यौदामा मन्त्रालयले सैद्धान्तिक स्वीकृति दिएकाले आवश्यक अध्ययन गरेर कानुन छिट्टै जारी गरिने बताए। 

प्रकाशित: १३ चैत्र २०७७ ०२:०८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App