२४ वैशाख २०८१ सोमबार
image/svg+xml
अर्थ

माथिल्लो तामाकोसीबाट वैशाखभित्रै बिजुली

माथिल्लो तामाकोसी हाइड्रोपावरको भूमिगत पावरहाउस। फाइल तस्बिर : नागरिक

बहुचर्चित ४५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको परीक्षण उत्पादन वैशाखभित्रै गरिने भएको छ। आयोजनाले आगामी चैत मसान्तदेखि परीक्षण गर्ने गरी पूर्वाधार निर्माणको काम गरिरहेको छ। आयोजनाको डिजाइन परिवर्तन गरेको नयाँ उपकरण आयोजनास्थलमा आइपुगेको छ। तामाकोसी जलविद्युत् आयोजनाको पेनस्टक पाइपको एक्सपान्सन ज्वाइन्ट पाइप उत्पादन गर्ने कम्पनीले डिजाइन अनुसार उत्पादन गर्न नसकेपछि आयोजनाले अन्तिम समयमा आएर डिजाइन परिवर्तन गरेको थियो।  

यी उपकरण तेर्सो पाइप जडान गर्नको लागि आवश्यक पर्छ। प्रवर्धक कम्पनी अपर तामाकोसी हाइड्रोपावर लिमिटेडका प्रवक्ता गणेशप्रसाद न्यौपानेले आयोजनाले नयाँ डिजाइन परिवर्तन गरेअनुसारको निर्माण सामग्री आयोजनास्थलमा आइसकेको बताए। ‘नयाँ डिजाइन परिवर्तन अनुसारको निर्माण सामग्री साइटमा आइसकेको छ,’ उनले भने, ‘निर्माण उपकरण आएसँगै जडान कार्यको लागि वेल्डिङ भइरहेको छ।’  

आयोजनाका प्रवक्ता न्यौपानेले चैत महिनाभित्रै प्राविधिक काम सकेर वैशाखभित्रै आयोजनाको एक युनिटबाट ७६ युनिट बिजुली उत्पादन गर्ने लक्ष्य राखिएको बताए। ‘नयाँ परिवर्तित डिजाइन अनुसारको उपकरण साइटमा आइसकेको छ,’ उनले भने, ‘पेटस्टक पाइपको ज्वाइन्टमा आवश्यक पर्ने तीनवटा पाइप साइटमा आइसकेको छ।’  

प्रवक्ता न्यौपानेले आयोजनाको मेन सटअप भल्वदेखि मेन इन्लेट भल्वसम्म पानी राखेर प्रेसर टेस्टिङ गरिसकेको बताए। ‘अबको १५ दिनभित्रै वेल्डिङको काम सम्पन्न गर्ने लक्ष्य छ,’ उनले भने, ‘अन्य प्राविधिक काम सकेर चैत मसान्तैभित्रै सुरुङमा पानी राखेर पहिलो युनिटको बिजुली परीक्षण गर्ने योजना छ।’ आयोजनाको ६ वटा युनिट छन्। तीमध्ये एउटा–एउटा युनिटको परीक्षण गरेर बिजुली उत्पादन गर्ने लक्ष्य छ।  

आयोजनाको लागत ब्याजसहित ८० अर्ब पुग्यो। आव ०६७/६८ मा सुरु गर्दा यो ३५ अर्ब रूपैयाँमा निर्माण सम्पन्न गर्ने लक्ष्य थियो। तर तोकिएको समयभित्र निर्माण सम्पन्न नभएपछि लागत दोब्बरभन्दा धेरै नाघेको छ। अहिलेसम्म आयोजनामा ५२ अर्ब रूपैयाँ खर्च भइसकेको छ। सो आयोजनाको ब्याजमात्रै साढे २७ अर्ब रूपैयाँ पुगेको छ। दुवै जोड्दा ८० अर्ब रूपैयाँ खर्च भइसकेको छ। आयोजना तोकिएको समयमै निर्माण सम्पन्न नहुँदा लागतमात्रै बढेको छैन, यसले वार्षिक १० अर्ब रूपैयाँभन्दा धेरै आम्दानी गुमाउँदै आइरहेको छ।

माथिल्लो तामाकोसी जलविद्युत् आयोजना आर्थिक वर्ष ०६७/६८ मा आयोजना सुरु गर्दा ०७३/७४ भित्रै निर्माण सम्पन्न गर्ने लक्ष्य थियो। तर २०७२ सालको भूकम्प र नाकाबन्दीले तोकिएको समयभित्रै निर्माण सम्पन्न हुन सकेन। भूकम्प र नाकाबन्दीले प्रभावित भएसँगै पहिलोपटक ०७५/७६ को पुस महिनाभित्र निर्माण सक्ने गरी नयाँ एकीकृत समय तालिका तय गरिएको थियो। उक्त तालिका बमोजिम पनि आयोजनाको माथिल्लो तथा तल्लो ठाडो सुरुङमा पेनस्टक पाइप जडान गर्न नसकेपछि फेरि नयाँ भाका २०७६ चैत मसान्तसम्म पहिलो युनिटबाट ७६ मेगावाट बिजुली उत्पादन गर्ने लक्ष्य राखियो। त्यो समयभित्र पनि पाइप जडान सम्पन्न हुन सकेन। 

आयोजनाले लकडाउन कै अवधिमा सबैभन्दा जटिलमध्येको तल्लो र माथिल्लो ठाडो सुरुङमा पेनस्टक पाइप जडान कार्य सकेको थियो। आयोजनाको तल्लो ठाडो सुरुङमा ३७३ मिटर पेनस्टक पाइप जडान गरिएको छ। माथिल्लो ठाडो सुरुङ ३१० मिटर पेनस्टक पाइप पनि जडान सम्पन्न भइसकेको छ।  

आयोजनाका प्रवक्ता न्यौपाने विविध कारणले आयोजनाको निर्माण कार्य तोकिएको समयभित्रै सम्पन्न नभएको बताउँछन्। ‘यो आयोजना तोकिएको समयमै निर्माण सम्पन्न नहुनुमा एउटामात्रै कारण छैन,’ उनले भने, ‘आयोजना र ठेकेदार दुवैको कमी कमजोरीकै कारणले ढिलासुस्ती भएको हो।’ आयोजनाका अनुसार गत बर्खायाममा भत्किएको प्रसारण लाइनको निर्माण कार्य तीव्र गतिमा भइरहेको जनाएको छ। ‘विद्युत् उत्पादनसँगै प्रसारण लाइन पनि तयार पार्ने योजनासहित काम भइरहेको छ,’ उनले भने।

प्रकाशित: ८ चैत्र २०७७ ०३:२२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App