७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
अर्थ

चालु खाता एक खर्बले घाटामा

चालु आर्थिक वर्ष २०७७/७८ को सात महिनामा चालु खाता एक खर्ब एक अर्ब ९० करोड रूपैयाँले घाटामा रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा चालु खाता एक खर्ब ६ अर्ब रूपैयाँले घाटामा थियो। चालु आवको सुरुदेखि नै बचतमा गएको चालु खाता मंसिरपछि घाटामा जान थालेको हो। नेपाल राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेकोे विवरण अनुसार अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ९३ करोड ६ लाखले घाटामा रहेको चालु खाता यस अवधिमा ८७ करोड १० लाखले घाटामा छ।  

आयात ०.०१ र निर्यात ७.६ प्रतिशतले बढ्यो  

राष्ट्र बैंकले प्रकाशित प्रतिवेदन अनुसार सात महिनामा ०.०१ प्रतिशतले आयात वृद्धि हुँदा निर्यात ७.६ प्रतिशतले बढेको छ। सात महिनामा कुल वस्तु निर्यात ७.६ प्रतिशतले वृद्धि भई ६९ अर्ब ९२ करोड रूपैयाँ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात २२.४ प्रतिशतले वृद्धि भएको थियो। सात महिनामा कुल वस्तु आयात ०.०१ प्रतिशतले वृद्धि भई आठ खर्ब तीन अर्ब ६४ करोड रूपैयाँ कायम भएको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात ३.६ प्रतिशतले घटेको थियो।  

विदेशी मुद्रा सञ्चिति बढ्यो  

समीक्षा अवधिमा विदेशी मुद्राको सञ्चितिमा सुधार हुने क्रम भने जारी रहेको पाइएको छ। केन्द्रीय बैंकका अनुसार कुल विदेशी विनिमय सञ्चिति ४.३ प्रतिशतले वृद्धि भई माघ मसान्तमा १४ खर्ब ६२ अर्ब तीन करोड रूपैयाँ पुगेको छ। अघिल्लो आर्थिक वर्षको अन्त्यसम्म विदेशी मुद्रा सञ्चिति १४ खर्ब एक अर्ब ८४ करोड रूपैयाँ बराबर थियो।  

चालु आवको सात महिनाको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १३.१ महिनाको वस्तु आयात र ११.९ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त हुने राष्ट्र बैंकले जनाएको छ। माघमा शोधनान्तर स्थिति भने ९७ अर्ब ३६ करोड रूपैयाँले बचतमा छ। अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति २१ अर्ब ६१ करोड रूपैयाँले बचतमा थियो।  

११ प्रतिशतले बढ्यो रेमिटेन्स

चालु आर्थिक वर्षको सात महिनामा रेमिटेन्स १०.९ प्रतिशतले बढेको छ। समीक्षा अवधिमा रेमिटेन्स १०.९ प्रतिशतले बढेर पाँच खर्ब ६७ अर्ब ७० करोड रूपैयाँ पुगेको छ। अमेरिकी डलरमा रेमिटेन्स आप्रवाह ६.७ प्रतिशतले वृद्धि भई चार अर्ब ८१ करोड पुगेको छ। अघिल्लो वर्ष यस्तो आप्रवाह ०.५ प्रतिशतले घटेको थियो। समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रमस्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या ७५.९ प्रतिशतले घटेको छ। 

अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या २१.७ प्रतिशतले बढेको थियो। वैदेशिक रोजगारीका लागि पुनः श्रमस्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा ६७.४ प्रतिशतले घटेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ०.६ प्रतिशतले घटेको थियो ।

प्रकाशित: ४ चैत्र २०७७ ०४:४८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App