१४ चैत्र २०८२ शनिबार
image/svg+xml
अर्थ

बैंक कर्मचारीको पनि तलब बढ्यो

काठमाडौं - सरकारी कर्मचारीको तलब सुविधा वृद्धिसँगै निजी क्षेत्रका बैंक, वित्तीय संस्थाका कर्मचारीको पनि तलब बढेको छ। बैंक तथा वित्तीय संस्थाले नियमित तालिका तथा कर्मचारी युनियनको दबाबमा तलब सुविधा बढाएका हुन्।
तलब वृद्धि वाणिज्य बैंकहरुमा बढी भएको छ। विकास बैंक र फाइनान्स कम्पनीले पनि बढाएका छन्। बैंक तथा वित्तीय संस्थामा २० देखि ४५ प्रतिशतसम्म तलब बढेको छ। बढ्दो मूल्यवृद्धिका कारण कतिपय बैंक सञ्चालक समिति आफैंले तलब बढाइदिएका छन्। कतिपयमा भने कर्मचारी युनियनले नै दबाब दिनु परेको छ।
कर्मचारी युनियन सक्रिय भएका बैंक तथा वित्तीय संस्थामा धेरै तलब बढेकेा छ। युनियन नभएकामा भने मूल्य वृद्धिलाई आधार मानिएको छ। युनियनहरुले तलब बढाउन कालोपट्टी बाँधेर दबाब दिनु परेको थियो। केही बैंकहरुमा अझै पनि युनियन र उच्च व्यवस्थापनबीच तलब कति बढाउने भन्नेमा छलफल चलिरहेको छ।
बैंकरहरुले वार्षिक मूल्य वृद्धिका आधारमा तलब बढाउनु आवश्यक भएको बताएका छन्। उनीहरुले संस्थाको क्षमताभन्दा धेरै तलब वृद्धिको माग भएको जानकारी दिए। 'मूल्यवृद्धि अनुसार तलब वृद्धि नगरे भएको तलबको मूल्य घट्छ,' नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल ज्ञवालीले नागरिकसँग भने, 'दीर्घकालीन रुपमा भार पर्ने गरी तलब बढाउँदा संस्थालाई अप्ठेरो पर्ने सम्भावना रहन्छ।'
सरकारले चालु वर्षको बजेटमार्फत निजामति कर्मचारी, प्रहरी, सेना, शिक्षकलगायतको तलब १८ प्रतिशत र भत्ता एक हजार रुपैयाँले बढाएको थियो। कतिपय संस्थामा सरकारी कर्मचारीको तलब बढेर मूल्यवृद्धिमा चाप परेको भन्दै कर्मचारीले आफ्नो तलब बढाउन दबाब दिएका थिए।
सबैभन्दा धेरै तलब वृद्धि एभरेस्ट बैंकका कर्मचारीको भएको छ। उनीहरुको तलब कम्तीमा २० प्रतिशतले बढेको छ। कर्मचारीको स्तरअनुसार बैंकले अधिकतम ४५ प्रतिशतसम्म तलब बढाएको छ।
'प्रत्येक दुई वर्षमा तलब बढाउने बैंकको नीति नै छ,' बैंकका नायव महाप्रबन्धक हुमनाथ गुरुङले भने, 'कर्मचारीको तलब र भत्ता बढाइएको हो। अधिकतम ४५ प्रतिशतसम्म बढेको छ।'
केही बैंकमा तलब वृद्धिका लागि कर्मचारी युनियनले सामूहिक विरोध कार्यक्रम थालेका थिए। कालोपट्टी बाँध्ने, एक घन्टा काम रोक्ने जस्ता कार्यक्रम गरेपछि उच्च व्यवस्थापन र सञ्चालक समितिले तलब, भत्ता वृद्धिको माग स्वीकार गरेको थियो।
'कर्मचारी युनियनले दबाब नदिएसम्म बैंक उच्च व्यवस्थापनले तलब सुविधा वृद्धिमा ध्यान दिँदैन,' एक बैंकका कर्मचारी युनियन संयोजकले भने, 'काम तोकिएको समयभन्दा बढी लगाउन पछि नपर्ने तर सुविधा दिने बेलामा कन्जुस्याँइ गरेपछि युनियन दबाब दिन बाध्य हुन्छ।' कर्मचारीले तलब, भत्ता बढाउन दबाब दिन्छन् भनेरै कतिपय बैंक तथा वित्तीय संस्थाले नयाँ कर्मचारी राख्दा युनियन गठन तथा गतिविधिमा संलग्न हुन नपाउने लिखित सर्त राख्ने ती कर्मचारीले जानकारी दिए।
नबिल बैंकले ३० प्रतिशत हाराहारीमा तलब भत्ता बढाएको छ। हिमालयन बैंकमा पनि औसत ३० प्रतिशत तलब भत्ता बढेको छ। नेपाल एसबिआई बैंकले पनि तलब, भत्ता बढाएको छ। ग्रान्ड बैंक नेपालले २० प्रतिशतको हाराहारीमा बढाएको छ।

प्रकाशित: २८ श्रावण २०७० २१:२१ सोमबार