१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

एनसेल र धुलिखेल अस्पतालको सहकार्यमा टेलिमेडिसिन र स्वास्थ्य सूचना कार्यक्रम

एनसेल आजियाटा लिमिटेडले आफ्नो व्यावसायिक सामाजिक उत्तरदायित्व अन्तर्गत धुलिखेल अस्पतालसँगको सहकार्यमा बहुप्रतीक्षित टेलिमेडिसिन र स्वास्थ्य सूचना कार्यक्रम सुरु गरेको छ। एनसेलका प्रमुख कार्यकारी अधिकृत एन्डी चोङ्ले एक औपचारिक कार्यक्रममा फागुन १३ गते धुलिखेल अस्पताल अन्तर्गत सञ्चालनमा रहेका चारवटा स्वास्थ्य केन्द्रलाई टेलिमेडिसिन उपकरण हस्तान्तरण गरेको कम्पनीको विज्ञप्तिमा उल्लेख छ।

सोही दिन चोङ् र धुलिखेल अस्पतालका प्रशासकीय निर्देशक रमेश मकाजुले धुलिखेल अस्पतालमा स्थापित एनसेल–धुलिखेल अस्पताल टेलिमेडिसिन र स्वास्थ्य सेवा सूचना केन्द्रको पनि उद्घाटन गरेका थिए। प्रविधि तथा तथ्यांकमा आधारित स्वास्थ्य सेवा प्रदान गर्ने विधि अपनाई ग्रामीण, दूरदराजका सेवाबाट बञ्चित समुदायलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने यस कार्यक्रमको उद्देश्य हो। 

यस पहल अन्तर्गत एनसेलले धुलिखेल अस्पतालद्वारा ग्रामीण भेगमा सञ्चालन गरिरहेको स्वास्थ्य केन्द्रहरूलाई टेलिमेडिसिन उपकरण र सेवा प्रवाहका लागि आवश्यक कनेक्टिभिटी पूर्वाधार निर्माण गरी हस्तान्तरण गर्दैछ। धुलिखेल अस्पतालका तर्फबाट मानव संसाधन (चिकित्सक र परामर्शदाता) लगायत कार्यक्रम सञ्चालनका लागि आवश्यक अन्य सहयोग प्रदान हुँदैछ।

अस्पतालले कार्यक्रमलाई सफलतापूर्वक सञ्चालन गर्न आवधिक तालिम र अनुगमन लगायतका काम पनि गर्नेछ। पहिलो चरणमा सिन्धुपाल्चोकको मानेखर्क, खोलुखुम्बुको डोर्पु, नुवाकोटको थानसिङ र काभ्रेपलाञ्चोकको बोल्डेमा रहेका सामुदायिक स्वास्थ्य केन्द्रमार्फत कार्यक्रम सञ्चालन हुनेछ।

यी केन्द्रले १५ हजारभन्दा बढी घरधुरीलाई सेवा प्रवाह गर्नेछ। कार्यक्रम सञ्चालनमा आएपछि स्थानियले दीर्घरोग, नसर्ने रोग, सरुवा रोग लगायत रोगको उपचार सेवा पाउनेछन्। अबको चार वर्षमा यो कार्यक्रम २० वा सोभन्दा बढी स्वास्थ्य केन्द्रमा लागू गर्ने एनसेलको योजना रहेको जारी विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित: २३ फाल्गुन २०७७ ०४:३३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App