१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

धरानमा २० वटा होटल अनुगमन गर्दा एउटा मात्र अतिउत्तम

धरान १९ स्थित होटल ड्रिमल्याण्डमा उत्तम स्तरको प्रमाणपत्र प्रदान गरिँदै । तस्बिरः रोहित राई

खाद्य स्वच्छताबारे जनचेतना जगाउन तथा उपभोक्तालाई गुणस्तर सेवा उपलब्ध गरउने उद्देश्यले धरानमा होटलहरुको अनुगमन तथा स्तरीकरण अभियान सुरु भएको छ।  

खाद्य तथा गुण नियन्त्रण कार्यालय सुनसरीको अगुवाईमा आइतबार र सोमबार दुई दिनसम्म धरानमा सञ्चालित २० वटा होटलहरुको अनुगमन तथा स्तरीकरण गरिएको छ। ती मध्ये एउटा होटलले मात्र क वर्ग अर्थात अतिउत्तम होटलको स्टिकर पाएको छ। खाद्य तथा गुण नियन्त्रण कार्यालय सुनसरीका अनुसार धरान ८ स्थित होटल गजुर प्यालेसले मात्र क वर्ग(अतिउत्तम) होटलको स्टिकर पाएको हो।  

यस्तै, ६ वटा होटलहरु मात्र ख वर्ग अर्थात उत्तम होटलमा परेको धरान उपमहानगरपालिकाको अनुगमन अधिकृत वेदप्रसाद सापकोटाले जानकारी दिए। उनले भने,‘दुई दिनसम्म धरानको २० वटा होटलहरुको अनुगमन गर्‍यौं, ती मध्ये एउटा मात्र अतिउत्तम स्तरमा परेको छ । ६ वटा उत्तम ख वर्गको स्तरमा परेको छ।’

अनुगमन टोलीका अनुसार पहिलो दिन ८ वटा होटलहरुको स्तरीकरण गरिएको थियो भने दोस्रो दिन सोमबार थप १२ वटा होटलको अनुगमन तथा स्तरीकरण गरिएको थियो। उत्तम अर्थात ख वर्गको होटलमा धरान किचन, लेवल अप, बराह फेमिली किचन, न्यु ड्रिमल्याण्ड, इजी राइडर र ओ.ई.सि.सेकुवा कर्नर परेको छ। ती होटलहरुमा अनुगमन टोलीले सोही अनुसारको उत्तम अर्थात ख वर्गको प्रमाण पत्र वितरण र स्किर पनि टाँसेको थियो। यस्तै, ग वर्गको सन्तोषजनक होटलहरुमा ८ वटा परेको थियो भने २ वटा होटल घ वर्ग अर्थात सामान्यमा परेको छ।  

सोमबार अनुगमन गरिएका होटलमध्ये ३ वटा होटललाई सुधार गरेपछि पुनः मुल्यांकन गर्ने वर्गीकरण नगरिएको अधिकृत सापकोटाले बताए। ‘होटल रत्न इन, भिन्टेज लाउञ्ज एण्ड बार र हाङकुक साराङलाई सुधार गरेर पुनः मुल्यांकन गर्ने भनिएको छ,’सापकोटाले भने,‘सबैलाई अतिउत्तमको स्टिकर पाउने गरि सुधार गर्नुपर्छ भनेका छौं ।’ त्यसमध्ये हाङकुक २०७४ मा अतिउत्तम क वर्गको स्तरीकरणमा परेको थियो। खाद्य स्वच्छताको आधारमा होटेल रेष्टुरेष्ट स्तरीकरण गर्ने सम्बन्धी निर्देशिका २०७३ अनुसार अनुगमन तथा स्तरीकरण गरिएको खाद्य प्रतिधि तथा गुण नियन्त्रण कार्यालय सुनसरीका प्रमुख काशीनाथ घिमिरेले जानकारी दिए।

उनका अनुसार स्तरीकरणको लागि ५० वटा सुचांकहरु छन्। ती सुचांकको आधारमा ९० अंक ल्याउदा अतिउत्तम, ८० भन्दा माथि अंक ल्याउदा उत्तम र ६५ अंकभन्दा माथि अंक आएमा सन्तोषजनकमा स्तरीकरण हुने घिमिरेले बताए। ‘होटल व्यवसायमा खाद्य स्वच्छता कस्तो छ, त्यस आधारमा मूल्यांकन गरेर स्तरीकरण हुन्छ,’उनले भने,‘यसले उपभोक्तालाई आश्वास्त बनाउछ । स्टिकर हेरेर गुणस्तर कस्तो छ भन्ने थाह पाइन्छ।’

प्रकाशित: १८ फाल्गुन २०७७ ०१:५४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App