५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
अर्थ

मध्यपहाडीको सुरुआती खण्ड कालोपत्रे हुने

पूर्वको चिवाभञ्याङदेखि पश्चिमको झुलाघाट जोड्ने राष्ट्रिय गौरवको पुष्पलाल (मध्यपहाडी) लोकमार्गको सुरुआती खण्ड कालोपत्रे हुने भएको छ। सुरुआती बिन्दु चिवाभञ्याङदेखि थर्पुसम्मको सडक कालोपत्रे गर्न केही अघि ठेक्का सम्झौता भएको हो। तीन प्याकेजमा ५०.६४ किलोमिटर कालोपत्रे गर्न एक अर्ब ४७ लाखमा ठेक्का लागेको हो।

थर्पुसम्म यसअघिनै कालोपत्रे भइसकेको छ। पाँचथरमा लोकमार्गले छुने ७० किलोमिटरमध्ये बाँकी खण्डमा यसअघिनै कालोपत्रे भएको थियो। दुई वर्षभित्र कालोपत्रे सक्ने गरी ठेक्का लागेको हो। लोकमार्गको सुरुआती बिन्दु चिवाभञ्याङ भारतको सिक्किमसँग जोडिन्छ। केहि साताअघि भारततर्फबाट पनि चिवाभञ्याङसम्म सडक जोडिएको छ। चिवाभञ्याङदेखि झुलाघाटसम्मको १८ सय ७९ किलोमिटर सडक आर्थिक वर्ष २०७९÷०८० भित्र कालोपत्रे सम्पन्न गर्ने सरकारी योजना अनुरूप सुरुआती बिन्दुको ठेक्का लागेको हो।  

चिवाभञ्याङदेखि च्याङ्थापु, फलैचा, ओयाम हुँदै थर्पु जोडिन्छ। यो क्षेत्रमा १० दस वर्षअघि लोकमार्गको सडक पुगेको थियो। पाँचथरका साथै ताप्लेजुङका विभिन्न गाउँलाई सुविधा दिने यो सडक कालोपत्रे भएपछि सहज हुने अपेक्षा छ। च्याङ्थापु बजारमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री बसन्तकुमार नेम्बाङले यो खण्ड कालोपत्रे गर्ने कामको शिलान्यास गरेका थिए।  

यसअघि यो लोकमार्ग ग्राभेल स्तरको बनाइएको थियो। ‘चिवाभञ्याङदेखि ६ किलोमिटर लोकमार्गको सधैं चिसो हुने भएकाले पकाएको कालोपत्रे गर्नुपर्छ। बाँकीमा अन्यत्र झैं कालोपत्रे हुनेछ। सडक धेरै हदसम्म चौडा भएकाले धेरै चुनौती नआउने अपेक्षा छ,’ मध्यपहाडी लोकमार्गका आयोजना निर्देशक दिपक केसीले भने, ‘काम चाँडो अघि बढाउन आवश्यक निर्देशन दिएको छु। निर्माण व्यवसायीले पनि एक वर्षभित्र च्याङ्थापुसम्म र बाँकी एक वर्षमा चिवाभञ्याङसम्म कालोपत्रे गर्ने प्रतिबद्धता जनाएका छन्।’

आर्थिक वर्ष ०७९/८० मा मध्यपहाडी लोकमार्ग सम्पन्न गर्ने गरी तीनवर्षे कार्ययोजना बनाइएको उनले जानकारी दिए। ‘विभिन्न ठाउँमा विवाद समाधान भएका छन्। निर्धारित समयमै सक्ने गरी काम अघि बढाइएको छ,’ उनले भने, ‘मध्यपहाडका २६ जिल्ला जोड्ने यो लोकमार्गको महत्वलाई ख्याल गरेरै काम अघि बढाएका छौं।’ चिवाभञ्याङबाट थर्पु हुँदै गणेश चोकसम्म मध्यपहाडी लोकमार्ग छ। गणेश चोकदेखि जोरसालसम्म मेची राजमार्गको सडक प्रयोग गरिएको छ।

जोरसालदेखि माझिटार हुँदै लोकमार्गले तेह्रथुम छुन्छ। यो लोकमार्ग बनेपछि विभिन्न गाउँमा सडक सुविधा पुगेको छ भने सहरीकरण समेत भएको देखिन्छ। तीन खण्डमा गरी सडक कालोपत्रे गर्न लागिएको हो। लोकमार्गको ठेक्का पहिलो प्याकेज रोशन/शिवशक्ति जेभी, दोस्रो प्याकेज सन्तोषी/शिवशक्ति जेभी र तेस्रो प्याकेज शिवशक्तिलाई परेको छ। २०७९ माघ १८ गतेसम्म काम सक्ने गरी सम्झौता भएको छ। निर्माण कम्पनीले पनि समयमै काम सक्ने सार्वजनिक प्रतिबद्धता जनाएको छ।

‘हामी काम अघि बढाइहाल्छौं। निर्धारित समयत्रिै सम्पन्न गर्नेछौं,’ शिवशक्तिका निर्देशक सुरेन्द्र पाठकले भने, ‘चिवाभञ्याङ नजिकको क्षेत्रमा चार महिनामात्र काम गर्न सकिने भएकाले सोही अनुसार योजना बनाएका छौं।’ सडक कालोपत्रे हुने भएपछि यो क्षेत्रका बासिन्दा खुसी देखिएका छन्। यहाँका विभिन्न गाउँमा पहिलो सडकको रूपमा मध्यपहाडी लाकमार्ग पुगेको थियो। १० वर्षअघि पुगेको सडक चाँडै कालोपत्रे भए ठूलो राहत हुने अपेक्षा छ।

‘सडक राम्रो बन्छ भनेर हामी कहीँ नगई बसेका छौं। अब कालोपत्रे हुने भएछ, यो ठूलो खुसीको कुरा हो,’ फलैचाका बासिन्दा रामचन्द्र खरेलले भने, ‘दुई वर्षपछि त पिच बाटोमा सरर हिँड्न पाउने भइयो।’ सडक कालोपत्रे भएसँगै पाँचथरको उत्तरी क्षेत्रको बसाइँसराइ घट्ने अपेक्षा छ। सुविधासँगै यो क्षेत्रमा व्यापारिक गतिविधि बढ्ने अपेक्षा स्थानीयको छ। शिलान्यास भइसकेकाले चाँडै कालोपत्रेको काम अघि बढ्ने मध्यपहाडी लोकमार्ग फिदिम आयोजना कार्यालयका प्रमुख सुरेश न्यौपानेले बताए। 

प्रकाशित: १७ फाल्गुन २०७७ ०३:१७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App