१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

लोमान्थाङलाई स्याउ जोन बनाइँदै

स्याउ जोन बनाउन लोमान्थाङको दुराङमा बेर्ना रोप्न खाल्डो खन्दै स्थानीय । तस्बिर नगारिक

गतवर्ष रोपेको स्याउको बिरुवामा फूल फुल्न शुरु भएको छ ।  अर्को वर्ष नै स्याउ उत्पादन शुरु हुने सम्भावना छ ।  यो वर्ष ५ हजार ५ सय बेर्ना रोपिएको छ । हिमालपारीको जिल्ला मुस्ताङको उपल्लो क्षेत्र लोमान्थाङमा स्याउ जोन बनाउने अभियान सुरु भएको छ । अभियानलाई पुरा गर्न यो वर्ष पनि बेर्ना रोप्ने काम शुरु भईसकेको छ । स्याउ जोनबाट स्याउको बजारीकरण तिब्बतमा गरिने लक्ष्य छ ।  

लोमान्थाङको दुराङमा स्याउ जोन बनाउने अभियानमा स्थानीय जुटेका छन् । गण्डकी प्रदेश सरकारको मुख्यमन्त्री वातावरण मैत्री नमूना कृषि गाँउको परियोजना शुरु भईसकेको छ । परियोजना अन्तर्गत दोस्रो चरणमा ६५ सय स्याउको बेर्ना रोप्न शुरु गरिएको गण्डकी प्रदेश सदस्य ईन्द्रधारा विष्टले बताए । ‘लोमान्थाङको दुराङमा स्याउ जोन बनाउने अभियानलाई सार्थकता दिन दोस्रो चरणको स्याउको बेर्ना रोपिएको छ,’ उनले भने, ‘बेर्ना स्थानीयले रोपिरहेका छन् । व्यवस्थापन तथा रेखदेख स्थानीयबासिन्दाले गर्नेछन् ।’ उनका अनुसार दुराङ सिर्जनशील कृषि समूहले व्यवस्थापन गर्दै आएको छ ।  

कोराला नाकासम्मको बाटो निर्माण भईसकेको छ । बाटो नाकासम्म छ । लोमान्थाङ–जोमसोम–पोखरासम्म बाटोको सहज छ । उत्पादित स्याउलाई कोराला नाकाबाट तिब्बत निर्यात गर्न सहज हुने विश्वास प्रदेश सरकारको छ । तिब्बत क्षेत्रमा स्याउ उत्पादन नहुँदा लोमान्थाङको स्याउ तिब्बत निर्यात गर्न सकिने विश्वास प्रदेश सदस्य विष्टको भनाई थियो । स्याउ जोन बनाउन ४ हजार ५ सय बिरुवा गतवर्ष रोपिसकिएको छ । यो वर्ष झण्डै २५ बिगाहा (३ सय २५ रोपनी) क्षेत्रफलमा स्याउका विरुवा रोपिएको विष्टले जानकारी दिए । गोल्डेन डेलिसियस, रेड डेलिसियस लगायत विभिन्न जातका स्याउका बेर्नाहरु लगाइएको छ ।  

स्याउ जोन बनाउन गण्डकी प्रदेश सरकारले मुख्यमन्त्री बातावरण मैत्री नमूना कृषि परियोजना मार्फत दुई चरणमा गरी ४० लाख रुपैयाँ बजेट उपलब्ध गराइसकेको छ । स्थानीय दुराङ गाँउमा ६६ घरपरिवार छन् । तीन घरपरिवारले नै व्यवस्थापन गर्दै आएका छन् । उत्पादित स्याउको आम्दानी स्थानीय गाँउलेले नै लिने छन् । ‘उत्पादित स्याउको विक्रीबाट नाफाको केही निश्चित प्रतिशत राजस्वमा दाखिला हुनेछ,’ विष्टले भने ‘कति प्रतिशत राजस्व लिने भन्ने ठोस निर्णय भईसकेको छैन् । स्याउ उत्पादन भएर विक्री वितरणको अवस्था आएपछि मात्रै राजस्व उठाउने भन्ने निर्णय हुनेछ ।’  

३ हजार ५ सय मिटरको उचाईमा रहेको दुराङ क्षेत्रमा दुईचरणमा गरी झण्डै १० हजार स्याउको बेर्ना रोपिएको छ । बेर्ना स्याउ जोन, बागबानी केन्द्र मुस्ताङ, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना(एक्याप), डिभिजन वन कार्यालय मुस्ताङ, कृषिज्ञान केन्द्र लगायत विभिन्न निकायबाट उपलब्ध गराइएको छ । स्याउ फार्मको संरक्षण, संबद्र्धन र व्यवस्थापनको लागि गण्डकी प्रदेश सरकारले स्थानीयबासीलाई आग्रह गर्दै आएको छ । 

प्रकाशित: ९ फाल्गुन २०७७ १०:०९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App