१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

ऋण तिर्न ज्यालादारी काम गर्दै साना व्यापारी

साना लगानीकाे व्यापार बन्द गराएर सडकमा काम गर्न आएका महिलाहरू। तस्बिर गणेश नागरिक

घरमा आर्थिक भार दिन प्रतिदिन बढ्दै गएपछि सुर्खेतस्थित वीरेन्द्रनगर–१, सोलीघोप्टेकी नन्दकला आचार्य (४२) ले सानो लगानीमा खुद्रा पसल सुरु गरिन्। व्यापार फस्टाउँदै जाँदा नन्दकला फुरुंग हुँदै सोहीअनुसार सपना पनि बुन्दै थिइन्। दुई छोरी र एक छोराकी आमा उनले छोराछोरीलाई उच्च शिक्षा बढाउने सपना बुनेका थिइन्।

तर कोभिड–१९ का कारण लागेको लकडाउन र बेलाबेलाको निषेधाज्ञाले पसल सुरु गरेको हप्ता दिन मै पसल बन्द गर्नुपर्‍यो। लकडाउनका कारण एकातिर घर खर्च बढ्दै थियो भने अर्कोतिर सन्तानलाई उच्च शिक्षा दिने बुनेको सपना टुट्दै थियो। करिब ६/७ महिनापछि लकडाउन खुकुलो बन्यो।

उनले पुनः व्यापार सुरु गरिन्, तर अपेक्षाअनुसार चलेन। आफूले बुनेका सपना साकार पार्न उनी व्यापार बन्द गरेर ज्यालादारी काम गर्न सडकमा आइन्। ‘व्यापार सुरु गर्दा ज्यालादारी काम गरेर जीविकोपार्जन गर्नुपर्छ भन्ने मैले सोचेको थिइन्,’ उनले भनिन्। व्यापार घाटा हुँदा ज्यालादारी काम गर्न बाध्य भएको उनले बताइन्।

‘१–२ दिन भए पनि व्यापार राम्रो चलेको थियो। लकडाउनले बन्द गरायो,’ उनले भनिन्, ‘त्यतिबेलाको घाटा उठाउन सडकमा काम गर्न थालें।’ उनीजस्तै सोही गाउँकी दुर्गा रिजालको पनि उस्तै पीडा छ। फस्टाउन लागेको व्यापार लडकडाउनले बन्द गराएपछि घाटा बेहोरेकी उनी पनि अहिले मजदुरी गर्न थालेकी छिन्। 

लकडाउनले साना व्यापारलाई नराम्री प्रभावित पारेपछि उनीहरू मात्र होइन केही साना व्यापारी पसल बन्द गरेर ज्याला मजदुरी काम गर्न थालेका छन्। ‘पसल भर्खरै फस्टाउँदै थियो। लकडाउनले बन्द भयो,’ दुर्गाले भनिन्, ‘अहिले पसलहरू खुले पनि मान्छेहरू आउँदैनन्। त्यसैले व्यापार छैन।’

ऋण गरेर सुरु गरेको पसलको ऋण तिर्नै मुस्किल भएपछि मजदुरी गर्न थालेको उनको भनाइ छ। कोरोनाको त्रास घट्दै जाँदा व्यापार व्यवसाय खुले पनि व्यापार पहिलेकै स्थितिमा फर्किन सकेको छैन। जसले साना व्यापारी ठूलो मारमा परेका छन्।

प्रकाशित: ४ फाल्गुन २०७७ ०४:३६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App