६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
अर्थ

सुक्न थाले सुन्तलाका बोट

बारीमा लटरम्म फलेका सुन्ताका बोट एकाएक सुक्न थालेपछि डोटीको बोग्टान क्षेत्रका किसान चिन्तित भएका छन्। डोटीको बोग्टान फुड्सिल गाउँपालिकाका अधिकांश किसानको सुन्तलाबारी सुक्न थालेको छ।  

पछिल्ला केही वर्षयता बारीमा फल्नै लागेका सुन्तलाका बोट सुक्न थालेको बताउँदै लखुडाका किसान शेरबहादुर धामीले भने, ‘पुराना बोटहरू सबै सुकिसके, नयाँ पनि फस्टाएका छैनन्।’ बछैन, मान्नाकापडी, घाङल, लानाकेदारेश्वर र गडसेराका किसानले सुन्तलाका बोट सुक्न थालेको बताउँदै बताए।

स्थानयि तारा मटेली भन्छन्, ‘लेकाली ठाउँमा अन्नबाली खासै उब्जनी नहुने भएकाले सुन्तला खेती गरेका थियौं, बोटै सुक्न थाले।’ गत वर्षभन्दा बढी फलेका सुन्तालाका बोट टुप्पोबाट सुक्दै जान थालेको उनले जानकारी दिए। ‘बोट सुक्दै जाने र दानासमेत खस्ने रोगले चिन्तित बनायो,’ उनले भने। बोटै सुक्न थालेपछि घरखर्च चलाउनसमेत मुस्किल पर्ने गरेको इसालाका रुद्र बिष्टले बताए।  

यसैगरी बछैनका लालबहादुर कलेलले पनि दुई सय ५० भन्दा बढी सुन्तलाका बोट सुक्न थालेको बताए। ‘हाम्रो माटोमा सुन्तलाको बोट राम्रो फस्टाउँथ्यो, तर पछिल्ला केही वर्षयता भने फलेका बोटहरू टुप्पोबाट सुक्दै आउन थालेका छन्,’ उनले भने। बडिकेदार–५, थानकोटका प्रकाश मल्लले तीन सय बोट सुन्तलाका लगाएका छन्। अधिकांश बोट सुक्न थालेको उनको भनाइ छ।

‘व्यावसायिक रूपमा सुन्तला खेती गर्न सुरु गरेर लगाइएका सुन्तलाका बोटहरू फल्न नपाउँदै सुकिसके,’ मल्लले भने। सुन्तलाका बोट सुक्न थालेपछि आफूहरूले माटो परीक्षणसमेत गराएको बोग्टान फुड्सिल गाउँपालिका–७ का वडाध्यक्ष देवबहादुर बमले जानकारी दिए। ‘हामीले महेन्द्रनगरबाट माटो परीक्षणका लागि प्राविधिकलाई बोलाएर ल्यायौं, तर माटो परीक्षणबाट कुनै खासै कारण पत्ता लाग्न सकेन,’ उनले भने।

डोटीमा किसानका बारीमा लगाइएका सुन्तलाका बोट पछिल्लो ५/७ वर्षयता सुक्न थालेको कृषि ज्ञान केन्द्र डोटीका प्रमुख नरेन्द्र पनेरुले जानकारी दिए। ‘सुन्तलाका बोटमा सिट्रस डिक्लाइन नामक जीवाणुले समस्या हुन थालेको हो,’ उनले भने। सुन्तलाका बोट सुक्न थालेपछि त्यसको अनुसन्धानका लागि केही दिनमै काठमाडौंबाट कृषि विज्ञ प्राविधिकसहितको टोली आउन लागेको उनले बताए।

‘काठमाडौंबाट कृषि प्राविधिक टोली मगाएका छौं,’ उनले भने, ‘उहाँहरूले अनुसन्धानपछि सुन्तलाका बोट सुक्नुका कारण र समाधानका उपाय पत्ता लाग्ला।’डोटीमा दुई सय ३६ हेक्टर क्षेत्रफलमा सुन्तला खेती हुँदै आएको छ भने वार्षिक दुई हजार तीन सय ८५ मेट्रिक टन सुन्तला उत्पादन हुने गरेको कृषि ज्ञान केन्द्रको तथ्यांकले देखाउँछ।

प्रकाशित: ४ फाल्गुन २०७७ ०४:२४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App