४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
अर्थ

ल्होसारका कारण रसुवागढी नाकाबाट आयात निर्यात ठप्प

चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढी । तस्बिरः हिमनाथ/नागरिक

सोनाम ल्होसारका कारण रसुवागढी नाकाबाट आयात निर्यात ठप्प भएको छ । बुधबारसम्म दैनिक पाँचवटा चिनियाँ गाडीले सामग्री ल्याउँदै आएकोमा बिहीबारबाट सामग्री आउन छाडेको हो ।  

करिब १० दिन नाकाबाट सामग्री आयात तथा निर्यात नहुने भएको रसुवा भन्सारले जनाएको छ । २०७१ मंसिरदेखि औपचारिक रूपमा सञ्चालनमा आएको नाकाबाट हिउँ पर्ने समय, चीनतर्फ हुने निर्वाचन र ल्होसारको समयमा आयात निर्यात रोकिँदै आएको छ ।  

चिनियाँ भन्सारले चीनको स्वशासित क्षेत्र तिब्बतस्थित केरुङमा सामग्री सकिएको र नेपाली व्यापारीले माग नगरेका कारण सामग्री नपठाइएको जानकारी दिएका छन् । नाकामा कारोबार गर्दै आएका व्यापारीले केरुङमा रहेका कर्मचारी घर गएसँगै कारोबार रोकिएको बताएका छन् । प्रमुख भन्सार अधिकृत रामप्रसाद रेग्मीले ल्होसारको कारण नाकाबाट आयात निर्यात रोकिएको बताए । ‘बुधबार ६ वटा गाडीमा सामग्री आएको थियो’, उनले भने, ‘बिहीबार बिहानबाट सामग्री आयात भएको छैन ।’

गएको जेठ अन्तिमबाट नाकामा कारोबार पुनः सुरु भएतापनि आयात बढ्न सकेको छैन । चिनियाँ पक्षले दैनिक पाँचवटा गाडीमा सामग्री ल्याएर नेपालतर्फ झारिदिने गरेका छन् । केही महिना पहिले रसुवा र जिलोङ काउन्टीका स्थानीय अधिकारीहरू बीच भएको छलफलले दैनिक ८ वटा गाडीमा सामग्री आउने सहमति भएको थियो । तर सहमति अनुसार सामग्री नआएको रसुवा भन्सारले जनाएको छ ।  

कोभिड–१९ का कारण नाकामा आयात सहज नभएको, निर्यात ठप्प भएको र पटकपटक नाका बन्द हुँदा राजस्व संकलन समेत प्रभावित हुँदै आएको छ ।  

चीनबाट रेडिमेट, इलेक्ट्रोनिक, जलविद्युत् आयोजनाका सामग्री, टेलिकमका सामग्री र फलपूmल आयात हुँदै आएको छ । त्यसैगरी नेपालबाट बाँसको मुडा, काठको टेबल, अम्रिसोको कुचो लगायतको सामग्री चीनतर्फ निर्यात हुने गरेको छ । तर कोभिड–१९ का कारण निर्यात लामो समयदेखि ठप्प छ ।

२०७१ सालदेखि औपचारिक रुपमा सञ्चालनमा आएको रसुवागढी नाकामा दैनिक २ सय ५० भन्दा बढी सवारी साधन आवतजावत गर्ने गरेका थिए । चीनले अन्तर्राष्ट्रिय नाकाको रूपमा घोषणा गरेपछि सीमामा व्यापारी, व्यवसायी र सवारीको चाप बढ्दै गएको थियो । रसुवागढी नाकाबाट चीनको केरुङ पुग्नका लागि २४ किलोमिटर दूरी पार गर्नुपर्छ ।

प्रकाशित: २९ माघ २०७७ ०७:५९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App