१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

सञ्चालनमा आयो तातोपानी नाका

उत्तरको मुख्य तातोपानी नाका भएर हुँदै आएको व्यापारिक कारोबार १९ दिनपछि पुनः सञ्चालनमा आएको छ। चीनले नेपाल जोड्ने मितेरी पुलको मर्मत सकेसँगै मंगलबारदेखि कारोबार सञ्चालनमा आएको हो। चीनले पुल मर्मतको कारण देखाउँदै गत माघ ८ गतेबाट कारोबार रोकेको थियो।

उसले बढीमा २० दिन लाग्ने भन्दै पुल मर्मत थालेको थियो। ‘चीनले भने जस्तै २०औं दिनमै कारोबार सञ्चालनमा आयो,’ तातोपानी सुक्खा बन्दरगाह भन्सार कार्यालय प्रमुख लालबहादुर खत्रीले नागरिकसँग भने। कारोबार सञ्चालनमा आएको पहिलो दिनमै स्याउ, ऊन लगायत ६ नेपाली कन्टेनर सामग्री बन्दरगाह आइपुगेको उनले जानकारी दिए।

गएको बर्खामा भोटेकोसीमा आएको बाढीले क्षति बनाएको मितेरी पुल चीनले मर्मत गरेको हो। बाढीले पुलका दुई स्पान (पिलर) का जग केही खोतलेको थियो। त्यही खोतलिएको जग पुर्न चीनले आयात बन्द गरेको गरेको थियो। पुल पुनर्निर्माण भएको डेढ वर्षमै चीनले मर्मत गरेको हो। २०७२ वैशाख १२ को बिनाशकारी भूकम्पले मितेरी पुल क्षतिग्रस्त बनाएपछि चीनले सोही ठाउँमा नयाँ बनाएको थियो। २०७६ जेठबाट मात्र यो पुल सञ्चालनमा आएको थियो।

वार्षिक २०–२५ अर्बको आयात/निर्यातबाट पाँच अर्ब रूपैयाँ राजस्व संकलन गर्दै आएको यो नाका भूकम्पपछि लगातारजसो बन्द रहँदै आएको छ। भूकम्पपछिको चार वर्ष नाका पूर्ण रूपमा बन्द भयो। २०७६ जेठ १५ बाट नाका पुनः सञ्चालनमा ल्याइएको थियो। कोरोना महामारी, बर्खाको बाढीपहिरो लगायत कारण यो बीचमा नौपटकसम्म नाका बन्द हुने र खुल्ने क्रम चलिरह्यो।

पछिल्लो १९ दिन नाका बन्द हुँदा कम्तीमा १५ करोड रूपैयाँ राजस्व असुली प्रभावित भएको भन्सार कार्यालयले जनाएको छ। कारोबार सञ्चालनमा आएसँगै चीनले दैनिक ४० नेपाली कन्टेनर सामग्री नेपाल पठाउने प्रतिबद्धता जनाएको भन्सार प्रमुख खत्रीले जनाए। ‘चीनको प्रतिबद्धता हेर्दा अब कारोबारमा उल्लेख्य सुधार आउने देखिन्छ,’ उनले भने।

उनका अनुसार कारोबारमा सुधार आउन नेपाली व्यापारीले पर्याप्त सामान अर्डर गर्नुपर्ने हुन्छ। कारोबार सञ्चालनमा आएसँगै नयाँ सामान अर्डर गर्न व्यवसायीलाई बाटो खुलेको छ। कोरोना संक्रमण, बर्खाको बाढी पहिरो लगायत कारण पछिल्लो समय व्यापारीका अलपत्र सामग्री मात्र आयात थालिएको थियो। कोरोना संक्रमणले गत वर्षको माघदेखि चीनका विभिन्न स्थानमा रोकिएका नेपाली व्यवसायीका झण्डै हजार कन्टेनर सामान पछिल्ला तीन महिनामा नेपाल भित्रिसकेको खत्रीले जनाए।

कोरोना संक्रमणबाट बच्न ‘कन्टेनर हुक एन्ड ड्रप मोडेल’ लागू भएपछि नाका कारोबार क्रमशः सुधारतर्फ रहेको सुक्खा बन्दरगाह भन्सारले जनाएको छ। संक्रमण रोक्दै आयात बढाउन गएको मंसिर १० गतेबाट नाकामा यो मोडेल लागू गरिएको थियो। गत असोजमा दुई कन्टेनर सामान आयातबाट नाका पुनः सञ्चालनमा आएको थियो। पुल मर्मतले कारोबार रोकिनुअघि कन्टेनर मोडेल लागू भएपछि दैनिक ३० कन्टेनरसम्म सामान आयात भएको भन्सार तथ्यांक छ।

प्रकाशित: २९ माघ २०७७ ०४:२८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App