१० मंसिर २०८१ सोमबार
image/svg+xml
अर्थ

पदयात्राको नयाँ गन्तव्य-अन्नपूर्ण नर्थ बेसक्याम्प

मोटरबाटोले चल्तीका पदमार्ग थिल्थिलो भएका छन्। मोटरबाटो विस्तार भएसँगै पदमार्ग छोटिएका छन्, पदयात्रा अवधि घटेको छ। हप्तौं लगाएर पूरा हुने पदयात्रा अहिले केही दिनमा सकिन थालेका छन्।  

पदमार्गको दूरी र पदयात्रा अवधि छोटिने मात्र नभई मोटर गुडेका कारण पदमार्ग क्षेत्र प्रदूषित पनि हुने गरेका छन्।  

चल्तीका पदमार्गको पदयात्रा अवधि मोटरबाटोले छोट्याउन थालेपछि व्यवसायीले नयाँ पदमार्ग पहिचान गर्न थालेका छन्। तत्काल मोटरबाटो विस्तारको सम्भावना नभएका रुटलाई पदयात्रा व्यवसायीले प्रवद्र्धन गरेर पदयात्री पठाउने योजना बनाएका छन्।

कोरोना संक्रमणका कारण यो बेला विदेशी पदयात्री आउन नसके पनि महामारी सकिएपछि आउनेलाई नयाँ, आकर्षक र साहसिक ठानिएका ती पदमार्गमा पठाउने योजना उनीहरूको छ। पुराना र चल्तीका पैदलमार्ग मोटरबाटोले छोट्याएपछि बस्ती नै नभएको पदयात्रा रुटलाई व्यवसायीले प्राथमिकता दिन थालेका छन्।

नयाँ पदमार्ग पहिचान गर्ने क्रममा पदयात्रा व्यवसायीको छाता संस्था ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) पश्चिमाञ्चल क्षेत्रीय संघले हालै अन्नपूर्ण नर्थ बेसक्याम्प पदमार्गको प्रवद्र्धनात्मक पदयात्रा पूरा गरेको छ।  

मोटरबाटो तत्काल पुग्ने सम्भावना नभएको यो रुटमा आगामी दिनमा पर्यटक पठाउन सकिने/नसकिने बुझ्न टानले प्रवद्र्धनात्मक पदयात्रा गरेको थियो। अन्नपूर्ण नर्थ बेसक्याम्पको यो पदमार्गसँगै अरू नयाँ गन्तव्यको पहिचान गर्ने तयारी पनि टानको छ। कोरोना कहर सकिएपछि नेपाल भित्रिएका विदेशी साहसिक पदयात्रीलाई नयाँ र रोमाञ्चक ती रुटमा पठाउने योजना व्यवसायीको छ।

टान पश्चिमाञ्चल क्षेत्रीय संघका अध्यक्ष सुशीलराज पौडेल भन्छन्, ‘पदयात्राका लागि कहलिएका रुट नै नासिँदै गएका छन्। मोटरबाटो विस्तारले धेरै गन्तव्य हराउने अवस्था आयो। त्यही भएर नयाँ, आकर्षक र साहसिक पदमार्ग पहिचान गर्न चाहेका हौं।  

पहिचान गरिएका ती गन्तव्यको सम्भावना, चुनौतीबारे पनि अध्ययन गर्न थालिएको हो।’ अध्यक्ष पौडेलका अनुसार नेपालको पदयात्रा व्यवसाय क्याम्पिङबाट सुरु भएकाले अबका रुट पनि क्याम्पिङका लागि उपयुक्त हुने गरी पहिचान गरिनेछ।

‘मानव बस्तीको पहुँच नै नभएको क्षेत्रलाई बढी प्राथमिकता दिने हो। किनभने मानव बस्ती नभएपछि त्यहाँ हम्मेसी मोटर पुग्दैन, मोटर नपुगेपछि पदमार्ग बचिरहन्छ,’ उनले भने, ‘अन्नपूर्ण नर्थ बेसक्याम्प यस्तै पदमार्ग हो। जुन मानवीय पहुँचबाट छुटेपछि टाढासम्म पुग्न सकिन्छ। यो रुटमा हम्मेसी मोटरबाटो जाने सम्भावना नै छैन।  

किनभने अन्तिम बस्ती छाडेर धेरै टाढासम्म पदयात्रा गर्न सकिन्छ। बस्ती नभएकाले क्याम्पिङको विकल्प छैन।’

अध्यक्ष पौडेलका अनुसार अन्नपूर्ण नर्थ बेसक्याम्पसम्मको पदमार्ग म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको नारच्याङबाट सुरु हुन्छ। पदमार्गमा पर्ने नारच्याङ अन्तिम गाउँ हो। नारच्याङबाट सुरु हुने पदमार्ग कालोखोला क्याम्प, छोटेपा, हुमखोला, सम्धिखर्क, बुस्केट मेला हुँदै बेसक्याम्पसम्म पुग्न सकिन्छ। ‘नितान्त क्याम्पिङ पदमार्ग हो। त्यसैले पनि रोमाञ्चक र साहसिक छ,’ पौडेलले भने।  

पौडेलका अनुसार सन् १९५० जुन ३ मा फ्रान्सेली नागरिक मौरिस हर्जोग र उनको समूहले अन्नपूर्ण प्रथमको आरोहण गरेका थिए। उनै हर्जोग समूहले अन्नपूर्ण नर्थ बेसक्याम्प क्षेत्रबाट सो हिमालको आरोहण गरेपनि दक्षिणपट्टि रहेको कास्कीको अन्नपूर्ण बेसक्याम्प बढी चर्चामा रह्यो। तर नर्थ बेसक्याम्प ओझेलमा परेकाले नर्थ बेसक्याम्पलाई प्रवद्र्धन गर्न खोजेको पौडेलले बताए।  

‘उत्तरी अन्नपूर्ण आधारशिविर अहिले पनि उतिसारो चर्चामा आउन सकेको छैन,’ उनले भने। उनका अनुसार समुद्री सतहबाट ४१९० मिटर उचाइमा आधार शिविर छ। यो पदमार्ग सात दिनमा पूरा गर्न सकिने भएलपनि आसपासका गन्तव्यसम्म जोड्न सके पदयात्रा अवधि थप एक साता बढाएर १५ दिनसम्म पु¥याउन सकिने उनले बताए।

पदयात्रा व्यवसायीका अनुसार यो पदमार्गमा पर्यटकलाई आकर्षण गर्ने पर्याप्त आधार छन्। तीमध्ये अन्नपूर्ण प्रथम, तिलिचो, निलगिरि र बराह शिखरको दृष्य देख्न सकिन्छ। त्यस्तै अन्नपूर्ण–ला, खोसुनखोला र फुतफुते झरना, गुफा, भीरमौरी, तालसँगैका ग्लेसियर, नारच्याङ हिमाल अवलोकन गर्न पाइने उनले बताए।  

नारच्याङ फेदी र भुरुङ तातोपानी, हरियाली जंगल, चराचुरुंगीको दृष्यवलोकन, सूर्योदय सूर्यास्त, जंगली जनावर, लालीगुराँस, मृगको आवाज, खर्क र खोलानाला आधार शिविर क्षेत्रको मरुभूमि जस्तो भू–बनोट मुख्य आकर्षक रहेको उनले बताए। डाँफे, घोरल, झारल, कस्तुरी मृग, हिउँचितुवा, भालु लगायत जनावर पनि देख्न सकिन्छ। पदमार्गका गाउँमा देखाइने मगर संस्कृतिमा पनि पाहुना रम्न सक्ने पौडेलको भनाइ छ।  

पदयात्रा व्यवसायीका अनुसार यो पदमार्ग क्याम्पिङमा आधारित हो। चल्तीमा नआउँदा पदमार्ग सुधारको आवश्यकता पनि रहेको व्यवसायीको भनाइ छ। पदमार्ग फराकिलो हुनुपर्ने, पोर्टर सेल्टर थप्नुपर्ने, क्याम्पसाइट व्यवस्थित गर्नुपर्ने अवस्था पनि रहेको छ। यो पदमार्गलाई आकर्षक पर्यटकीय गन्तव्यको रूपमा अन्तर्राष्ट्रिय बजारमा बेच्न सके महँगा पर्यटक भित्र्याउन सकिने व्यवसायीको भनाइ छ।  

टानका पूर्वअध्यक्ष दीपकराज अधिकारी भन्छन्, ‘कोरोना भाइरसको कारण सुस्ताएको पर्यटन व्यवसायलाई उकास्ने हो भने अब नयाँ गन्तव्य पहिचान गर्नुपर्छ। वैकल्पिक पदमार्ग तयार पारेर पदयात्रीलाई नेपाल बोलाउनुपर्छ।’ अधिकारीले मोटरबाटोका कारण हराउँदै गएका मदमार्गको संरक्षण गर्न सके मात्र साहसिक पदयात्री भित्रिने बताए।  

‘विदेशी मुद्रा भित्र्याउने हो भने अब क्याम्पिङको विकल्प छैन,’ उनले भने, ‘विदेशी भित्रिँदा त्यसको लाभ रोजगारीमा पनि पुग्छ।’ विदेशी मुद्रा नभित्रिएसम्म मुलुकको आर्थिक अवस्था उकास्न नसकिने पनि अधिकारीले बताए। अधिक जाडोको दुई महिना (जनवरी र फेब्रुअरी) बाक्लो हिउँ पर्ने हुनाले र मध्यबर्खामा खोलानाला बढ्ने हुँदा यो पदमार्ग सञ्चालन नभएपनि बाँकी समय पर्यटकलाई पठाउन सकिने व्यवसायीको भनाइ छ।

प्रकाशित: २५ माघ २०७७ ०५:०२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App