७ वैशाख २०८१ शुक्रबार
अर्थ

मितेरी पुलको मर्मत थालियो, २० दिनलाई तातोपानीबाट आयात बन्द

उत्तरको मुख्य तातोपानी नाका भएर हुँदै आएको व्यापारिक कारोवार आगामी २० दिनको लागि बन्द गरिएको छ। नेपाल–चीन जोड्ने मितेरी पुलको मर्मत थालिएपछि बिहीबारदेखि कारोवार रोकिएको हो।  

चीनले बिहीबारबाटै मितेरी पुलको मर्मत थालेको छ। चीनले पुल मर्मत गर्न बढीमा २० दिन लाग्ने र यो अवधिभर आयात बन्द गर्ने निर्णय भएको जानकारी दिएको तातोपानी सुख्खा बन्दरगाह भन्सार कार्यालय प्रमुख लालबहादुर खत्रीले बताए। ‘चीनबाट आयातै नभएपछि मर्मत अवधिभर व्यापारिक कारोवार पनि हुँदैन,’ उनले नागरिकसँग भने।  

गएको बर्खामा भोटेकोसीमा आएको बाढीले क्षति बनाएको मितेरी पुल मर्मत थालेको चीनले जानकारी दिएको छ। बाढीले पुलका दुई स्पान (पिलर) का जग केही खोतलेको थियो। त्यही खोतलिएको जग पुर्न चीनले आयात बन्द गरेको प्रमुख खत्रीले बताए। पुल पुनर्निर्माण भएको डेढ वर्षमै चीनले मर्मत थालेको हो।  

२०७२ वैशाख १२ को बिनासकारी भूकम्पले मितेरी पुल क्षतिग्रस्त बनाएपछि चीनले सोही ठाउँमा नयाँ बनाएको थियो। २०७६ जेठबाट मात्र यो पुल सञ्चालनमा आएको थियो। चीनले कोरोवार रोकिने पूर्वजानकारी गराएरै पुल मर्मत थालेको प्रमुख खत्रीले बताए। माघको अन्तिमतिरबाट मात्र कारोबार सञ्चालनमा आउन सक्ने उनले जानकारी दिए।  

वार्षिक २०–२५ अर्वको आयात/निर्यातबाट पाँच अर्व रुपैयाँ राजस्व संकलन गर्दै आएको यो नाका भूकम्पपछि लगातार जसो बन्द रहँदै आएको छ। भूकम्पपछिको चार वर्ष नाका पूर्ण रुपमा बन्द भयो। २०७६ जेठ १५ बाट नाका पुनः सञ्चालनमा ल्याइएको थियो। कोरोना महामारी, बर्खाको बाढीपहिरो लगायत कारण यो बीचमा आठ पटक नाका बन्द हुने र खुल्ने क्रम चलिरह्यो। अन्तिम पटक गएको असोजमा नाका पुनः खुलेपछि तीन महिनादेखि भने निरन्तर सञ्चालनमा थियो।  

नाका कारोबार सुधारोन्मुख

कोरोना संक्रमणबाट बच्न ‘कन्टेनर हुक एण्ड ड्रप मोडेल’ लागू भएपछि नाका कारोबार क्रमशः सुधारतर्फ रहेको सुख्खा बन्दरगाह भन्सारले जनाएको छ। संक्रमण रोक्दै आयात बढाउन गएको मंसिर १० गतेबाट नाकामा यो मोडेल लागू गरिएको थियो। गत असोजमा दुई कन्टेनर सामाग्री आयातबाट नाका पुनः सञ्चालनमा आएको थियो। पुल मर्मतले कारोवार रोकिनुअघि कन्टेनर मोडेल लागू भएपछि दैनिक ३० कन्टेनरसम्म सामाग्री आयात भएको भन्सार तथ्यांक छ। भन्सारका अनुसार बुधबार २२ र मंगलबार ३० कन्टेनर चिनियाँ सामाग्री तातोपानी भित्रिएका थिए।  

‘कन्टेनर मोडेलपछि दैनिक औसतमा १५ कन्टेनर सामाग्री आयात भइरहेको छ,’ प्रमुख खत्रीले भने। उनका अनुसार भूकम्पपछि शून्यबाट सुरु भएको कारोबार बढेर २५ प्रतिशतमा पुगिसकेको छ।  भूकम्पअघि दैनिक ६० मालबाहक कन्टेनर नाका भएर राजधानी भित्रन्थे। कन्टेनर मोडेलअनुसार चीनका विभिन्न सहरबाट सामाग्री बोकेर चिनियाँ कन्टेनर मितेरी पुल आइपुग्छन्। ठूला क्षमताका यस्ता कन्टेनरले नेपाली कन्टेनरभन्दा दोब्बर बढी सामाग्री बोक्छन्।  

मितेरी पुलमा चिनियाँ कन्टेनरको अग्रभाग (टाउको) निकालेपछि नेपालतिर रहने अर्को भागको साहाराले सुख्खा बन्दरगाह भन्सार पुर्याइन्छ। चिनियाँ कन्टेनर फर्केर मितेरी पुल नजिक रहेको ‘आइसोलेटेड’ क्षेत्रमा बस्छन्। ‘यसो गर्दा व्यक्ति–व्यक्तिबीच पटक्कै सम्पर्क हुँदैन। संक्रमणको कुनै डर रहँदैन,’ प्रमुख खत्रीले कन्टेनर मोडेल र आयातमा सुधार आइरहेकोबारे बताउँदै भने।  

यो मोडेल लागू भएर आयात बढेसँगै भन्सार राजस्व असुलीमै बृद्धि आएको छ। गत पुसमा मात्र २१ करोड ६७ लाख रुपैयाँ राजस्व असुली भएको भन्सारले जनाएको छ। गत साउनदेखि मंसिरसम्म भन्सारले १७ करोड रुपैयाँ मात्र राजस्व संकलन गरेको थियो।  

भित्रिए अलपत्र सामाग्री

पुल मर्मतपछि नाका खुलेसँगै चीनबाट नयाँ सामाग्री नेपाल भित्र्याउने बाटो खुलेको छ। कोरोना महामारीका कारण चीनका विभिन्न स्थानमा रोकिएका सामाग्री भित्रिसकेकाले नयाँ सामान आयातको बाटो खुलेको सुख्खा बन्दरगाह भन्सार प्रमुख खत्रीले बताए। गत वर्षको माघदेखि नेपाली व्यवसायीका झण्डै एक हजार कन्टेनर सामाग्री बीच बाटोमा रोकिएका थियो। चीनले अन्तर्राष्ट्रिय सीमा नाका बन्द गरेपछि ती सामाग्री आउन सकेका थिएनन्।  

पहिलो चरणमा अलपत्र सामाग्री मात्र छुटाउने शर्तमा पछिल्लो पटक नाका सञ्चालनमा ल्याइएको थियो। पछिल्लो तीन महिनामा रोकिएका नेपाली व्यवसायीका सबै सामाग्री भित्रिएको खत्रीले जानकारी दिए। उनका अनुसार कन्टेनर मोडेल लागू भएपछिको दुई महिनामा मात्र सात सय २८ कन्टेनर सामाग्री भित्र्याइएको छ। ‘अब पुल मर्मतपछि मौसमअनुसारका नयाँ चिनियाँ आयातसहित नाका सञ्चालनमा आउँछ,’ प्रमुख खत्रीले भने।  

 

 

प्रकाशित: ८ माघ २०७७ १२:४७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App