१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

हुस्सुले पोखराको हवाई उडान प्रभावित

बिहानैदेखिका सबै उडान रोकिए

पोखरा विमानस्थल परिसरमा विहीबार अलपत्र यात्रु । तस्बिरः उमेश पुन÷नागरिक

बिहानैदेखिको बाक्लो हुस्सुले पोखराबाट हुने हवाई सेवा अवरुद्ध भएको छ । बाक्लो हुस्सुले भिजिविलिटी नपुग्दा हवाई उडान हुन नसकेको पोखरा विमानस्थलले बताएको छ ।

विमानस्थलका सूचना अधिकारी देवराज सुवेदीले बाक्लो हुस्सुले उडान प्रभावित भएको बताए । ‘बाक्लो हुस्सुले गर्दा डाँडाकाँडा कतै केही देखिन्न । त्यसैले उडान नै अवरुद्ध भएको छ,’ उनले भने, ‘हवाई सेवा अवरुद्ध हुँदा यात्रुलाई अप्ठेरो परेको छ ।’ बिहानैदेखिका सबै उडान रोकिँदा पोखरा–काठमाडौं रुटका हवाई यात्रु विमानस्थल परिसरमा अलपत्र परेका छन् । पोखराबाट काठमाडौं, भरतपुर र भैरहवा रुटमा नियमित उडान हुने गरेको छ ।  

सुवेदीका अनुसार विहीबार पोखरा–काठमाडौं रुटमा बुद्धका नौ, यतीका चार र श्री एयरलाइन्सको एउटा उडान थियो । ती सबै उडान रोकिएका छन् । सामान्य अवस्थामा पछिल्लो समय पोखराबाट बिहान ८ः४५ मा काठमाडौंका लागि उडान सुरु हुन्छ । पोखराबाट हुने अन्तिम उडानको समय ३ः४५ बजे हो । तर, हुस्सुका कारण पछिल्लो समय कुनैपनि हवाई उडान समयमा हुन सकेका छैनन् । त्यसले यात्रुलाई मार परेको छ । समयमा हवाई उडान नहुँदा यात्रुलाई गन्तव्यमा पुग्न सकस परेको छ । घन्टौ समय कुरेर मात्र यात्रुले यात्रा गर्न पाएका छन् ।  

बाक्लो हुस्सुका कारण भिजिविलिटी नपुग्दा तोकिएको समयमा उडान हुन नपाएको उनले बताए । सुवेदीका अनुसार हरेकदिनका उडान तीनघण्टासम्म ढिलाई हुने गरेको छ । ढिलागरि उडान हुँदा यात्रु व्यवस्थित गर्न हम्मेहम्मे हुने गरेको उनले बताए । बिहान ढिलाई हुँदा बेलुकीसम्मका उडान पनि प्रभावित हुने उनले बताए ।  

पोखरामा भिजुअल फ्लाईट रुल्स (भिएफआर) प्रविधिमा उडान हुन्छ । भिएफआरमा ५ किलोमिटर दुरीको ग्राउन्ड भिजिविलिटी हुनुपर्छ । तर बाक्लो हुस्सुले पोखरा विमानस्थलको भिजिविलिटी निकै नै कम हुने गरेको सुवेदी बताउँछन् ।

प्रकाशित: ८ माघ २०७७ ०७:४७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App