१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

आन्तरिक पर्यटकलाई होचा हिमाल

धम्पुस पिकमा पुगेको आन्तरिक आरोहीको समूह। तस्बिर सौजन्यः आशिष गुरुङ

आन्तरिक पर्यटक प्रायःजसो छोटो दूरीको पदयात्रा, प्याराग्लाइडिङ, अल्ट्रालाइट, र्‍याफ्टिङ, बन्जीजस्ता साहसिक गतिविधिमा रमाउँछन्। हिमाल आरोहणमा खासै आँट गर्दैनन्। हिमाल आरोहण साहसिक, खर्चिलो र समूहमा जानुपर्ने तथा विशेष प्रशिक्षणले मात्र सफल हुने भएकाले पनि आन्तरिक पर्यटकको हिमाली पिकतर्फ चाँसो कम हुने गरेको छ।  

तर, अब कम उचाइका हिमाली चुचुरोमा आन्तरिक पाहुनालाई उकाल्ने गरि योजना बनाउन थालिएको छ। कोरोना भाइरस संक्रमणका कारण सुस्ताएको पर्यटन क्षेत्र आन्तरिक पर्यटन मार्फत उकास्न सघाउने गरि स्वदेशी पाहुनालाई सम्भव भएका र कम उचाइका पिकमा आरोहण गराउने योजना बनाइएको हो। त्यसको अगुवाई पर्यटन बोर्डको गण्डकी प्रदेश कार्यालय र नेपाल पर्वतारोहण संघले गरेका छन् ।

सोही अनुसार आरोहणमा निस्केको पहिलो टोलीले मुस्ताङको ६ हजार १२ मिटर अग्लो धम्पुस पिकको सफल आरोहण गरेको छ। आरोहणका लागि गएकामध्ये दुईजना महिला सहित ६ जना नेपाली टोलीले धम्पुस पिक आरोहण गरेका हुन्। बोर्डका पोखरास्थित प्रमुख काशीराज भण्डारीका अनुसार आरोहण गर्नेमा टासी पासाङ गुरुङ (मुस्ताङ), मनु गुरुङ (मनाङ), दिपेशबाबु सुवेदी (कास्की), सनकुमार जुग्जाली (म्याग्दी), सुदीप गौतम (कास्की) र हिराकुमारी मल्ल (स्याङजा) रहेका छन्। पर्यटन विभागबाट अनुमति लिएर नेपाल पर्वतारोहण संघको प्राविधिक सहयोगमा उनीहरूले उक्त पिक आरोहण गरेका हुन।

आरोहण समूहका संयोजक जीवनराज सापकोटाका अनुसार शनिबार बिहान ११ः४८ बजे ६ जनाको टोली शिखरमा पुगेको हो। गत पुस २७ गते आरोही सहित २६ जनाको टोली पोखराबाट गएको थियो। आरोहण समूहका संयोजक सापकोटाका अनुसार अत्यन्त तीब्र गतिको हावाका कारण अन्य पर्वतारोही शिखर नजिकै पुगेर फर्केका थिए ।

‘होचा पिक आरोहणमा सफलता मिलेको छ। अब अन्य आन्तरिक पर्यटकलाई पनि त्यहाँसम्म उकास्न सकिन्छ की भन्ने योजना हो,’ भण्डारीले भने, ‘कम्तिमा आन्तरिक पर्यटकलाई ६५ सय मिटर उचाइसम्मका पिकसम्म उकाल्न सकियो भने त्यसले आन्तरिक साहसिक पर्यटकको खोजी गर्नेछ ।’ आन्तरिक पाहुनालाई ६५ सय मिटर उचाइसम्मका हिमाली पिकमा पठाउँदा अरू सहयोगीले पनि काम पाउने र त्यसको लाभ प्रत्यक्ष रूपमा पर्यटनमा पर्ने भण्डारीको भनाइ छ।

पर्वतारोहण र पर्वतीय पर्यटनका लागि नेपाल विश्वमै अग्रणी रहेपनि आन्तरिक पर्यटन प्रबद्र्धन उद्धेश्य राखेर आन्तरिक पाहुनालाई पनि तुलनात्मक रूपमा कम खर्च र प्राविधिक तयारीमा नै धम्पुस पिक जस्ता धेरै हिम शिखरको अरोहण गराउन सकिन्छ भन्ने सन्देश दिन यो अभियानको सुरु भएको बोर्डका प्रमुख भण्डारीले बताए।  

पदयात्रामा हिडेका आन्तरिक पाहुनाले बढीमा ५ हजार ४ सय १६ मिटर उचाइको थोराङला भञ्ज्याङ पार गरेको भएपनि पदयात्रामा संंलग्न मजदुर बाहेक त्योभन्दा बढी उचाइमा कमै मात्र पुगेका थिए। तर, अब ६५ सय मिटरसम्मका थुप्रै पिकसम्म आन्तरिक पाहुनालाई उकाल्ने प्रयास भएको भण्डारीले बताए ।

‘हाल आन्तरिक पर्यटक दृश्यावलोकन, पदयात्रा, प्याराग्लाइडिङ, र्‍याफ्टिङ, जंगल सफारी जस्ता पर्यटकीय गतिविधिमा अत्यधिक रमाउने गरेका छन्,’ उनले भने, ‘तर, अब ६५ सय मिटर उचाइसम्मका पिक आन्तरिक पाहुनाले पनि आरोहण गर्न थाल्नेछन् ।’ फ्रेन्च नागरिक मौरिस हर्जोगले सन् १९५० को जुनमा अन्नपूर्ण प्रथम (८०९१ मी) चढेर विश्वमा पर्वतारोहणको इतिहास कायम गरेपनि हाल कम पर्वतारोहीले मात्र अन्नपूर्ण र धवलागिरि हिम श्रृंखलाको आरोहण गर्ने गरेका छन् ।

प्रकाशित: ५ माघ २०७७ ०३:४१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App