१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

हवाई उडानमा हुस्सुको तगारो

उडानमा ढिलाई हुँदा पर्यटनमन्त्रीकै कार्यक्रम प्रभावित

पोखरा विमानस्थलमा विहीबार अवतरण गरेको श्रीएयरलाइन्सको जहाज । तस्बिरः धन बस्नेत÷नागरिक

पर्यटनमन्त्री भानुभक्त ढकालको विहीबार बिहान पौने ११ बजे भैरहवाबाट पोखराका लागि उड्ने तालिका थियो । तर, उनी चारघण्टा ढिला गरेर मात्र भैरहवाबाट उड्न पाए । पोखरा आउन ढिलाई हुँदा मन्त्री ढकाल सहभागि हुने भनिएका कार्यक्रम समेत प्रभावित भए ।  

त्यस्तै काठमाडौंबाट हेलिकप्टरमा पर्वतको शंकरपोखरी जान थालेका कांग्रेस सभापति शेरबहादुर देउवा सवार हेलिकप्टर गोरखाको पालुङटार नगरपालिका–२ आँपपिपलमा आकस्मिक अवतरण ग¥यो । केहीबेर पालुङटार रोकिएको हेलिकप्टर पछि उडेर पर्वत पुगेको थियो ।  

ढकाल र देउवाको उडानमा ढिलाई र अवरोध हुनुमा बाक्लो हुस्सु कारक थियो । पोखरा र आसपासको क्षेत्रमा पछिल्लो केहीदिनदेखि बाक्लो हुस्सु लाग्दा त्यसको अप्ठेरो हवाई उडानमा परेको छ । बाक्लो हुस्सुको त्यही मारमा मन्त्री ढकाल र सभापति देउवा परेका थिए । तोकिएको समयमा गन्तव्यमा पुग्दा नसक्दा कार्यक्रम समेत प्रभावित भएका थिए ।  

सामान्य अवस्थामा पछिल्लो समय पोखराबाट बिहान ८ः४५ मा काठमाडौंका लागि उडान सुरु हुन्छ । पोखराबाट हुने अन्तिम उडानको समय ३ः४५ बजे हो । तर, हुस्सुका कारण पछिल्लो समय कुनैपनि हवाई उडान समयमा हुन सकेका छैनन् । त्यसले यात्रुलाई मार परेको छ । समयमा हवाई उडान नहुँदा यात्रुलाई गन्तव्यमा पुग्न सकस परेको छ । घन्टौ समय कुरेर मात्र यात्रुले यात्रा गर्न पाएका छन् ।  

पोखरा विमानस्थलका सूचना अधिकारी देवराज सुवेदीका अनुसार पछिल्लो चारदिनदेखि पोखराबाट हुने हवाई उडानमा निकै नै अवरोध आईरहेको छ । बाक्लो हुस्सुका कारण भिजिविलिटी नपुग्दा तोकिएको समयमा उडान हुन नपाएको उनले बताए । सुवेदीका अनुसार हरेकदिनका उडान तीनघण्टासम्म ढिलाई हुने गरेको छ । ‘काठमाडौंबाट बिहान आठबजे नै जहाज पोखरा आइपुग्नुपर्ने हो । तर, हुस्सुले गर्दा विमानस्थल खुल्दा नै १२ बजिसकेको हुन्छ,’ सुवेदीले भने, ‘डाँडाकाँडा ढाकिने गरि बाक्लो हुस्सु लाग्दा विमानस्थल खुल्नै पाउँदैन । त्यही भएर उडान ढिला हुने गरेको छ ।’ ढिलागरि उडान हुँदा यात्रु व्यवस्थित गर्न हम्मेहम्मे हुने गरेको उनले बताए । बिहान ढिलाई हुँदा बेलुकीसम्मका उडान पनि प्रभावित हुने उनले बताए । पोखराबाट काठमाडौंका लागि हुने अन्तिम उडानको समय ३ः४५ बजे भएपनि बेलुकी पाँचबजेसम्म पनि उडान गर्नुपरेको उनले बताए । ‘१०–१५ मिनेट ढिलाई हुनु सामान्य हो । तर, अहिले घन्टौसम्म उडान रोकिँदा यात्रुलाई सकस हुन्छ । उडान व्यवस्थापन गर्न, यात्रु सम्हाल्न विमानस्थललाई पनि हम्मेहम्मे पर्छ,’ सुवेदीले भने ।  

हुस्सुले पछिल्लो चारदिनदेखि मध्यान्ह १२ बजेपछि मात्र पोखरा विमानस्थलबाट उडान भईरहेको उनले बताए । घाम लागेपनि हुस्सुले नछाड्दा ढिलाई भइरहेको उनको भनाई छ । बिहानभर रोकिएका उडान विमानस्थल खुलेसँगै एकैपटक उडाउँदा यात्रु र जहाज व्यवस्थापनमा पनि अप्ठेरो पर्ने गरेको उनले बताए । ‘१२ बजेपछि विमानस्थल खुल्छ । अनि छोटो समयभित्रै ५–६ वटा जहाज काठमाडौंबाट पोखराका लागि उड्छन,’ उनले भने, ‘जहाज अवतरण गरेपछि ओर्लिएका र पोखराबाट उडानको पर्खाइमा रहेका यात्रु चढाउने व्यवस्थापन गर्न पनि कठिन हुने गरेको छ ।’  

लामो समय उडान रोकिँदा टर्मिनल भवन पनि भीडभाड हुन गरेको छ । कुनैदिन त पाँचसय जना यात्रुसम्मको भीडभाड हुने गरेको छ । कोरोना भाइरस संक्रमणको कारणले यात्रुलाई भौतिक दूरी कायम राखेर व्यवस्थापन गराउनुपर्ने भएपनि उडान रोकिँदा यात्रु चाँप बढ्ने उनले बताए । ‘टर्मिनलभित्र दुईसय जना यात्रुलाई मात्र राख्न सकिन्छ । भीड बढ्दा कतिपय यात्रु बाहिरै बस्नुपर्ने अवस्था छ,’ उनले भने, ‘लामो समय रोकिएका उडान एकैपटक सुचारु हुँदा यात्रुलाई हतारो समेत हुने गरेको छ ।’  

यतिबेला यती एयरलाइन्सले पोखराबाट काठमाडौंका लागि दैनिक चारवटा उडान गरिरहेको छ । त्यस्तै श्री एयरलाइन्सले एउटा उडान गर्छ । बुद्धले काठमाडांै मात्र सातवटा, भैरहवा र भरतपुर समेत गर्दा बुद्धका दैनिक उडान नौवटासम्म हुने गरेका छन् । हुस्सुले गर्दा भरतपुर र भैरहवाका विमानस्थल खुल्न पनि समय लाग्ने गर्दा त्यसको मार पोखराले पनि खेप्नुपरेको सुवेदीको भनाई छ ।

हुस्सुका कारण उडानमा अवरोध हुँदा व्यवस्थापनमा समेत हम्मेहम्मे हुने गरेको एयरलाइन्सका पदाधिकारीको भनाई छ । बुद्ध एयरका पोखरास्थित स्टेशन म्यानेजर गौतम बरालले भने, ‘यात्रु सम्हाल्नै गाह्रो हुन्छ । बेलैमा उड्न नपाउँदा यात्रु र एयरलाईन्सलाई तनाव हुन्छ ।’ हरेक वर्ष यो सिजनमा हुस्सुले उडानमा अवरोध गरेपनि यो पटक लामो समयदेखि नियमितजसो अप्ठेरो पारेको उनले बताए । ‘एकमहिनादेखि बारम्बार उडानलाई बाक्लो हुस्सुले रोकेको छ,’ बरालले भने, ‘विमानस्थल खुल्नै समय लाग्दा तोकिएको समयमा उडान हुन सकेका छैनन ।’  

पोखरामा भिजुअल फ्लाईट रुल्स (भिएफआर) प्रविधिमा उडान हुन्छ । भिएफआरमा ५ किलोमिटर दुरीको ग्राउन्ड भिजिविलिटी हुनुपर्छ । तर बाक्लो हुस्सुले पोखरा विमानस्थलको भिजिविलिटी निकै नै कम हुने गरेको सुवेदी बताउँछन् । हवाई उडड्यन क्षेत्रका पदाधिकारीका अनुसार विमानस्थलमा सामान्यतया दुई नियम अनुसार उडान र अवतरण संचालन हुन्छ । एउटा भिजुअल फ्लाइट रुल (भीएफआर) र अर्को इन्स्ट्रयुमेन्टल फ्लाइट रुल (आइएफआर) हुन्छ । सामान्य अवस्थामा भीएफआरबाट उडान–अवतरण गरिन्छ । यस नियम अनुसार भिजिबिलिटी ५ किलोमिटर आवश्यक पर्छ । यो नियमअनुसार जहाजको उडान–अवतरण छिटो हुन्छ । किनकि यसमा जहाजको ककपिटमा बसेका पाइलटले आफैले हेरेर कन्ट्रोल टावरसँगको समन्वयमा जहाज उडान–अवतरण गराउन सक्छन् ।  

तर, मौसम बिग्रदा भीएफआर नियमअनुसार उडान अवतरण सम्भव नभए आइएफआरबाट उडान गर्छन । यसका लागि काठमाडौंमा २ किलोमिटर भिजिविलिटी आवश्यक पर्छ । आइएफआरमा ढिला उडान हुने ती पदाधिकारी बताउँछन् । प्रविधिमा आधारित रहेर उडान गर्ने भएकोले आइएफआर नियमअनुसार उडान–अवतरण गर्न २ हजारदेखि २५ सय मिटरसम्म भिजिबिलिटी चाहिन्छ । भिएफआरको तुलनामा आइएफआरमा उडान–अवतरणको समय बढी लाग्ने भएकाले जहाज डिले हुने र आकाशका होल्ड गर्नुपर्ने प्राविधिकहरुको भनाई छ । पोखरामा सधैं भिएफआरबाट उडान संचालन हुन्छ । ‘हामीले भिएफआरबाट उडान गर्नुपर्दा पनि समस्या परेको हो,’ सुवेदीले भने, ‘यदि आइएफआरबाट उडान हुन्थ्यो भने यो समस्या कम हुन्थ्यो ।’ 

प्रकाशित: १ माघ २०७७ ०९:५२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App