२१ असार २०८१ शुक्रबार
image/svg+xml
अर्थ

चार महिनामा २२ करोडको कृषिजन्य वस्तु निर्यात

सल्यानबाट चालु आर्थिक वर्षको चार महिनामा २२ करोड रुपैयाँ भन्दा बढीको कृषिजन्य वस्तु निर्यात भएको छ। गत साउनदेखि कात्तिकसम्म जिल्लाबाट २२ करोड १२ लाख २७ हजार  रुपैयाँ बराबरको कृषिजन्य वस्तु निर्यात भएको हो। यस आवमा नौ करोड ८३ लाख ३६ हजार  रुपैयाँ बराबरको तरकारी निर्यात गरिएको कृषि विकास कार्यालय सल्यानले जनाएको छ। चार महिनाको अवधिमा तीन हजार ५०० मेट्रिक टन तरकारी निर्यात गरिएको कृषि विकास कार्यालय सल्यानका सूचना अधिकारी रेशमकुमार बस्नेतले जानकारी दिए।  

यसैगरी चार करोड १२ लाख  रुपैयाँ बराबरको अदुवा र सात करोड ६७ लाख ७० हजार  रुपैयाँको बर्खे आलु निर्यात भएको बस्नेतले जानकारी दिए। 'गत चार महिनाको अवधिमा दुई हजार ५५९ मेट्रिक टन आलु र ८२५ मेट्रिक टन अदुवा निर्यात भएको छ', बस्नेतले भने। यस्तै ९२ मेट्रिक टन कागती, निबुवा, अम्बा, नास्पातीलगायतका फलफूलबाट ४८ लाख ७१ हजार  

रुपैयाँ जिल्लामा भित्रिएको बस्नेतको भनाइ छ। उनका अनुसार ४६० मेट्रिक टन तरकारी जिल्लाभित्र खपत भएको छ। 'जिल्लामा पाँच मेट्रिक टन अदुवा, ७३१ मेट्रिक टन आलु जिल्लामै खपत भएको छ, यसले सल्यान जिल्ला कृषिजन्य उत्पादनमा आत्मनिर्भर छ भन्ने देखाउँछ', बस्नेतले भने।  

 सल्यान जिल्लामा बेमौसमी तरकारीका लागि प्रख्यात भएको तथा कृषिले राम्रो मूल्य पाएको कार्यालयको भनाइ छ। यो वर्ष लकडाउनका कारण भारतबाट समेत तकारी आउन समस्या भएकाले किसानले राम्रो मूल्य पाउन सफल भएको कृषि विकास कार्यालयले जनाएको छ।'कृषकले लकडाउनको समयमा तरकारी बिक्री हुँदैन भनेर धेरै जमिनमा अन्नबाली लगाए तर भारतबाट तरकारी नआएपछि किसानले राम्रो मूल्य पाए', सूचना अधिकारी बस्नेतले भने।  

जिल्लामा तरकारी खेतीका लागि उपयुक्त जलवायु भएको कारणले किसानले यसलाई आम्दानीको स्रोत बनाउन थालेका छन्। पछिल्लो समय जिल्लामा वैदेशिक रोजगारमा गएर आएका युवासमेत व्यावसायिकरूपमा कृषि पेशामा आकर्षित हुन थालेका छन्। जिल्लाको शारदा नगरपालिका, शिद्धकुमाख गाउँपालिका र बागचौर नगरपालिकामा वैदेशिक रोजगारीबाट फर्केर युवाले व्यावसायिक कृषि शुरु गरेको कृषि विकास कार्यालय सल्यानले जनाएको छ। रासस

प्रकाशित: २७ पुस २०७७ ०३:४१ सोमबार